कविता : आर्यघाट पनि बेचिन्छ यहाँ

मुरारी ढुङ्गेल
Read Time = 2 mins

यहाँ आर्यघाट बेच्ने विचौलियाहरु छन्

छिनलाई मात्तिन मदिराका लागि आफ्नै शरीरको अंग बेच्न तयार छन् यहाँ
निर्धन, कंगाल र गरिव भएर होइन, मानसिकता र नैतिकताका दरिद्रहरु छन् यहाँ
ठूला भनाउँदाको अघिपछि गर्दै स्वार्थ र नीच हुन मञ्जुर छन् ।

परिश्रम मिहिनेत भन्दा पनि लुट जालझेल र तिगडम खर्चिनेहरु
कहाँ कसरी र कुन बाटोबाट धनी बन्न सकिन्छ भन्ने धाउन्नमा छन् उनीहरु
स्वार्थ र फाइदाका लागि जोकसैको पाउ पर्नेहरु आफन्तकै  घिच्रो निचर्न तयार छन्
कमाउनकै लागि चेलिबेटी बेच्नेहरु नै छाति फुकाएर हिँडेका छन् ।

दरिद्रताको उच्च विन्दुमा नग्न भएर लुट्न लाजले छेकबार गर्दैन तिनलाई
नैतिकताको त के कुरा गरौं र खै ! मूर्दा पोल्ने आर्यघाट समेत बेच्ने यिनीहरुलाई
विचलन, वितृष्णा र विच्छेदको कुभावनाले ग्रस्त यो समाजमा
ऐश्वर्य वैभवकै लागि श्रीमती परपुरुषसँग पठाइदिने साधुहरुको जमात छ यहाँ

आफ्नैबाट आफन्त लुटिन्छन् यहाँ,
पाषाण हृदय बोकेका आफन्त कुन बेला तिम्रो घाँटी निमोठ्न
नैतिकता र पापधर्म भुलेर नंग्रा तिखारेर बसेका छन्

हाे ! उनीहरु आफैं जल्ने आर्यघाट पनि बेचिदिन तयार यहाँ

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
bajura
bajura
Editor
2022-09-01 7:35 pm

मूर्दा पोल्ने आर्यघाट समेत बेच्ने

रिलेटेड न्युज

छुटाउनुभयो कि ?