नागरिकता विधेयक : विधायन समितिको प्रतिवेदन राष्ट्रियसभामा पेश, आज जस्ताको तस्तै पारित गर्ने तयारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ । राष्ट्रपतिले सन्देससहित फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले बिना संशोधन पारित गर्दै राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले छलफलका लागि समितिमा पठाए पनि समितिको बुधबार बसेको बैठकले विधेयक जस्ताको तस्तै बहुमतबाट पास गरेको थियो ।

राष्ट्रियसभाको पहिलो बैठकमा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो । समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भएर हुबहु पारित भएको थियो । विधेयकका सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानुन मन्त्रालयलगायत सबै सरोकारवालाहरूसँग छलफल गरेको मिश्रले बताउनुभएको छ । समितिमा रहेका एमालेका तीनसहित पाँच सदस्यले फरक मत राखेका भए पनि बहुमतले पारित भएको थियो ।

संघीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित साउन २९ गते फिर्ता पठाउनुभएको थियो । फिर्ता विधेयक भदौ २ मा प्रतिनिधिसभाबाट दोस्रोपटक जस्ताको तस्तै पारित भएको थियो ।

राष्ट्रियसभा दोस्रो बैठकमा बोल्ने सांसदहरूले विधेयकको पक्षमा र विपक्षमा आ-आफ्ना धारणा राखेको थिए । बैठकमा राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नागरिकता विधेयकलाई यथास्थितिमा पारित गर्दा दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने बताउनुभएको थियो । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा धेरै कमीकमजोरी रहेको बताउनुभयो । उहाँले अंगीकृत नागरिकताको प्रावधान गलत भएको बताउनुभयो । उहाँले अंगीकृत नागरिकता दिन समय अवधि तोकिनुपर्ने पनि बताउनुभयो ।

उहाँले विधेयक लैंगिक समानताको दृष्टिले पनि बेठिक रहेको उल्लेख गर्नुभयो । आमाको नाममा नागरिकता दिन स्वघोषणाको शर्त राखेर नारीको आत्मसम्मानमाथि प्रहार गरिएकाले सो कुरा स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

त्यस्तै, राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नागरिकता विधेयकलाई रोक्न नहुने तर धेरै बुँदाहरूलाई सच्याएर मात्रै पारित गर्नुपर्ने बताउनुभयो । उहाँले यस विधेयकमा सरकार संवेदनशील हुन नसकेको उल्लेख गर्नुभयो । यस्तै, बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य विमला घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सुझावलाई समेटेर नागरिकता विधेयक पारित गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले जस्ताको त्यस्तै पास गर्छु भनेर दम्भ देखाएकोप्रति आफूहरूको गम्भीर असहमति रहेको बताउनुभयो ।

त्यसैगरी, राष्ट्रियसभाकी सांसद डा. विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसद्बाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महसुस भएको बताउनुभयो । नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताउनुभयो । उहाँले राष्ट्र अध्यक्षले विधेयकमा ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरू धेरै पक्षमा अध्ययन र पुनर्विचार गर्ने भनेर विधेयक संसद्मा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने बताउनुभयो । सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको बताउनुभयो । उहाँले यो विषयलाई देशले कसरी हेर्छ थाहा नभएको भन्दै राष्ट्रपति कुर्सीको अपमान भएको दाबी गर्नुभयो । सांंसद राईले राष्ट्रियसभामा जस्ताको तस्तै पेश भएको नागरिकता विधेयकमा सत्ता गठबन्धनको अहंकार र घमण्ड नै बोलेको जिकिर गर्नुभयो । उहाँले विधेयक जस्ताको त्यस्तै पठाउँछु भन्ने घमण्ड दलका नेताहरूको घमण्डले गर्दा सांसद्हरू पनि त्यही घमण्डमा फसेको बताउनुभयो ।

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसद्मा जस्ताको त्यस्तै पेश गर्ने विषयमा संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले संसद्का सभामुखहरू क्लबका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय ग¥यो त्यही हुने गरेको बताउनुभयो ।

त्यस्तै, नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गरिनुपर्ने बताउनुभयो । उहाँले विधेयकमाथि आफ्नो पार्टीको फरक मत रहेको उल्लेख गर्दै फरक मतलाई पनि सम्बोधन गरिनुपर्ने बताउनुभयो । उहाँले विधेयकलाई सहमतिको दस्तावेजको रूपमा पारित गरिनुपर्ने बताउनुभयो । सांसद दाहालले विधेयकलाई विधायन व्यवस्थापन समितिमा बहुमतले पारित गरेको उल्लेख गर्दै समितिमा पनि आफूहरूले गम्भीर असहमति राखेको स्पष्ट पार्नुभयो । उहाँले नागरिकता विधेयकमाथि सत्ता पक्षले भोटको राजनीति गरेको आरोप लगाउनुभयो । सांसद दाहालले सत्तारूढ गठबन्धनले राष्ट्रियतामाथि खेलवाड गरेको बताउनुभयो ।

त्यस्तै, राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले वैवाहिक अंगीकृतलाई नागरिकता दिनेबित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको भन्दै यो दुःखद रहेको बताउनुभयो । बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उहाँले नेपालमा अवसरको अभावको कारण देखाउँदै अहिले भारतीयहरू नेपालीलाई छोरी दिन नै नमान्ने समस्या रहेको बताउनुभयो । धेरै नेपाली भारतमा बसेका छन् कि धेरै भारतीय नेपालमा बसेका छन् भन्ने संख्या निकाल्नेबित्तिकै सबै प्रष्ट हुनेसमेत उहाँको भनाइ थियो ।

‘झुठो राष्ट्रवादको कुरालाई लिएर हामीले यो अत्यन्त महत्वपूर्ण विषयलाई थाँती राखेका थियौँ,’ खालिलले प्रश्न गर्दै भन्नुभयो, ‘अंगीकृत महिलालाई नागरिकता दिनु के नेपालमा नौलो कुरा हो ? के पहिला दिएका छैनौँ ?’ जवाफमा उहाले भन्नुभयो, ‘पहिला पनि दिएका छौँ ।’
राष्ट्रियसभाको अर्को बैठक आज (शुक्रबार) तीन बजे पुनः बस्दै छ । आज बस्ने बैठकले विधेयक पारित गर्ने तयारी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?