‘बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयको विभाग बनाइयो’

Read Time = 8 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजार विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकर समाज (सेजन) द्वारा आयोजित पुँजी बजारको विकाससम्बन्धी नीतिगत बहस कार्यक्रममा उहाँले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज स्वायत्त हुनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष हमालले भन्नुभयो, ‘सेयर बजार विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन्, हामी स्वायत्त छैनौं, हामी अर्थ मन्त्रालयको विभागजस्ता रहेका छौं ।’

सेबोन, नेप्से दुवै निकाय विभागजस्तो भएर बस्नुपर्दा बजारको विकास सम्भव नभएको हमालको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेप्से मन्त्रालयको शाखाजस्तो भएपछि विश्वासयोग्य काम गर्न सक्छ कि सक्दैन, धितोपत्र बोर्ड पनि मन्त्रालयको शाखाजस्तो भएपछि लगानीकर्ता, ब्रोकरले चाहेको जस्तो द्रुतगतिमा काम गर्न सक्दैन, त्यसकारण हामीले स्वायत्तताका लागि सरकारसँग कुरा गरिरहेका छौं । हामीले सबैले चाहेको जस्तो सुधारका लागि काम गरिरहेका छौं ।’ तथापि अहिलेको बाध्यात्मक अवस्थाका बाबजुद पनि गर्नुपर्ने काम नियमितरूपमा तीव्रगतिमा गर्ने प्रयास भइरहेको उहाँको दाबी छ ।

साथै अध्यक्ष हमालले सेयर बजारको विकास र विस्तारका लागि प्रतिस्पर्धा पनि आवश्यक रहेको बताउनुभएको छ । प्रतिस्पर्धा भएमात्रै बजारले गति लिने र लगानीकर्ताको लागत घट्ने उहाँले बताउनुभयो । त्यस्तै उहाँले पुँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमी भएको पनि बताउनुभयो ।

‘सेयर बजार विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन्, हामी स्वायत्त छैनौं, हामी अर्थ मन्त्रालयको विभागजस्ता रहेका छौं ।’

अध्यक्ष हमालले भन्नुभयो, ‘बजारमा मोनोपोली हुनुहुँदैन, प्रतिस्पर्धा हुनुपर्छ, हामीले सी–आश्वा शुल्क घटाएका छौं, नेप्से र सेबोनले लिने शुल्कमा पनि घटाउन अध्ययन गरिरहेका छौं ।’ ब्रोकरको शाखा खोल्न बोर्डले अनुमति दिनुपर्नेभन्दा पनि योग्य ब्रोकर छन् भने क्षमताअनुसार शाखा खोल्न पाउनुपर्ने भन्दै उहाँले भेञ्चर क्यापिटलका लागि दुई कम्पनीलाई लाइसेन्स दिइसकेको र यही साताभित्र थप सात कम्पनीलाई पनि अनुमति दिइने जानकारी गराउनुभयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ४/१२ करोडको नीति लिएको र अहिले हाल हटाएर १२ कायम राखेको भए पनि १२ पनि हटाउन खोजिरहेको बताउनुभयो । मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमै सम्पन्न गर्न तयार रहेको पनि उहाँको भनाइ छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले सेयर बजार विस्तार गर्न ब्रोकरको शाखामात्रै विस्तार गरेर नपुग्ने, वित्तीय साक्षरता पनि आवश्यक हुने बताउनुभयो । नेप्सेका प्रबन्धक निरञ्जय फुँयालले मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै नपुग्ने भन्दै धितोपत्र बोर्डले वियमावली नै जारी गर्नुपर्ने बताउनुभयो । फुँयालले मार्जिन कारोबारका लागि सोर्स अफ फण्डको समस्या रहेको भन्दै ब्रोकरले कर्जा दिँदा उनीहरूको खर्च पनि बढ्ने भएकाले मार्जिन कारोबार सुरु भएपछि मार्जिन र ट्रेडिङ खाता फरक-फरक हुनुपर्ने बताउनुभयो । बोर्डका निमित्त कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मार्जिन कारोबारका लागि दुईवटा डिम्याट खाता हुनुपर्ने र त्यसले पुँजीगत लाभकर गणना गर्न सजिलो हुने बताउनुभयो । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्न दुईवटा खाता खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गर्नुभयो ।

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको विद्यमान ऐन कानुनले ब्रोकर कार्यालय उपत्यकाबाहिर जान समस्या भएको बताउनुभयो । बजार विकास विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उहाँको भनाइ छ । भारतमा ब्रोकरको १५/२० वटा शाखा हुनेको हजारभन्दा बढी सबब्रोकर रहेको उहाँले जानकारी गराउनुभयो ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्टले मार्जिन लेण्डिङ कन्सेप्ट, प्राक्टिस र मोडल विषयक कार्यपत्र प्रस्तुत गर्दै सेयर बजारमा लगानी गर्नु चुनौतीपूर्ण रहेको र चुनौती सामना गरेर लगानी गरे प्रतिफल पनि राम्रो पाउन सकिने बताउनुभयो । बजारलाई स्थिर बनाउन, बजारमा लगानीयोग्य रकम (तरलता) प्रवाह गर्न मार्जिन कारोबार सुरु गर्न आवश्यक रहेको उहाँको सुझाव छ । नेपालमा सेयर धितो राखेर ऋण लिए पनि त्यो ऋण कहाँ लगानी गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा पनि समस्या भएको उहाँले बताउनुभयो । भट्टले भन्नुभयो, ‘सेयर धितो राखेर लिएको ऋणले सेयर किन्नुपर्छ भन्ने छैन, त्यो पैसा जहाँ लगानी गरे पनि कानुनले केही भन्दैन । यसमा कानुन नै स्पष्ट छैन ।’ उहाँले धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्से, ब्रोकर, बैंकर्स बसेर मार्जिन कारोबार छिटो सुरु गर्न सुझाव दिनुभयो ।

सेयर बजारका विज्ञ मनोज शाहीले पुँजी बजारको भौगोलिक विस्तार विषयक कार्यपत्र प्रस्तुत गर्दै पुँजी बजार विकासका लागि उपयुक्त प्रविधिमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?