राष्ट्रिय विभूति : सम्मानपूर्वक विचार गर्नुपर्ने हो कि ?

हिमालय टाइम्स
Read Time = 14 mins
A A- A+

✍️ प्रा.डा.तीर्थप्रसाद मिश्र

विसं २०७९ असार ६ गते नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गर्‍यो तर यस समाचारले उल्लेख्य प्रतिक्रिया पाएन । यस विषयमा खासै चासो, उत्साह, प्रतिक्रिया, समर्थन अथवा विरोधका स्वर गुञ्जिएनन् । राजनीतिक घटनाको विश्लेषण तथा ताली र गालीमा मात्र रमाउने छापाहरूले पनि यस विषयलाई अपेक्षित महत्व दिएनन् । बझाङी राजा जयपृथ्वीबहादुर सिंह (श्री ३ जंगबहादुरका छोरीका छोरा नाति तथा श्री ३ चन्द्रशमशेरका छोरीज्वाइँ) को जन्म ७ भदौ १९३४ मा बझाङको चैनपुरमा भएको थियो । आश्रित राज्यका रूपमा रहन स्वीकार गरेका कारण बझाङका राजालाई मानार्थ राजा दिने प्रचलन बहादुर शाहको नायवी कालदेखि नै चलेको थियो ।

बझाङका राजपरिवारसँग कालान्तरमा राणा र शाह शासकहरूसँग बिहेबारी सम्बन्धका कारण पनि यो परम्परा चल्दै थियो । पहिले धेरै राजा भएकोमा राजारजौटा उन्मुलन हुँदा पनि बझाङ, जाजरकोट, सल्यान र मुस्ताङमा पूर्ववर्ती शासकका सन्तानलाई राजा दिने प्रचलनले निरन्तरता पायो । अब त यो प्रथा खारेज भएकाले यो विषय इतिहासको विषय बन्न पुगेको छ । जयपृथ्वीबहादुर सिंह राणा शासककै नातेदार भएबाट मात्र चर्चित भएका थिएनन् । उनी एक सिद्धहस्त लेखक, मानवताका हिमायती, शान्तिका दूत, शिक्षाप्रेमी, समाज सुधारक, कुशल पत्रकार, सक्षम कूटनीतिज्ञ तथा स्वाभिमानी व्यक्ति थिए ।

नेपाललाई विश्व समुदायमा चिनाउने व्यक्ति सिंहले आफ्नै ससुरा चन्द्रशमशेरसँग पनि आत्मसम्मान र आत्मविश्वासका कारण टक्कर लिए । मानवताका सरल पात्र जयपृथ्वीबहादुर सिंहको बहुआयामिक व्यक्तित्वका विषयमा चर्चा गर्ने उद्देश्य यस आलेखको नभएकाले उनको विस्तृत परिचय र योगदानतर्फ लागिएन तर यस्ता ऐतिहासिक व्यक्तित्वलाई राष्ट्रिय विभूतिको सम्मान घोषणा गर्दा स्वयं सरकार नै सम्मानित हुन पुगेको छ । यस सम्मानबाट उत्साहित भई नेपालका राष्ट्रिय विभूतिका विषयमा चिन्तन गर्नु नै यस लेखको उद्देश्य हो ।

श्री ५ महेन्द्रको राज्यकालमा पहिलो पटक मरणोपरान्त राष्ट्रिय विभूति सम्मान प्रदान गर्न सुझाव दिनेगरी बालकृष्ण समको अध्यक्षतामा एक समिति गठन भयो । उक्त समितिको सुझावका आधारमा १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गरियो ।

मुलुकमा उल्लेख्य योगदान गरेका व्यक्तित्वलाई मरणोपरान्त सम्मान गर्ने परिपाटी विश्वका विभिन्न राष्ट्रले अनुसरण गर्दै आएका दृष्टान्त पाइन्छन् । इतिहासको कालखण्डमा विविध क्षेत्रमा उल्लेखनीय र प्रशंसनीय कार्य गर्ने व्यक्तित्वलाई सम्मान गर्नु समाजको सुन्दर पक्ष पनि हो । यस्ता महामानवप्रति सदैव स्मरण गरी भावी पुस्तालाई पनि उनीहरूको योगदान बलिदान आदिको परिचय गराउन पनि यो परम्परा उपयुक्त मानिन्छ । हाम्रो देश नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो । यस देशको गरिमा बढाउन विभिन्न व्यक्तित्वले योगदान गरेका छन् । त्यस्ता व्यक्तित्वको कार्यको स्मरण गर्नैपर्ने हुन्छ ।

श्री ५ महेन्द्रको राज्यकालमा पहिलो पटक मरणोपरान्त राष्ट्रिय विभूति सम्मान प्रदान गर्न सुझाव दिने गरी बालकृष्ण समको अध्यक्षतामा एक समिति गठन भयो । उक्त समितिको सुझावका आधारमा १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गरियो । यसरी विभूति घोषणा गर्दा देशको रक्षाका लागि बलिदानी गर्ने, बहादुरी प्रदर्शन गर्ने व्यक्तिका साथै आर्थिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा प्रशंसनीय कार्य गर्ने, प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने र विदेशमा नेपालको छवि उजिल्याउने व्यक्तित्वहरू समावेश गरिएको टिप्पणी आएको थियो । ती १३ जना राष्ट्रिय विभूतिमा गौतम बुद्ध, जनक, सीता, अंशुबर्मा, अरनिको, रामशाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, भानुभक्त आचार्य, बलभद्र कुँवर, मोतीराम भट्ट तथा त्रिभुवन थिए ।

यसका अतिरिक्त विसं २०५६ मा शंखधर साख्वा, २०५९ मा पासाङ ल्हामु शेर्पा २०६६ मा महागुरु फाल्गुनन्द, २०७८ मा भक्तिथापा र २०७९ मा जयपृथ्वीबहादुर सिंह गरी हाल १८ जना राष्ट्रिय विभूति घोषणा गरिएको छ । राष्ट्रिय विभूतिका रूपमा कस्ता-कस्ता व्यक्तित्वलाई सम्मान भयो त भन्ने विषयमा समीक्षा गर्न सान्दर्भिक र समय सापेक्ष नै होला । यी १८ जना राष्ट्रिय विभूतिमध्ये जनक, अंशुवर्मा, रामशाह, पृथ्वीनारायण शाह तथा त्रिभुवन गरी पाँचजना राजाहरू समावेश भएका छन् । पौराणिक कालका जनक, लिच्छवि कालका अंशुवर्मा तथा शाहकालका रामशाह, पृथ्वीनारायण शाह र त्रिभुवन नेपालको राष्ट्रिय विभूति बनेका छन् ।

यिनको योगदान नभएको त होइन तर किन अन्य उल्लेख्य योगदान गरेका राजा छैनन् त भन्ने प्रश्न टड्कारै र ठूलै स्वरमा सुनिन थालेको छ । राजा जनकका विषयमा अनुश्रुतिबाहेक अन्य कुनै प्रमाण छैन । लिच्छवि कालका अंशुवर्मालाई महत्व दिँदा मानदेव, नरेन्द्रदेव र उद्धवदेवको अवमूल्यन भएन र ? मध्यकालीन काठमाडौं उपत्यका खसिया मल्लका बाइसी चौबीसी कुनै पनि राजा किन परेनन् ? काठमाडौं उपत्यकाका सिद्धिनरसिंह मल्ल, यक्ष मल्ल, प्रताप मल्ल तथा भूपतिन्द्र मल्ल जस्ता राजाहरूको कार्य र योगदान नभएकै हो त ? खसिया मल्लमा पुण्य मल्ल, पृथ्वी मल्ल, जितारी मल्ल, कर्नाटक वंशी नान्यदेव तथा पाल्पाली राजा मुकुन्द सेन पनि बिर्सनै नहुने राजाहरू हुन् ।

यस्ता अहम् सबाललाई नजरअन्दाज गर्न सकिँदैन । प्रधानमन्त्रीमा किन भीमसेन थापा मात्र परे ? जंगबहादुर, चन्द्रशमशेर, देवशमशेर, पद्मशमशेर, बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई तथा सुशील कोइरालाले मुलुकका लागि गरेका महत्वपूर्ण कार्यको वस्तुनिष्ठ मूल्यांकन भयो त ? भन्ने प्रश्नको समुचित उत्तर पाउन सकिँदैन । नेपालको इतिहासमा सीताको योगदानका विषयमा प्रामाणिक दस्तावेज छैन । भृकुटीले बौद्ध धर्म प्रचारप्रसारमा योगदानमात्र गरेकी होइनन् चीन र तिब्बतसँग नेपालको संस्थागत सम्बन्ध स्थापना गराउने कार्यमा कोसेढुंगाको काम गरेकी थिइन् ।

उनकै कारणले पनि तिब्बतमा नेपालको बलियो उपस्थिति सम्भव भयो । यसरी हेर्दा अरनिकोको योगदानभन्दा भृकुटीको योगदान बीसको उन्नाइस थिएन । राणा कालमा नारी आन्दोलन, जागरण र कूरीतिविरुद्ध आवाज बुलन्द पार्ने योगमायालाई इतिहासले बिर्सिएको हो त ?नेपाल-अंग्रेज युद्धमा बहादुरी देखाउने अमरसिंह थापा, बलभद्र कुँवर तथा भक्ति थापा विभूति घोषणा हुँदा प्रहृलाद गुरुङ किन परेनन् ? भन्ने चर्चा परिचर्चा भएकै हो । लक्ष्मीप्रसाद देवकोटा, नारायणगोपाल, बाबुराम आचार्य तथा नयराज पन्त जस्ता व्यक्तित्व राष्ट्रिय विभूति हुन योग्य छैनन् ? भन्ने कुराको बहस चल्न थालेको छ ।

तत्कालीन राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव विभिन्न क्षेत्रमा पर्दछ । यो तथ्य ध्रुवसत्य हो । तत्कालीन परिस्थिति परिवेश आदिका आधारमा पनि कतिपय महत्वपूर्ण निर्णय लिइन्छ, लिनु पनि पर्छ तर अति राजनीतिकरण भने समाजलाई सुपाच्य हुँदैन ।

तत्कालीन राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव विभिन्न क्षेत्रमा पर्दछ । यो तथ्य ध्रुवसत्य हो । तत्कालीन परिस्थिति परिवेश आदिका आधारमा पनि कतिपय महत्वपूर्ण निर्णय लिइन्छ, लिनु पनि पर्छ तर अति राजनीतिकरण भने समाजलाई सुपाच्य हुँदैन । राष्ट्रिय विभूति घोषणा गर्दा तुष्टीकरणको नीति अवलम्बन गरिनु हुँदैन र पूर्वाग्रह पनि राख्नु हुँदैन । काठमाडौं वा नेवार समुदायले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग र पहल नभएको भए उनी विभूति घोषणा हुने नै थिएनन् । यसै गरी भक्ति थापा स्मृति प्रतिष्ठानको पहल पैरबी र लामो रस्साकस्सी नभएको भए भक्ति थापा राष्ट्रिय विभूति घोषणा हुने स्थिति नै थिएन ।

किरातीहरूले जोडदार माग नउठाएको भए फाल्गुनन्द पनि राष्ट्रिय विभूति घोषणा हुने थिएनन् । यस पृष्ठभूमिलाई हेर्दा जयपृथ्वीबहादुर सिंह पनि कतैबाट भएको पहल र तुष्टीकरण नीतिकै कारण विभूति घोषित भएका हुन सक्छन् । राष्ट्रिय विभूति घोषणा गर्दा लिने तुष्टीकरणको नीतिले मुलुकलाई नै कालान्तरमा प्रत्युत्पादक हुनसक्छ भन्ने हेक्का राख्नु जरुरी छ । प्रस्ट नीति, कार्यविधि र आधारविना नै राष्ट्रिय विभूति घोषणा गर्ने हालको प्रचलनबाट इतिहासका कालखण्डमा सम्बन्धित क्षेत्रमा विशेष योगदान दिएका व्यक्ति समाविष्ट हुन नसक्दा राष्ट्रिय विभूतिको गरिमा, महिमा र मर्यादामा नै आँच पुग्न गएको टिप्पणी सुन्ने बेला आएको छ ।

राष्ट्रिय विभूति एकपटक घोषणा भइसकेपछि रद्द वा फिर्ता लिने कुरा होइन तर यस्ता दीर्घकालीन प्रभाव पार्ने खालका विषयमा पटके निर्णय र घोषणा गर्न नहुनेतर्फ सचेत हुन जरुरी छ । त्यसैले खास मापदण्ड तयार पारी सोको आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने कार्य प्रारम्भ गरी राष्ट्रिय विभूतिको सम्मान गर्न राष्ट्रिय स्तरमा बहस, अध्ययन र विचार विमर्श अपेक्षित छ । यत्रतत्र सर्वत्र राजनीतिक मुद्दाले सर्वाधिक प्राथमिकता पाउने वर्तमान सन्दर्भमा यो आवाज अरण्य रोदनमात्र हुन सक्छ । अस्तु ।

guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu sapkota.
Bishnu sapkota.
2022-09-02 10:43 am

राष्ट्रिय बिभुतिको बिषयमा चिन्तन गरि तयार पारिएको याे आलेखले एक सकारात्मक सन्देश तथा सबैलाई महत्त्वपूर्ण सुझाव दिइएको छ।यसकाे पालन गर्नु सबै पक्षले अवस्यक देखिन्छ यसर्थ यो विषयमा रास्ट्रले बिचार पुर्याउनु अवस्यक देखिन्छ ।

Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-09-02 11:52 am

सरका लेखहरू ज्ञानबर्धक हुन्छन्। विभूति र शहीद जथाभावी घोषणा गरिएको प्रतिको चिन्ता व्यक्त गरिएको यो लेख पठनीय छ ।

मुररिविनोद पोखरेल
मुररिविनोद पोखरेल
2022-09-02 3:11 pm

महत्वपूर्ण विषयवस्तुमा अत्यन्त गहिरो ध्यान पुर्याउनु पर्ने- सटिक लेख !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?