पितृसम्बन्धी विचार

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

ऋषिहरूको प्राणस्वरूप पछि आएर दुई भागमा विभाजित हुन्छ । एउटालाई सौम्य प्राण भनिन्छ भने अर्कालाई आग्नेय प्राण भनिन्छ । यी दुवैमा दुवै अंश सम्मिलित भएका हुन्छन् तापनि प्रधानताका हिसाबमा ती आग्नेय र सौम्य नै भनिन्छन् । अतः जसमा सोम तत्वको प्रधानता रहेको हुन्छ त्यसलाई सौम्यप्राण भनिन्छ । अग्नितत्वको प्रधानता भएका प्राणलाई आग्नेय प्राण भन्ने नाम वेदले दिएको छ । अग्नि र सोम दुवै अक्षर पुरुषका कला मानिन्छन् । यिनकै प्रधानताका कारणले क्षर पुरुषमा पनि आग्नेयप्राण र सोमप्राणका रूपमा विभाजित हुन्छन् । यिनै अग्नि र सोमलाई क्षर पुरुषका कलामा ‘अन्नाद’ र ‘अन्न’ नामबाट चिन्ने गरिन्छ भन्ने कुरो मैले अक्षर पुरुषको परिचयमा नै बताएको थिएँ ।

यिनमा सौम्यप्राण चाहिँ पितृप्राण भनिन्छ भने आग्नेय प्राणलाई देव प्राण भनिन्छ । सोमप्रधान वस्तुमा सौम्यप्राणको आधिक्य रहेको हुन्छ । अग्नि प्रज्वलित पनि सोमाहुतिबाटै हुने भएको हुनाले यिनै कुराको संकेतका निमित्त आठ प्रकारका पितृगणमा अग्ष्विाता, बर्हिषद, आज्यपा, सोमपा, उष्मपा आदि नामको निर्देश ब्राहृमण ग्रन्थले गरेका छन् र श्राद्धपद्धतिमा पनि यिनका नाममा तर्पण दिने व्यवस्था रहेको देखिन्छ । यिनमा जुनजुनले अग्निगृहीत भएर अग्नि प्रज्वलनको काम गर्दछन् तिनलाई ‘अग्ष्विाता’ भन्ने नाम दिइएको हुन्छ । यिनको वर्णन पनि श्रुतिले गरेका छन् ‘ज्ञानाग्निरेव दहन् स्वदयति’ अर्थात् आगाले जसलाई दहन गर्दै स्वाद लिन्छ ती अग्निष्वाता हुन् ।

‘बर्हि’ अर्थात् कुशमा अनुप्रविष्ट पितृप्राणलाई बर्हिषद् भनिन्छ । घ्यूमा रहनेलाई आज्यपा भनिन्छ भने सोममा रहनेलाई सोमपा भनिन्छ । अन्नमा रहेको उष्णता जजसले पिउँछन् तिनलाई ‘उष्मपा’ आदि भनेर वैदिक विधिशास्त्रमा बताइएको भेटिन्छ । यिनै सौम्यप्राणका सम्बन्धबाटै ऋतुहरू परिवर्तन हुनेभएका कारणले ‘ऋतवः पितरः’ भनेर वेदले ऋतुलाई नै पितृ मानेको देखिन्छ । श्राद्धका पुस्तकमा पनि...साम्वतसरिकैकोद्दिष्टश्राद्ध भनेर लेखेको हुन्छ । त्यसमा पनि सोमतत्व प्रधान भएर अग्नितत्वलाई जुन ऋतुमा दबाएको हुन्छ ती शरद, हेमन्त र शिशिर ऋतुका आरम्भमा हाम्रो पौरस्त्य मुलुकमा पितृपक्ष मानिन्छ ।

पहिले पहिलेका ऋषि आदिकै तरह पितृ र तिनका नाममा पनि भिन्न भिन्न प्रक्रिया रहेको देखिन्छ । जजसमा यी प्राणको प्रधानता छ त्यस्ता चन्द्रलोक आदिका प्राणीलाई पनि पितृ मान्नुपर्ने हुन्छ । किनभने सोमतत्वको प्रधानता भएको पिण्ड चन्द्रमा नै हो ।

पितृलाई टन्न अघाउनका लागि हामी पर्व विशेषका नामबाट चलेको पार्वण श्राद्ध गर्दछौँ । यसै समयबाट पितृको ऋतु सुरु भएको मानिन्छ । यसैगरी मान्छेका शरीरमा अन्नको रस रूधिर, मांस, मेद, अस्थि (हाड) मज्जा (बोसो) बनेर सातौं परिणाम शुक्र (वीर्य तथा रज डिम्ब) बन्दछ । त्यसमा पनि सौम्यप्राणकै प्रधानता रहेको हुन्छ र त्यसलाई पनि पितृ नै भनिन्छ किनभने त्यही भाग त पुत्रपुत्रीको नव शरीर निर्माणमा प्रयुक्त हुन्छ नि । रज र शुक्रविना सन्तान नहुने यही कारण हो रज र शुक्रको प्रबद्र्धन, प्रबलीकरण र सशक्तीकरणका निमित्त श्राद्धकर्मादि आवश्यक देखिन्छन् । यसरी पितृकर्म नगर्नु भनेको आफूले आफैंलाई अस्वीकार गर्नुजस्तो हुन्छ ।

सूर्ये कन्यागते श्राद्धं यो न कुर्याद् गृहाश्रमी । धनपुत्रा कुतस्तस्य पितृनिश्श्वासपीडनम्’ ।। अर्थात् सूर्य कन्यारशीमा गएपछि पनि जुन गृहस्थले श्राद्ध गर्दैन त्यसलाई पुत्रपौत्रादिका साथै धनधान्य कसरी हुन्छन् त पितृका आँसुले पीडित गराएपछि । पहिले पहिलेका ऋषि आदिकै तरह पितृ र तिनका नाममा पनि भिन्न-भिन्न प्रक्रिया रहेको देखिन्छ । जुन पितृको मैले माथि विवरण प्रस्तुत गरेँ तिनीहरू सबै प्राणरूप पितृ मानिन्छन् । जजसमा यी प्राणको प्रधानता छ त्यस्ता चन्द्रलोक आदिका प्राणीलाई पनि पितृ मान्नुपर्ने हुन्छ । किनभने सोमतत्वको प्रधानता भएको पिण्ड चन्द्रमा नै हो ।

अतः सौम्यप्राण जजसमा प्रधान छ ती सबै प्राणी चन्द्रमण्डल या त्यसका नजिकमा रहेका लोकमा नै निवास गर्दछन् । यिनमा पनि फेरि दुई प्रकारका विभेद हुन्छन् दिव्यपितृ र प्रेतपितृ । सृष्टिका सुरुदेखि नै जो चन्द्रमण्डल या नजिकका कुनै लोकमा रहेका हुन्छन् ती दिव्य पितृ मानिन्छन् । मनुष्यलोकबाट मरेर जो पितृ ती लोकमा पुग्छन् तिनलाई प्रेतपितृका नामबाट बोलाइन्छ । यिनीहरू त्यहाँ स्थायी रूपले बस्न पाउँदैनन् । आवागमन (जन्ममृत्यु) का चक्रमा परि नै रहन्छन् । यसका अतिरिक्त विशेष विद्वताका कारणले मान्छे पनि पितृ मानिन्छन् । ऋषिले लेखेका ग्रन्थलाई स्मृति भनिन्छ । स्मृति र पुराणले पितृको उत्पत्तिलाई निम्न तीन प्रकारले व्याख्या गरेको भेटिन्छ ।

याज्ञवल्क्यस्मृति ‘वसुरूद्रादितिसुताः ‘पितरः श्राद्धदेवताः’ अर्थात् वसु, रुद्र र आदित्य नामका जुन देवता छन् तिनीहरू नै पितृ र श्राद्धदेव हुन् भनेको हुनाले पितृबाट देव र असुर बन्ने कुरो स्पष्टै भयो/छ पनि । मनुस्मृति (‘अध्यापयामास पितृन् शिशुराङ्गिरसः पुरा । पुत्रका इति होवाच ज्ञानेन परिगृहृय तान् तेमर्थमपृच्छयन्त देवानागतमन्यवः, देवाश्च तान्समेत्योचुन्या्ययं वः शिशुरूक्तवान्’) मा चाहिँ ऋषिबाट पितृ हुन्छन् र पितृबाट देव र असुर हुन्छन् भनेर बताएको देखिन्छ ।

हरिवंश पुराणको पितृकल्पमा एउटा कथा आउँछ ‘कुनै समयमा देउताले वेद बिर्सेछन् । यो कुरो जब तिनले प्रजापतिलाई सुनाए अनि प्रजापिताले भने तिमीहरू आफ्नै सन्तानसँग पढ । पुत्रले पनि देउतालाई पढाएर पुत्र हो जाओ अब तिमीहरू विद्वान भयौ भनेपछि रिसले चुर भएर प्रजापिता भएका ठाउँमा आएर सबै कुरो सुनाएछन् । अनि प्रजापिताले ज्ञानका कारणले तिमीहरूलाई पुत्र भनेर सम्बोधन गरे ठीकै त गरे भनेछन्’ जसले ज्ञान दिन्छ त्यो पिता हुन्छ र सिक्ने चाहिँ पुत्र या पुत्रवत् हुन्छ । यसपछि तिनीहरू सबै पितृ भन्ने नामबाटै प्रसिद्ध भएछन् र यिनीहरू चाहिँ देव नामबाट चिनिन थाले छन् ।

यसै कुरालाई माथि उद्धृृत मनुका वाक्यमा बताइएको देखिन्छ । यसरी हेर्दा जसले देवत्वमा जाने खालका काम गर्दछ र ज्ञानविज्ञानका क्षेत्रमा दक्खल राख्छ त्यस्तो चाहिँ पितृत्वमा या देवत्वमा जान्छ । लोकमा पनि असल मान्छे देवकृत गरिएकै देखिन्छ । यहाँ तीनवटा कुरा विशेष रहेका देखिन्छन् १, मनुका अनुसार पितृले देवतालाई उत्पन्न गरे । २, याज्ञवल्क्यका भनाइमा पितृ र देवता एकै हुन् । ३, हरिवंशपुराणको कथाअनुसार पितृ देवताबाट उत्पन्न भएका हुन् । किनभने देउताले वेद बिर्से अनि ब्रहृमाजी भएका ठाउँमा गएर तिनले गुनासो गर्दा भोगविलासमा लट्ठ परेका लन्ठु देउतालाई जाओ आफ्नै सन्तान (पितृ) सँग वेद पढ भनेर पठाए ।

उनीहरूले ब्रहृमाको कुरो मानेर पितृसँग वेद पनि पढे तर पितृले देवलाई पुत्र हो भन्दा कुरो पचाउन सकेनन् । त्यो कुरो ब्रहृमसँग गुनासो गर्दा ब्रहृमाले पढाउने, उपदेश दिने पिता नै हुन्छ । तिनले ठीक कुरो गरेछन् भनेपछि देउता फन्दामा परे । कस्तो जटिल समस्या कतै छेउटुप्पो भेटिँदैन समाधानको । यसको समाधान यास्कले गरेका रहेछन् । सुरुमा प्राणरूप देउता र पितृ एकअर्काका उत्पादक या कतै कसैबाट कतै कसैबाट पनि उत्पन्न हुनसक्थे । क्रमशः नै एकबाट एकको उत्पत्ति भई नै रहेको हुन्छ । तात्विक रूपले विचार गर्दा यस्तो कुरो दुनियाँमा पनि देख्न पाइँदो रहेछ । अग्निबाट जल उत्पन्न हुन्छ । ग्रीष्मको प्रचण्ड गर्मीमा अग्नि जलमा परिणत भएर वर्षन्छ । त्यही जल फेरि वाष्प रूपमा परिणत भएर वायुमण्डलमा पुग्छ ।

यसरी हेर्दा अग्नि जलको उत्पादक बन्यो भने उसबाट उत्पन्न हुने पनि भयो । यसैगरी कतै वायुबाट जल बन्छ त कतै फेरि जल वायुरूप बन्छ । यसरी भौतिक तत्वमा परस्पर जन्यजनक भाव प्रत्यक्ष नै देखिन्छ । यसै प्रकारले प्राणरूप देवपितृ आदिमा पनि परस्पर जन्यजनकभाव सम्बन्ध हुने गर्दछ । यसरी भौतिक तत्वमा जन्यजनक भाव प्रत्यक्ष देखिन्छ । यसैगरी पितृ प्राणबाट जब देवप्राण बनिन्छन् अति ती पितृप्राण देव प्राणमा नै अनुप्रविष्ट हुन्छन् । यसै कारण याज्ञवल्क्यले देउतालाई नै पितृ भनेका थिए भने यसमा खास विरोध पनि देखिँदैन । किनभने देवप्राणमा अनुप्रविष्ट हुनेबित्तिकै पितृप्राण पनि देवप्राण नै भनिन्छ । आउँदा दिनमा कसैले वैज्ञानिक प्रक्रियाबाट पितृप्राणलाई पृथक गर्न चाहे भने पनि ती देवप्राणबाट नै निक्लने छन् ।

पितृप्राणबाट नै देवप्राण उत्पन्न हुन्छ भनेर नै श्राद्धकर्मका प्रक्रियामा देवता नै पितृरूप हुन् भनेर हामी मानिआएकै छौँ । किनभने तिनले नै आफैँबाट पे्रत पितृको पालन गर्दै आएका छन् भन्ने हामी विश्वास गर्दछौँ ।

जसरी जलादि तत्व विद्युत्बाटै बनेका हुन्छन् । जब हामीलाई विद्युत्को आवश्यकता पर्दछ अनि जलबाटै बिजुली निकालेको उदाहरण आज सर्वत्र हामीले देखेका छौँ । यसलाई हामीमध्य कसैले जलोत्पन्न पनि भन्न सक्छौँ । जलविद्युत् त हामी भनिरहेकै छौँ । यस प्रकार तत्वमा परस्पर जन्यजनक भाव सम्बन्ध आवागमित (पलटफेर) भई नै रहने कुरा हुन् । वेदविज्ञानले यसलाई परमसत्य मानेको छ । यस प्रकारका समस्याको समाधान तलका प्रकारले पनि गर्न सकिन्छ । प्राणरूप पितृ र देवतामा मनुलाई क्रमिक रूपबाट मन्थन गरिन्छ ।

पितृप्राणबाट नै देवप्राण उत्पन्न हुन्छ भनेर नै श्राद्धकर्मका प्रक्रियामा देवता नै पितृरूप हुन् भनेर हामी मानिआएकै छौँ । किनभने तिनले नै आफैँबाट पे्रत पितृको पालन गर्दै आएका छन् भन्ने हामी विश्वास गर्दछौँ । यसरी हेर्दा विषय भेद भए पनि पारस्परिक विकास प्रक्रियामा कुनै प्रकारको भेद भने दृष्टिगोचर हुँदैन । यसमा पनि प्रश्न गर्नु भनेको कुखुरो पहिला कि फुल पहिला भन्ने प्रश्न गर्नुजस्तै टुंगामा नपुगिने कुतर्क हो ।

१६औं शताब्दीका कर्मकाण्डी महापण्डित करुणाकर भट्टले श्राद्धपद्धतिमा देवता, दिव्यपितृ, ऋषि र मनुष्यपितृको व्यवस्था गरेको छ । आहिृनक कर्मसूत्रावलीले पनि हत्केलो बनाएर अर्घौताले चार औंलाको टुप्पाबाट देवतालाई, चोर औंलो र बुढीऔंलाको कापबाट ऋषिलाई, साहिंली औंलो र कान्छी औंलाका कापबाट स्वपितृलाई तर्पण दिने व्यवस्था गरेको भेटिन्छ । यसरी हेर्दा हाम्रो हातमा नै देवतीर्थ, ऋषितीर्थ र पितृतीर्थ रहेको हुन्छ भन्ने देखिन्छ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-09-01 9:55 am

उम्दा लेख़
बधाई

devisir2008@gmail.com
devisir2008@gmail.com
2022-09-01 10:30 am

विशेष प्रकारको प्रस्ततुतिका लागि लेखकलाई बधाई ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?