गौतमबुद्ध विमानस्थलबाट जजीरा र बीज एयरको उडान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजीराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । एयरवेजले अहिले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ ।

यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु सङ्ख्या बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र युरोपमा उडान सञ्चालन गर्दै आएको छ ।

जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

बीज एयरले उडान गर्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख)देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो ।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ । जजीराले नियमित उडानका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको छ ।

योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन् । जजीराले सुरुदेखि उडान गरिरहेको छ भने बीजले पनि छिट्टै उडान गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । कोभिड-१९ महामारीपछि मुलुकको अन्तर्राष्ट्रिय उडान विस्तारै लयमा फर्कदै गरेको प्राधिकरणले जनाएको छ । अहिले अन्तर्राष्ट्रियमा ७० प्रतिशत बढी अकुपेन्सी रहेको प्रवक्ता निरौलाले बताउनुभयो ।

कोभिडपूर्व ३० भन्दा बढी एयरलाइन्सले काठमाडौँ विमानस्थल भएर उडान गर्दै आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?