भाषा संरक्षणमा स्थानीय सरकारको चासो

हिमालय टाइम्स
Read Time = 7 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मुस्ताङमा मौलिक कला संस्कृति तथा मातृभाषा संकटमा पर्ने अवस्थामा पुगेका छन् । तर, मुस्ताङका केही पालिकाले भने भाषाको संरक्षणका लागि पाठ्यक्रम निर्माण गरेर विद्यालयमै पठनपाठन गर्न थालेका छन् । संविधानले शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई प्रदान गरेसँगै मुस्ताङका सामुदायिक विद्यालयमा स्थानीय भाषा संरक्षण गर्न भोट भाषाको शिक्षा अनिवार्य गराइएको हो ।

मुस्ताङका दुई स्थानीय तहले संविधानले सुनिश्चितता गरेको स्थानीय भाषा शिक्षा संरक्षणका लागि भोट भाषाको शिक्षा कार्यान्वयनमा ल्याएका हुन् । मुलुक संघीय प्रणालीमा रूपान्तरण भएसँगै भाषा, संस्कृति उत्थान र विकासमा संविधानले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेकाले सम्बन्धित क्षेत्रका जनजातिले माग गरेमा भाषा शिक्षा कार्यान्वयन गर्न पाउने अधिकार स्थानीय तहलाई छ ।

मुस्ताङको लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि सामुदायिक विद्यालयमा स्थानीय भाषाको कक्षा सञ्चालन गरेका छन् । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले भने स्थानीय भाषा शिक्षा सञ्चालन नगरे पनि स्थानीय भाषा शिक्षालाई मान्यता दिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अमेरिकन हिमालयन फाउन्डेसनअन्तर्गत जिग्मे फाउन्डेसनले विगत १५ वर्षदेखि स्थानीय भाषा शिक्षा संरक्षणमा योगदान दिँदै आइरहेको छ ।

मुुस्ताङको वारागुङ मुक्तिक्षेत्रले चालु वर्षका लागि स्थानीय भाषाको पठन/पाठन सञ्चालन गर्न १६ लाख २५ हजार बजेट विनियोजन गरेको छ । वारागुङका शिक्षा प्राविधिक सहायक रेखा पन्तका अनुसार पालिकाले चालु वर्ष चार सामुदायिक र एक गुम्बा विद्यालयमा मासिक २५ हजार तलब दिने गरी स्थानीय भाषा शिक्षक करारमा नियुक्ति गरिएको छ । यसका अतिरिक्त पालिकाले स्थानीय भाषा शिक्षकलाई थप एक महिनाको बोनस तलब दिने गरेको प्रास पन्तले उल्लेख गर्नुभयो । ‘स्थानीय लोपोन्मुख भाषा संरक्षण गर्ने अधिकार पालिकालाई छ, यसैले गुम्बाका लामाहरू र स्थानीय भाषा विद्सँग समन्वय गरी पाठ्यक्रम निर्माण गरेका थियौ, उहाँले भन्नुभयो, ‘गतवर्ष चार सामुदायिक विद्यालयमा भाषा शिक्षा कार्यान्वयनमा ल्याएका थियौ, यसवर्ष एक गुम्बा विद्यालय पनि थपिएको छ । वारागुङ मुक्तिक्षेत्रले छुसाङको जननर्मल मावि, कागबेनीको जनशान्ति मावि, लुप्राको लुप्रा आवि, झारकोटको मुक्तिनाथ आवि र कागछोदे गुम्बामा भाषा शिक्षाको पठन÷पाठन हुने गरेको प्रास पन्तले बताउनुभयो ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाको तीनवटा सामुदायिक विद्यालयमा स्थानीय भोट भाषाको शिक्षा कार्यान्वयनमा ल्याएको जनाइएको छ । लोमान्थाङले स्थानीय भाषा शिक्षकलाई मासिक २५ हजार तलब दिने गरी करारमा स्थानीय भाषा शिक्षक नियुक्ति गरेको पालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोमान्थाङले लोमान्थाङको राष्ट्रिय आधारभुत, साबिक छोनुप गाविसको झिन्जु आधारभुत विद्यालय र छोसेरको दिव्य दीप माविमा भाषा शिक्षा लागू गरेको हो । लोमान्थाङले स्थानीय भाषा शिक्षाका लागि पाठ्यक्रम निर्माण नगरेको र गुम्बा विद्यालयसँग सहकार्य गरी त्यहाँका पाठ्यक्रमलाई मान्यता दिँदै भाषा शिक्षा कार्यान्वयमा ल्याएको प्रशासन प्रमुख केसीले उल्लेख गर्नुभयो ।

उपल्लो मुस्ताङको लोघेरक दाामेदरकुण्ड गाउँपालिकामा भाषा शिक्षाका लागि पालिकाले बजेट विनियोजन गरेको छैन । सो पालिकामा जिग्मे फाउन्डेसनले स्थानीय भाषा शिक्षकको व्यवस्थापन गरी पठन÷पाठन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार फाउन्डेसनले घमी आधारभूत विद्यालय, जनज्योति आधारभूत र ढाक्मर आधारभूत विद्यालयमा स्थानीय भोट भाषाको कक्षा सञ्चालन गर्न शिक्षकको व्यवस्था मिलाएको हो ।

यसअघि फाउन्डेसनले चराङ आधारभुत र किम्लिङ आधारभूत विद्यालय लगायतमा भाषा शिक्षकको व्यवस्था मिलाएकोमा अहिले सो कोटा हटाएको छ । तर, फाउन्डेसनले लोमान्थाङको दिव्य दीप मावि छोसेरमा आधारभूत तहमा भाषा शिक्षकको कोटा यथावत राखी पठन÷पाठनलाई निरन्तरता दिएको छ । पछिल्लो समय स्थानीय भाषा लोप हुने खतरा बढेको र स्थानीय भाषालाई पुस्तान्तरणसम्म जोगाएर राख्न सामुदायिक विद्यालयमा भाषा शिक्षा अनिवार्य गराइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?