राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन (तस्वीरमा हेर्नुहोस्)

Read Time = 6 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गर्नुभएको छ ।

मंगलवार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा,आराधना गर्नुभयो । दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरुले हर्षोल्लासका साथ तिज मनाएका छन् । आज देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तिज मनाउने चलन छ । हिजो (सोमवार) दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ ।

आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । तिजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?