काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उहाँले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
आर्थिक वर्ष २०७९/२०८० बजेटको बुँदा नम्बर ३६७ मा (राष्ट्र सेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकको तलब सुविधा अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिनेछ) उल्लेख भएअनुसार अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले भदौ ६ गते आयोग गठन गरेको थियो । पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित आयोग संयोजक पौडेलका साथै सदस्य पूर्वसचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्तिपत्र प्रदान गरिएको हो ।
आयोगले सरकारले निर्धारण गरेको मर्यादाक्रमबमोजिम राष्ट्रसेवक कर्मचारीको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्ड पनि सिफारिस गर्नेछ । सरकारले आयोगलाई दिएको कार्य शर्तमा विगतमा गठित तलब, भत्ता पुनरावलोकनसम्बन्धी आयोग, समिति र कार्यदलबाट प्रस्तुत प्रतिवेदनबाट आवश्यक सूचना संकलन गरी विश्लेषण गर्ने, दक्षिण एसियाली मुलुकका राष्ट्रसेवक कर्मचारीको तलब सुविधा अध्ययन एवं अर्थतन्त्रको वर्तमान अवस्था अध्ययन विश्लेषण गरी नेपालका राष्ट्रसेवक कर्मचारीको तलब सुविधा सिफारिस गर्ने, सरकारले निर्धारण गरेको मर्यादाक्रमबमोजिम राष्ट्रसेवक कर्मचारीको तलबमान समायोजन गर्न सिफारिस गर्ने, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायतका निकाय तथा संवैधानिक निकायसमेतको जोखिम, कार्य समय, अतिरिक्त कार्य समय, कार्यभारका आधारमा उत्प्रेरणा योजनासमेतको अध्ययन विश्लेषण गरी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने गरी सिफारिस गर्नेलगायत रहेका छन् ।
आयोगको समयावधि तीन महिना भए पनि आवश्यक परेको खण्डमा मन्त्रिपरिषद्ले म्याद थप गर्न सक्ने अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिनुभएको छ । संयोजक तथा सदस्यलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री शर्माले सरकारले सबैलाई न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुविधाबारे गहिरो अध्ययन गरेर आयोगबाट सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका