छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रहरीले महोत्तरी, कञ्चनपुर, कास्की, रुपन्देही र कैलालीबाट अवैध लागूऔषध सहित सात जनालाई पक्राउ गरेको छ ।

महोत्तरीकाे सम्सी गाउँपालिका-४ बस्ने ३० वर्षीया सन्जु देवी झालाई ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरकाे बेदकोट नगरपालिका-६ चुनेपानीस्थित सडकबाट ३ किलो १ सय १८ ग्राम अवैध लागूऔषध चरेश, १ थान डिजिटल तराजु र नगद २९ हजार रुपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ बस्ने ४२ वर्षीय शेर बहादुर धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-८ दुवानखर्क घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३३ वर्षीय दिल बहादुर डिमडुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७५१९ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-१३ गौडाको मुखबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२० भलाम घर भएका २० वर्षीय रोचक गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभी भद्रकालीबाट खटिएको प्रहरीले ग.१३ प ६०६० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी स्कटुर चालक रोचकलाई पक्राउ गरेको हो ।

रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बसपार्कबाट करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-१ बस्ने २२ वर्षीय निश्चल उप्रेतीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीकाे गौरीगंगा नगरपालिका-१ मालीबाट ६ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

याे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?