रोकियो राधाको प्रदर्शनी

Read Time = 3 mins

काठमाडौं । गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरूले शोजमा अन्याय गरेको उनीहरूको आरोप छ । शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तीजको दिन ५५ शो भन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत रूपमा हलहरूले शो नदिएको उनीहरूको आरोप छ । चलचित्र राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरूले प्रदर्शनको समय नदिएको उनीहरूको गुनासो छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक सुवर्ण थापाले हलहरूले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको जिकिर गर्नुभयो । उहाँले चलचित्र लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरू आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको दाबी गर्नुभयो । आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरू बढाएको बताउनुभयो । त्यस्तै अभिनेता सौगात मल्लले हलहरूले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताउनुभयो ।

अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताउनुभयो । उहाँले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य चलचित्रहरूका बारेमा यसले सहयोग पुग्ने बताउनुभयो ।

चलचित्रमा सौगात र श्रृष्टि बाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायत कलाकारको अभिनय छ । चलचित्र आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआई फिल्मस्को प्रस्तुति र मन प्रोडक्शनको एसोसिएसनमा निर्माण भएको हो ।

चलचित्र बिरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सहनिर्माता हुनुहुन्छ । यसमा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?