सत्ता गठबन्धनइतरका साना दललाई समेट्दै एमाले

स्थानीय आवश्यकतामा तालमेल गर्ने रणनीति

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । सत्तारूढ गठबन्धनबीच भागबण्डाबारे सघन छलफल भइरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले साना दललाई साथमा लिएर चुनावमा जाने तयारी गरेको छ । आसन्न चुनावमा तालमेलका लागि एमालेले सत्ता गठबन्धनइतर साना दलहरूसँग छलफल सुरु गरेको हो । एमालेले सरकारबाहिर रहेका साना दलसँग निर्वाचन क्षेत्र विशेष तालमेलका लागि आन्तरिक तयारी सुरु गरेको छ ।

एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, जनता प्रगतिशील पार्टी लगायतका साना दलसँग चुनावी तालमेल गरेर जाने तयारी गरिरहेको हो । विवेकशील साझा पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि तालमेल गर्ने एमालेको तयारी छ । महन्थ ठाकुर नेतृत्वको लोसपासँग पनि तालमेल हुनसक्ने एमालेको ठहर छ । लोसपाले हालसम्म तालमेल वा गठबन्धनबारे निर्णय गरिसकेको छैन ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दल एमालेसँग तालमेल गर्न तयार छन् । उनीहरूले गत स्थानीय चुनावमा पनि एमालेसँग केही ठाउँमा तालमेल गरेका थिए । हृदयेश त्रिपाठीको दल जनता प्रगतिशील पार्टी पनि एमालेसँग तालमेलका लागि लगभग तयारै छ । गत चुनावमा त्रिपाठी एमालेकै चुनाव चिन्हबाट चुनाव लडेर निर्वाचित हुनुभएको थियो ।

एमालेले आधिकारिक रूपमै पनि तालमेलका लागि ढोका खुल्लै रहेको जनाइसकेको छ । एमालेले साना दलसँग देशव्यापी गठबन्धन गर्नेभन्दा पनि स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने रणनीति लिएको छ । महासचिव शंकर पोखरेलले सोमबार एमाले कुनै गठबन्धनको पक्षमा नरहेको भन्दै स्थानीय तहमा भने तालमेल गर्न खुला रहने बताउनुभएको थियो । ‘हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौँ,’ उहाँको भनाइ थियो, ‘स्थानीय तहमा तालमेल हुन सक्छ ।’ सत्ता गठबन्धनमा भने भागबण्डाबारे कुरा मिलिसकेको छैन । सिट बाँडफाँटका लागि कार्यदल नै बनाएर छलफल जारी भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

एमालेसँग तालमेल हुने सम्भावना छ, मोडालिटीबारे टुंगो लागिसकेको छैन : प्रवक्ता श्रेष्ठ
एमालेसँग चुनावी तालमेलका लागि राप्रपा सकारात्मक देखिएको छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग तालमेल गर्न राप्रपा सकारात्मक देखिएको हो । दुई पार्टीबीच तालमेलका विषयमा सकारात्मक छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । एमाले र राप्रपाले मिलेर चुनाव लड्ने सम्भावना बलियो भए पनि तालमेलको मोडालिटी भने निश्चित भइनसकेको उहाँको भनाइ छ । केही दिनअघि दुई पार्टीका अध्यक्षबीच भेटवार्ता भएको थियो । अहिले पार्टीका दोस्रो तहका नेताहरूबीच संवाद भइरहेको छ । ‘तालमेल गर्ने विषयमा एमालेसँग सकारात्मक छलफल भएको छ । हामी अझै छलफलमै छौँ,’ हिमालय टाइम्ससँग प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘तालमेल हुने लगभग निश्चित भएको छ । मोडालिटीको टुंगो भने लागि सकेको छैन ।’ सत्ता गठबन्धनसँग भने तालमेल नहुने लगभग निश्चित भएको उहाँको भनाइ छ ।

राप्रपा नेताहरूले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए । नागरिकता विधेयकका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले राप्रपा नेताहरूलाई शीतलनिवास बोलाउनुभएको थियो । राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा १० जना नेताको टोली पुगेको थियो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा विभिन्न दल र व्यक्तिसँग छलफल गरिरहनु भएको छ । छलफलको विषय नागरिकता विधेयक भनिए पनि चुनावको मुखमा राष्ट्रपतिको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि राष्ट्रपति भण्डारीले राजीनामा दिने विषयसमेत सार्वजनिक भएको थियो ।

एमालेको साथ खोज्दै मिश्र
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले पनि एमालेको साथ खोज्नुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गर्नुभएका मिश्रले एमालेको साथ खोजिरहनु भएको हो । एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुग्नुभएका मिश्र एमालेले साथ दिनेमा विश्वस्त हुनुहुन्छ । मिश्रनिकट स्रोतका अनुसार यसबारे एमाले अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको छ । एमालेले काठमाडौं १ मा मिश्रलाई सघाउने उहाँको विश्वास छ । उसो त मिश्रले चुनावअघि नै राप्रपासँग एकता गर्नेसमेत तयारी गर्नुभएको छ । विवेकशील साझा पार्टीको अध्यक्ष पद छोड्नुभएका मिश्रले आगामी चुनावअघि नै राप्रपासँग पार्टी एकताको प्रयास जारी राखेको उहाँनिकट स्रोत बताउँछ ।

एमालेमै रहने घोषणा गरेपछि एकीकृत समाजवादीका नेतालाई कारबाही
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ । प्रदेशसभा बैठकमा नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेपछि एकीकृत समाजवादीले कारबाही गरेको हो । उहाँले सोमबारको प्रदेशसभा बैठकमा अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेमै रहने घोषणा गर्नुभएको थियो । लामालाई पार्टी विधानअनुसार सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो । समाजवादीको केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङलाई साधारण सदस्यसमेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । त्यस्तै, प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको अध्यक्ष सिंहले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?