प्रचारप्रसारको ओझेलमा दिदीबहिनी झरना

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङको निसीखोलामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरू छन् । कतिपय पर्यटकीय क्षेत्रहरू पर्यटकका लागि आकर्षण केन्द्र बनेका छन् भने कतिपय निकै मनमोहक हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । त्यसमध्ये वडा नम्बर ६ मा पर्ने दिदीबहिनी झरना पनि ओझेलमै छन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना निकै मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलामा रहेको हुँदा स्थानीयले दिदीबहिनी झरना नाम दिए हुन् । शान्त वातावरण र उच्च पहाडी हावापानी रहेको ठाउँमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैल यात्रा गरेर पुग्न सकिन्छ ।

मोराखोलामा बनेका चार झरनामध्ये सबैभन्दा माथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइँली र कान्छी भन्ने गरिँदै आएको छ । स्थानीयले सबैको नाम एकमुष्ठरूपमा ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन् । झरनाहरू जंगलको बीचमा रहेको हुँदा स्थानीयले घाँसदाउरा ल्याउन जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौँ अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन ।

झरनाको फेदमा भने भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा वर्षातको समय सयौं गाईभैंसी र भेडाबाख्रा बाँध्ने गरिन्छ । चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रूपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालेहरूले यही झरनाको पानी पिउने गर्दै आएका छन् । यो झरना पैदल यात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।

ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रसार गर्न थालेको छ । यहाँ पूर्वाधार निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरूपमा पुग्नका लागि पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढा मगरले पर्यटक आकर्षण गर्नका लागि वडाले पदमार्ग, सडक निर्माण गर्ने बताउनुभयो ।

अध्यक्ष बुढा मगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कहरूसमेत निर्माण गर्ने योजना बनाएको बताउनुभयो । ‘लामो समयदेखि यो झरना ओझेलमा छ, यसको प्रचारप्रसार र विकासका लागि हामी निर्वाचित भएर आएदेखि निरन्तर लागिरहेका छौं, योजना बनाइरहेका छौं, सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण र सडक निर्माण गर्नुपर्नेछ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘विस्तारै त्यस वरपर पार्कहरू निर्माण गर्ने, झरनालाई व्यवस्थित बनाउने योजना बनाएका छौं, आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकतामा राख्नेछौं ।’

झरना भएको स्थान करिब तीन हजार मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न सडक तथा पदमार्ग निर्माण भए पर्यटकहरू हिउँद-बर्खा दुवै याममा पुग्न सक्नेछन् । हिउँदमा हिउँ खेल्न र वर्षातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउन पुग्ने अपेक्षा लिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?