उहाँले व्यक्त गरेका शब्द र अभिव्यक्तिका विषयमा आपत्ति मान्नु हुँदैन : मिन विश्वकर्मा

निलम्वित प्रधानन्यायधीशको बयान

Read Time = 4 mins

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।

बिहीवार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिनुभएको छ ।

आज प्रधानन्यायधीशले न्याय सम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरुको भनाइ छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले आजका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीशले व्यक्त गर्नुभएको शब्दहरुमा आपत्ति जनाउनु नहुने बताउनु भयो ।

उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताउनु भयो ।

उहाँले बुधवार बार, न्यायाधीशहरुमाथि आरोप लगाउनुभएको र आज संसद र सांसदहरुमाथि आरोप लगाउनुभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज अलि छिटो हुन्छ लागेको थियो तर ५ नम्बर प्रश्न लामो र व्याख्यात्मक थियो । त्यसैले प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो । २ वटा प्रश्नको मात्र उत्तर आयो । उहाँले व्यक्त गरेका शब्द र अभिव्यक्तिका विषयमा लिएर हामीले आपत्ति मान्नु हुँदैन । आज मान्य सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकोले आजलाई रोकेको हो । आज उहाँले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको प्रश्न थियो ? उहाँले समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो । हिजो बाँकी अरुलाई आरोप लगाउनुभयो आज हामीलाई नै लगाउनु भयो ।’

समितिले प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराबिरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?