बागमती टिम हेर्ने जिम्मा पारसलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने हुनुभएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले जनाउनुभएको छ ।

प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ । उहाँले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भूमिका खेल्नुहुनेछ । बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्ण जित्ने लक्ष्य रहेको परिषद्ले जनाएको छ । सोहीअनुसार प्रदेशले क्रिकेट खेलको सम्पूर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो ।

बागमतीले सहभागी ३६ खेलको तालिका सार्वजनिक गर्दै संयोजकसमेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीले भदौ १३ गतेदेखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ । तालिकाअनुसार नै सोमबारदेखि लनटेनिस र बक्सिङको छनोट सुरु भइसकेको छ ।

बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा बागमतीले पहिलो स्थान हासिल गर्ने लक्ष्य राखेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?