सुदूरपश्चिम क्रिकेट छनोट सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदानमा सुरु हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझाङ र डडेल्धुराले प्रतिस्पर्धा गर्नेछन् । भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन् ।

भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीचको विजेता र बझाङ र डडेल्धुराबीचको विजेता टोलीबीच भिडन्त हुनेछ । दोस्रो खेलमा बैतडी र डोटीबीचको विजेता टोलीले बाजुरासँग प्रतिस्पर्धा गर्नेछ । भदौ १७ गते कञ्चनपुर र अछामबीचको विजेता टोली र १६ गते भएको खेलको विजेता टोलीबीच भिडन्त हुनेछ । नकआउट चरणमा गरिने छनोटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त क्रिकेट टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौंमा गर्ने निर्णय भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टी-ट्वान्टी लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?