पाकिस्तानमा बाढीको कहर, ३० वर्षयताकै सर्वाधिक वर्षा, ठूलो जनधनको क्षति

Read Time = 2 mins

इस्लामवाद । पाकिस्तानमा ३० वर्षयताकै सर्वाधिक वर्षा भएर बाढीको संकट देखिएको छ । विगत १० दिनदेखि निरन्तर भइरहेको वर्षाले कारण ठूलो जनधनको क्षति भएको छ भने पाकिस्तानको एकतिहाइ हिस्सा बाढीमा डुबेको छ ।

बाढीमा परेर ११ सय व्यक्तिको मृत्यु भएको छ भने १० लाख बढी व्यक्ति बेघर भएका छन् । तीन करोड बढी व्यक्तिले बाढीको सामना गरेका छन् । बाढीमा परेर सात लाखभन्दा बढी पशुचौपाया मरेका छन् । देशभर तीन हजार किलोमिटर सडक बाढीमा बगेको छ, जसले गर्दा प्रभावितसम्म राहत पु¥याउनसमेत समस्या भइरहेको छ ।

बाढीको सर्वाधिक प्रभाव सिन्ध, बलुचिस्तान, खैबर र पञ्जाबमा देखिएको छ । बाढीले २० लाख एकड क्षेत्रफलमा फैलिएको खाद्यबाली नष्ट भएको छ । पाकिस्तान सरकारले आपत्काल घोषणा गरेको छ । जलवायु परिर्वतनका कारण बाढीको संकट निम्तिएको जनाइएको छ ।
पाकिस्तान सरकारको जलवायु परिवर्तन मन्त्री शेरी रहमानले अत्यधिक मनसुन वर्षाका कारण पाकिस्तानको एक तिहाइ भाग बाढीको सामना गरिरहेको बताउनुभएको छ । मन्त्री शेरी रहमानले यसलाई दशककै विनाशकारी मनसुन भन्नुभएको छ ।

पहिले नै आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा आएको बाढीका कारण अहिले अवस्था बिग्रिएको छ । पाकिस्तानको शाहबाज शरिफ सरकारले विश्वभरबाट राहत कोषको सहयोग खोजिरहेको छ । पाकिस्तानको यो वर्षको मनसुनी वर्षा सन् २०१० को विनाशकारी बाढीसँग तुलना गर्न सकिन्छ । पाकिस्तानको इतिहासमा सबैभन्दा घातक ठानिएको सो बाढीमा दुई हजार मानिसको ज्यान गएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?