अस्कर अवार्ड मा सहभागिताका लागि नेपाली चलचित्रको आवेदन खुला

Read Time = 3 mins

काठमाडौं । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपाली चलचित्रको आवेदन खुला भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै ९५औं संस्करणको अवार्डका लागि आवेदन खुला भएको जनाएको हो ।

अस्करमा आफ्नो चलचित्र पठाउन इच्छुक नेपाली चलचित्रकर्मीले भदौ १६ गतेदेखि ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई चलचित्र बुझाउन सक्नेछन् । ९५औं अस्कर अवार्ड २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा प्रदान गरिँदै छ । हरेक वर्ष फेब्रुवरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो ।

अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि चलचित्र हलसँगै स्ट्रिमिङ साइटमा सार्वजनिक भएका चलचित्रले अवार्डमा सहभागिता जनाउन सक्नेछन् । योसँगै महामारीका कारण सार्वजनिक गर्ने समय तोकेर पनि सार्वजनिक हुन नसकेका चलचित्रले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् । यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र सार्वजनिक रोकिएको पत्र बुझाउनुपर्ने छ । त्योसँगै यसरी रोकिएका चलचित्रहरू सिनेमा हलमा नलागी स्थापित स्ट्रिमिङ साइट वा भिडियो अन डिमाण्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागाई र सामीप्यराज तिमल्सेना सदस्य रहनुभएको छ । ९४औं अस्कारमा ‘कोडा’ले उत्कष्ट चलचित्रको अवार्ड पाउँदा जापानी चलचित्र ‘ड्राइभ माइ कार’ले उत्कृष्ट विदेशी चलचित्रको अवार्ड प्राप्त गर्न सफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?