डिबी शर्मा/देबेन्द्र खड्का/हिटा
काठमाडौं, कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम अध्यक्षसहित दर्जन बढी नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा आलीले सुदूरपश्चिममै पुगेर उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गर्नेमा सुदूरपश्चिम सरकारका राज्यमन्त्रीसमेत हुनुहुन्छ । कार्यक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, सुदूरपश्चिमका पूर्व-आर्थिक मामिला मन्त्रीसमेत रहनुभएका प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व-अध्यक्ष विक्रमबहादुर शाही, भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्दलगायत हुनुहुन्छ ।
ओलीले सुदूरपश्चिममा समाजवादीका नेताहरूलाई पार्टीमा भित्र्याइरहँदा सिन्धुलीमा महासचिव शंकर पोखरेल नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरिरहनु भएको थियो । माओवादीका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेलसहित, केन्द्रीय सदस्य मिथिला फुँयाल, मरिण गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकी लगायतलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा भित्र्याउनुभएको हो । केही दिनअघि मात्रै एमालेले माओवादी नेता तथा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ र नेकपा एसका केन्द्रीय सदस्य पंख तिरुवालाई एमाले भित्र्याएको थियो ।
संघीय चुनाव नजिकिएसँगै एमाले मात्रै होइन अन्य दलले समेत विभिन्न पार्टीका नेता–कार्यकर्ता पार्टीमा भित्र्याउन थालेका छन् । भदौ ८ गते जसपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व- वन तथा भू-संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको थियो । उहाँलाई माओवादी अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । चुनाव नजिकिएसँगै फेरि दलबदल सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकएसँगै नेताहरूले दलबदल सुरु गरेका हुन् । दलबदल गराउनेमा एमाले अग्र स्थानमा छ । जुन गत स्थानीय चुनावमा पनि देखिएको थियो । तर, चुनावी परिणाममा प्रवेशको असर खासै देखिएन ।
निर्वाचनसँगै पार्टी फेरबदल गर्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ । जुन हरेक चुनावमा हुँदै आएको छ । चुनावको मुखमा दल बदल्नेहरूको ‘जता अवसर, त्यतै अग्रसर’ हुने गरेको देखिन्छ । जुन यसपटक पनि सुरु भएको छ । राजनीतिमा विचार-सिद्धान्त सकिँदै गएपछि नेताहरू स्वार्थ केन्द्रित हुन्छन् । जता अवसर उतै हाम फाल्छन् । चुनाव आउन अझै साढे दुई महिना बाँकी छ । अढाई महिनामा दलबदलका दृश्य प्रशस्तै देख्न पाइनेछ ।
ओलीको दाबी- आउँदो चुनावमा १५० सिट जित्नेछौँ, दुनियाँ चकित पर्नेछ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १५० सिट जित्ने दाबी गर्नुभएको छ । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गर्नुभएको हो । पार्टी प्रवेश गर्नेको जनलहर बढेको भन्दै ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गर्नुभयो । ‘गठबन्धनले जिते देश, विकास र समृद्धि हार्छ । त्यसैले एमालेले जित्नुपर्छ, जित्छ,’ उहाँले भन्नुभयो, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौँ, दुनियाँ चकित पर्नेछ ।’ गठबन्धनमा नेताहरू मात्रै देखिएको भन्दै अध्यक्ष ओलीले जनता भने एमालेमै रहेको जिकिर गर्नुभयो ।
गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरीह बनेको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याँउम्याँउ गरेको ओलीको टिप्पणी थियो । ‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याँउम्याँउ गर्नुभयो,’ ओलीले भन्नुभयो, ‘लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन ? गठबन्धनको अर्को नेता जानुभो । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । खुसखुस, खुसखुस गर्नुभयो ।’
सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का
नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सुदूरपश्चिममा ठूलो धक्का लागेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका केही नेताहरू नेकपा (एमाले) मा फर्किएका छन् । एमाले कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका पार्टीबाट ६ सय भन्दा बढि संख्यामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेमा सबैभन्दा बढी नेता कार्यकर्ता समाजवादीका रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका