दुर्गम गाउँमा सुविधासम्पन्न छात्रवास निर्माण

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको साढे दुई करोड लगानीमा सुविधासम्पन्न छात्रवास भवन निर्माण भए पछि भीर पहराको बाटो छिचोलेर विद्यालय आउजाउ गर्ने विद्यार्थीहरूलाई अब सुविधा हुने भएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माण भएको हो । भवन भित्रका संरचनाको व्यवस्थापन गरेर दशैं बिदापछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको विद्यालयले जनाएको छ ।

२४ कोठा रहेको तीनतले सो भवनमा ८० जना विद्यार्थी राख्न सकिने हेम माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले बताउनुभयो । छात्रावास भवनमा बस्ने विद्यार्थीहरूको हेरचाह र खानपानको व्यवस्था मिलाउन तीनजना कर्मचारीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

चार वर्षअघि प्रदेश सरकारको नमुना आवासीय विद्यालय कार्यक्रममा छनोट भएपछि विद्यालयमा छात्रावास भवन निर्माण थालिएको थियो । भवन निर्माण भएपछि विद्यालयले विद्यार्थीहरूलाई आवासीय सुविधा दिएको छ । विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भीर, पहरो, जंगल र खोलाको बाटो छिचोल्दै दैनिक तीन/चार घण्टाको बाटो हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीहरू र उनीहरूका अभिभावक खुसी भएका प्रधानाध्यापक केसीले बताउनुभयो । छात्रवास निर्माण भएपछि बीचमा नै पढाइ छोड्ने क्रम पनि घटेको उहाँले जानकारी दिनुभयो ।

गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य भएका विद्यार्थीहरू पनि यो कार्यक्रमबाट लाभान्वित भएका छन् । छात्रावासमा बसेर पढ्न पाउँदा विद्यार्थीहरूमा उत्साह थपिनुका साथै शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने प्रअ केसीको भनाइ छ । चार वर्ष अघिदेखि सुरु भएको नमुना आवासीय विद्यालय कार्यक्रमले शैक्षिक गुणस्तरमा वृद्धि भएको उहाँले बताउनुभयो ।

जीर्ण अवस्थामा रहेको पुरानो छात्रावास भवनमा निकै असुविधा थियो । छात्रावासको नयाँ भवन बनेपछि विद्यार्थीहरूलाई राख्न निकै सहज हुने केसीले बताउनुभयो । दुर्गम र विकट भेगका बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि विद्यालयमा नमुना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । प्रदेश सरकारबाट प्राप्त भएको बजेटले पालिकाले ठेक्कामार्फत विद्यालयनजिक रहेको झिनडाँडामा तीन तले २४ कोठे भवन निर्माण गरेको हो । गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले दुई करोड ५५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो ।

छात्रावास भवन व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको विद्यालयका प्रअ केसीले बताउनुभयो । छात्रावास भवन वरिपरि घेराबार गर्ने, भवनको भित्री संरचनाको व्यवस्थापन गर्ने र गार्डेन बनाउन आवश्यक बजेट प्रदेश सरकारसँग माग गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?