राष्ट्रिय टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण विराटनगरमा हुने भएको छ । बन्द प्रशिक्षणका लागि होटलको आवश्यकता रहेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार नेपाली टोलीले भदौ २० गतेदेखि असोज ७ गतेसम्म विराटनगरमा प्रशिक्षण गर्नेछ । विराटनगरमा हुने बन्द प्रशिक्षणमा होटलको आवश्यकता भएकाले इच्छुक होटल व्यवसायीले तीन दिनभित्र सिलबन्दी प्रस्ताव पठाउन एन्फाले सूचना जारी गरेको हो ।

जसमा ३१ खेलाडीका लागि १४ डबल र तीन सिंगल कोठाको आवश्यकता रहेको सूचनामा उल्लेख गरिएको छ । राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मंगलबार दोस्रो चरणमा ४० बाट ३० खेलाडीको छनोट गर्नुभएको छ । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ ।

हाल बन्द प्रशिक्षणमा गोलकिपर किरण चेम्जोङ, विकेश कुथे, विशाल श्रेष्ठ र दीप कार्की, रक्षकमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रञ्जित धिमाल, मिडफिल्डमा तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यू ठकुरी, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदिप गुरुङ, सन्जोग राई र अञ्जन विष्ट तथा फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

यू-१७ टोली घोषणा
श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिप र भियतनाममा हुने एएफसी यू–१७ एसियन कप छनोट फुटबलका लागि नेपालको टोली घोषणा गरिएको छ । यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।

घोषित नेपाली टोलीको गोलकिपरमा क्रिसल मोक्तान, समिर चन्द, रुबिन बोगटी, डिफेन्डरमा अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा, मिडफिल्डरमा प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लक्षु थापा र फरवार्डमा निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम हुनुहुन्छ ।

यसअघि २४ सदस्यीय टोलीमा रहेका समिर तामाङ टिमबाट बाहिरिनुभएको छ । साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ । यू-१७ साफका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन् । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

आर्मीको हार
महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको भुटानको महिला राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ । भुटानको जितमा पेमा छिरिङले २ तथा सुनिता राई र गेले वाङ्मोले समान १–१ गोल गर्नुभयो । खेलको २९औं मिनेटमा पेमाको गोलबाट भुटानले सुरुवाती अग्रता लिएको थियो । ३८औं मिनेटमा पेमाले दोस्रो गोल गर्नुभयो । ५८औं मिनेटमा सुनिता तथा ७६औं मिनेटमा गेलेले चौथो गोल गर्नुभयो ।

दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने छैटौं महिला साफ च्याम्पियनसिप भदौ २१ गतेबाट असोज ३ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालले भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ ।

समूह ‘ए’मा साबिक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । राउण्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पछिल्लोपटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?