सिट बाँडफाँटमा गठबन्धनभित्र असहमति छैनः अध्यक्ष दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गर्नुभएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताउनु भयो । उहाँले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताउनु भयो । उहाँले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनमा हामी सिट संख्या करिव सहमतिको नजिक पुर्‍याएर एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम गरिँदैछ । आज दिनभरको काम सकिएपछि भोलि बैठक बसेर हामीले क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर हामी हिजो उठेका छौँ । चुनावका लागि हामी भेला, सामान्य बैठक गरेर अघि बढेका छौँ । हिजो हामी सहमतिको निकट पुगेका छौँ । गठबन्धन भित्र असहमतिको कुनै स्थिति छैन । त्यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर मात्रै छलफल केन्द्रित छ । हामीले अहिले एउटा के मान्यता बनाउन प्रयास गरिरहेका छौँ भने संघको एउटाले लियो भने अर्कोलाई प्रदेशको गरेर भोट ट्रान्सफर हुने वातावरण बनाउने भन्ने छ । त्यसो गर्दा १६५ वटा नै निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश जुन छन्, तिनको मिलाउँदा सन्तुलन मिलाएर जाने भन्ने हो । हामीले उस्तै परे हाम्रो प्रभाव भएका सबै हामीले एक्लै जित्ने ठाउँमा पनि अन्य पार्टीलाई प्रदेशमा समायोजन गरेर लैजाने तिर नै हाम्रो जोड छ ।’

अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभयो । नेकपा एमालका उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरुले नसोध्दा राम्रो ।’

अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक संघमा पनि र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस् भन्ने चाहन्छौँ । कर्णालीमा सन्तुलित तालमेल रहन्छ । आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति पनि र गठबन्धनलाई जारी राख्ने स्थिति पनि माओवादीले गर्छ ।’

अध्यक्ष दाहालले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?