रत्नपार्कमा फास्ट चार्जिङ स्टेसन सञ्चालन, बसको प्रतिकिलोमिटर खर्च एक रुपैयाँ २० पैसा, स्टेसन सञ्चालनले ऊर्जा क्षेत्रमा क्रान्ति ल्याएको सरोकारवालाको दाबी

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन मंगलबार उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो । आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको भन्दै उहाँले चार्जिङ स्टेसन सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको दाबी गर्नुभएको छ ।

मन्त्री भुसालले भन्नुभयो, ‘आन्तरिक रूपमा करिब २२ प्रतिशत विद्युत् खपत बढेको छ, आफ्नै स्रोतबाट पानीबाट उत्पादित विद्युत् प्रयोगले पेट्रोलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ, यसले व्यापारघाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्दै आन्तरिक रूपमा विद्युत् खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युतीय गाडीलाई प्रोत्साहित गर्न चार्जिङ स्टेसनका लागि सहुलियत दरको महसुल तोकिएको छ, तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडादर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ, यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसुल नलिन र सस्तोदरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन आग्रह गर्दछु ।’

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण भइहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटा साना–ठूला कारहरू चार्ज गर्न मिल्ने रहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरूका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारी-पत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयुभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ ।

नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुने बताइएको छ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिनेछ ।

आन्तरिक रूपमा विद्युत् खपत बढाउन, पेट्रोलियम खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणाली विकासका लागि चार्जिङ स्टेसन स्थापना सुरु गरिएको हो । चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड (जियाङ्सु, चीन) ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैंकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसन मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिनसक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी १९८ किलोमिटर छ । बिपी राजमार्गको रूपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय बराबरको बिजुली खपत गर्छ । सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले चार हजार बराबरको इन्धन खपत गर्छ । यस आधारमा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत ६६ पैसा बराबर छ । यही तथ्यांकलाई आधार मान्ने हो भने पनि पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीसाधनको लागत धेरै सस्तो पर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?