प्रधानमन्त्री र शिक्षामन्त्री त्रिविको समस्या समाधान गर्न नलागेको सांसदहरुको आरोप

Read Time = 6 mins

काठमाडौं ।  नेकपा (एमाले) का सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेका बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताउनु भयो ।
नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्ने लगायतका कामहरु गरिरहेको भन्दै उहाँले दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको बताउनु भयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पु¥याउन खोजिएको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आज सम्पूर्ण त्रिभूवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित भएका छन् । फोन अफ गरेका छन् । घरमा सुत्न नसक्ने अवस्था भयो डरले । छिमेकीकोमा गएर सुत्नुपर्ने अवस्था आएको छ । यस्तो दुरावस्था विश्वविद्यालयभित्र छ । सभामुखलाई पुनः ध्यानाकर्षण गराउन चाहन्छु, सभामुखले १३ गते सरकारको नाममा रुलिङ गर्नुभयो तुरुन्त विश्वविद्यालय खोल्न आवश्यक व्यवस्था मिलाउनु भनेर रुलिङ गर्नुभयो । तर सरकारका प्रमुख प्रधानमन्त्री त्रिभूवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यू, सहकुलपति शिक्षामन्त्रीज्यू उहाँहरु आज विश्वविद्यालय खुलाउनतर्फ लाग्नुभएको छैन । बरु स्वयम सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्रीज्यू आज त्यही प्रहरी प्रशासन नेविसंघले लगाएको ताला हेरेर बसिरहेको छ । त्यसको सुरक्षा गरिरहेको छ । तर विश्वविद्यालयका पदाधिकारीहरु विश्वविद्यालय आउनसक्ने अवस्था छैन । यसतर्फ फेरि म ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्री, शिक्षामन्त्रीनै स्वयम विश्वविद्यालयलाई बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोज्नुभएको हो ? विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पु¥याउन खोज्नुभएको हो ? यो धेरै गम्भिर विषय छ । यसतर्फ पुनः रुलिङ होस् ।’

त्यस्तै समय माग गरी बोल्दै नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनु भयो । उहाँले श्रीमान र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो । त्यस्तै उहाँले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनि सरकारलाई प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘दोलखा गौरीशंकर गाउँपालिका वडा नं. ९ मा बाढी पहिरोले क्षति पु¥याएको छ । बाढीपहिरो पीडितलाई सहयोग उपलब्ध गराइयोस् । जोखिमका परिवारलाई अन्त सारेर सुरक्षित ठाउँमा सार्न म माग गर्दछु । म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु । श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान, श्रीमती दुवै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकताहरुले टिकट नपाउने र त्याग तपस्यालाई सधै समस्या परिरहने । निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान र श्रीमती दुईटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ ।’

समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीहरु धमाधम पक्राउ परिरहेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मिटरब्याजीहरुको मुद्दालाई कमजोर नबनाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले मिटरब्याजीहरुलाई कारबाही गर्ने सम्बन्धमा केही कानूनी अड्चन पनि देखिएको भन्दै सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?