आगामी निर्वाचनको सरगर्मी सुरु, शीर्ष नेताहरू पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा

नारायण भण्डारी
Read Time = 12 mins

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मुख्य पार्टीका शीर्ष नेताहरू कहाँबाट चुनाव लड्दैछन् भन्ने चासो बढेको छ । स्थानीय निर्वाचनमा झैँ सत्तारूढ पाँच दलीय गठबन्धनले आउँदो ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनाव पनि मिलेर लड्ने निर्णय गरेसँगै चुनावी सरगर्मी सुरु भएको हो । निर्वाचन क्षेत्र बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन भई त्यसले गृहकार्य अघि बढाइसकेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका एकै निर्वाचन क्षेत्रका आकांक्षी दोस्रो र तेस्रो तहका नेतालाई भागबण्डा मिलाउन कठिन भए पनि शीर्ष नेताका लागि भने त्यो झमेला देखिएको छैन ।

शीर्ष नेताहरूको निर्वाचन क्षेत्र करिब-करिब प्रष्ट छ । केही जोखिमका बाबजुद प्रायः शीर्ष नेताहरू पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा देखिन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पहिलेजस्तै गृहजिल्ला डडेल्धुराबाट पुनः प्रतिस्पर्धाको तयारीमा रहनुभएको छ । २०४८ यताको सबै आम निर्वाचनमा उहाँ त्यही क्षेत्रबाट प्रतिस्पर्धामा रहनुभएको छ । त्यसअघि उहाँले २०६४ सालको पहिलो संविधानसभा चुनावमा डडेल्धुराको अतिरिक्त कञ्चनपुर–४ र दोस्रो संविधानसभा चुनावमा कैलाली-६ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । देउवाले चुनावमा प्रतिस्पर्धा गर्नुभएका सबै स्थानमा जित हासिल गरेर शतप्रतिशत नतिजा निकाल्नुभएको छ ।

केपी शर्मा ओली आफ्नो पुरानो क्षेत्र झापा-५ बाटै प्रतिस्पर्धाको तयारीमा रहनुभएको छ । ओलीले गृहनगर दमकसहित पश्चिम झापाबाटै सबै निर्वाचनमा प्रतिस्पर्धा गर्दै आउनुभएको छ । २०६४ सालको पहिलो संविधानसभा चुनावमा बाहेक उहाँ त्यस ठाउँबाट पराजित हुनुभएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट पुनः चुनाव लड्नुहुनेछ । अघिल्लोपटक चुनाव जितेयता उहाँ निरन्तर निर्वाचन क्षेत्र पुगेर मतदातालाई रिझाइरहनु भएको छ । विगतमा रोल्पा, काठमाडौं र सिराहाबाट समेत चुनाव लड्नुभएका प्रचण्डका लागि चितवन ३ नै सजिलो क्षेत्र मानिएको छ । गठबन्धनको बलमा सोही क्षेत्रबाट सजिलै जित हासिल गर्ने प्रचण्डको योजना देखिन्छ । पहिलो संविधानसभा चुनावमा काठमाडौं-१० र रोल्पा-२ बाट निर्वाचित हुनुभएका प्रचण्डले २०७० सालमा दोस्रो संविधानसभा चुनावमा मिश्रित परिमाण हात पार्नुभयो । त्यस समयमा उहाँले काठमाडौं-१० र सिरहा-५ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । काठमाडौं-१० मा तेस्रो स्थानमा रहनुभएका प्रचण्ड सिरहाबाट निर्वाचित हुनुभएको थियो । २०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड गृहनगर चितवन-३ बाट निर्वाचित हुनुभएको थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट प्रतिस्पर्धाको तयारीमा हुनुहुन्छ । अहिले निर्वाचित रहेको काठमाडौं-२ भन्दा गृहनगर रौतहट-१ सुरक्षित देखिएकाले उहाँले उतैबाट प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । गत स्थानीय चुनावमा सो निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । नेपाल एकपटक सो निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । नेपाल २०६४ सालको चुनावमा काठमाडौं-२ र रौतहट-६ बाट पारजित हुनुभएको थियो । उहाँ २०७० सालको दोस्रो संविधानसभा चुनावमा रौतहटबाट विजयी हुनुभएको थियो ।

गठबन्धनका अर्का शीर्ष नेता झलनाथ खनाल इलाम २ बाट पुनः चुनाव लड्दै हुनुहुन्छ । स्थानीय तहको निर्वाचनको नतिजापछि वाम गठबन्धनको पक्षमा खुलेका खनालले इलाममा जिल्ला समन्वय समिति गठन गर्दा एमालेलाई साथ दिनुभएको छ । त्यसैले कांग्रेसका स्थानीय नेताहरू उहाँसँग रुष्ट छन् । भर्खरै नयाँ दल नेपाल समाजवादी पार्टी गठन गर्नुभएका बाबुराम भट्टराई गोर्खा–२ बाट निर्वाचित हुँदै आउनुभएको छ । यसपटक पनि उहाँ सोही निर्वाचनबाट लड्ने तयारीमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसियाँ हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गर्नुभएका भट्टराईले २०६४ र २०७० सालको संविधानसभा चुनाव त्यही क्षेत्रबाट जित्नुभएको थियो । २०७० सालमा रुपन्देही–४ बाट प्रतिस्पर्धा गरेका भट्टराई पराजित हुनुभएको थियो । २०७४ को चुनावमा भट्टराईले नयाँ शक्ति पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । आँखा चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका भट्टराईले एमालेसँग गठबन्धन गरेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाटै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । गत चुनावमा एमालेसँग झापामा तालमेल गर्नुभएका लिङ्देनले एमालेसँग देशभर चुनाव तालमेल गर्न चाहनुभएको छ । गत स्थानीय चुनावमा राप्रपाले भरतपुर महानगरपालिकामा एमाले र झापाको दमक नगरपालिकामा कांग्रेस, माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनसँग तालमेल गरेको थियो ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्दै हुनुहुन्छ । सो क्षेत्रमा जसपा आफैँ बलियो छ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेर सजिलै चुनाव जित्ने उहाँको योजना छ । सोही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउतले समेत उम्मेदवारी घोषणा गर्नुभएको छ । राउतले यादवलाई चुनावमा मिलेर जान आग्रह गरिरहनु भएको छ ।

गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल २०७४ कै निर्वाचन क्षेत्र प्युठानबाट उठ्ने तयारीमा हुनुहुन्छ । गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवाले उहाँलाई आश्वासनसमेत दिइसक्नु भएको छ । महन्थ ठाकुरको महोत्तरी–३ बाट उठ्ने निश्चित भएको बताइँदै गर्दा राजेन्द्र महतोको निर्वाचन क्षेत्र भने टुंगो लागेको छैन । सर्लाहीका महतो धनुषा-३ बाट निर्वाचित हुनुभएको थियो ।
सत्तारूढ गठबन्धन तोडेर २०७४ कै जस्तो वाम गठबन्धन बनाउने भय कांग्रेस सभापति देउवालाई छ । त्यसैले जतिसक्दो चाँडो सिट बाँडफाँट गरेर गठबन्धन सुनिश्चित गर्नुपर्ने उहाँको रणनीति छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरू अझै पनि वाम गठबन्धन बनाउने अन्तिम कसरतमा छन् । त्यसले मूर्तरूप नलिँदै कांग्रेस निर्वाचन क्षेत्र बाँडफाँट गरेर गठबन्धन बनाएर चुनावमा होमिन चाहन्छ ।

यी हुन् कांग्रेसबाट सर्वसम्मत सिफारिस उम्मेदवारहरू
नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिले मंसिर ४ को निर्वाचनमा उम्मेदवार बन्न इच्छुकको नाम माथिल्लो तहमा सिफारिस गरिरहेका छन् । केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिले दुवै तहमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकको नाम माथिल्लो तहमा सिफारिस गरिरहेका हुन् । जसमध्ये सातजना आकांक्षी नेताहरूको नाम सम्बन्धित निर्वाचन क्षेत्रबाट सर्वसम्मत जिल्ला कार्यसमितिमा सिफारिस भएको छ । शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस हुनुभएको छ । यस्तै, महामन्त्री पूर्णबहादुर खड्का सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ । प्रथम महिला तथा केन्द्रीय सदस्य डा. आरजू राणा देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व-सहमहामन्त्री सुनिलबहादुर थापा, मेडिकल व्यवसायी सुनिल शर्मा र जेलमा रहेका अफताव आलम सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ फरक-फरक निर्वाचन क्षेत्रबाट जिल्लामा सिफारिस हुनुभएको छ । प्रथम महिला केन्द्रीय सदस्य डा. राणालाई कैलाली-५, महामन्त्री शर्मालाई झापा–१, पूर्व-सहमहामन्त्री थापालाई धनकुटा, मेडिकल व्यवसायी शर्मालाई मोरङ-३ र आलम रौतहट-२ बाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिहरूले जिल्ला कार्यसमितिलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?