मस्को । सोभियत नेता मिखाइल गोर्भाचोभको निधन भएको छ । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्वसोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो । सन् १९८५ मा सत्तामा पुग्नुभएका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गर्नुभएको थियो । तर, उहाँले सोभियत संघको पतन रोक्न सक्नुभएन, जसका कारण आधुनिक रूसको उदय भयो ।
उहाँको निधनमा विश्व नेताले श्रद्धाञ्जलि अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गर्नुभएको छ । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ हुनुहुन्थ्यो’, महासचिव गुटेर्रेसले भन्नुभएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्भाचोभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।’ गोर्भाचोभले अमेरिकासँगको परमाणु निःशस्त्रीकरणमा सफलता पूर्वक निभाएको भूमिकाका कारण अमेरिका र रूसको सम्बन्ध सुनिएको थियो । गोर्बाचोभको शासनकालमा हजारौं राजनीतिक बन्दीहरूलाई रिहा गरिएको थियो ।
गरिब परिवारमा सन् १९३१ मा जन्मनुभएका उहाँ कानुनका ज्ञाता हुनुहुन्थ्यो । उहाँले सन् १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभएको थियो । उहाँले सोभियत संघ विघटन गरेपछि १९९१ मा राष्ट्रपतिबाट राजीनामा दिनुभएको थियो ।
अमेरिका र सोभियत संघबीच चलेको चार दशक लामो शीतयुद्ध अन्त्य गर्नका लागि गोर्भाचभले खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ । तर, आर्थिक सुदृढीकरणअगावै राजनीतिक खुलापनको नीति अपनाएर सोभियत संघ विघटनको बाटो खोलेको भनी रुसमा उहाँको निन्दा हुने गरेको छ ।
यता, अमेरिका-बेलायत र सोभियत संघलगायत पश्चिमी देशहरूबीच तनाव हुँदासमेत सन् १९९१ मा शीतयुद्धको अन्त्य गर्नुभएका गोर्बाचेवलाई पश्चिमी देशहरूमा भने सुधारको पिताका रूपमा लिइन्छ । सन् १९९० मा उहाँलाई पूर्व-पश्चिमको सम्बन्धमा ठूलो परिवर्तन ल्याउनका लागि खेलेको भूमिका स्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
गोर्बाचेवको अन्त्येष्टि राजधानी मस्कोमा हुनेछ । रूसी समाचार एजेन्सी तासका अनुसार उहाँलाई सन् १९९९ मा ल्युकेमियाका कारण मृत्यु हुनुभएकी उहाँकी पत्नी राइसाको चिहान नजिकै नोवोडेभिची मसानघाट नजिकै गाडिनेछ । रूसका धेरै महान नेताहरूको चिहान उक्त क्षेत्रमा छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका