अफताव आलमलाई कांग्रेसले सांसदको उम्मेदवार नबनाउने गगन थापाको दाबी

Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ ।

शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवारी नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरु पार्टीबाट नहुने बताउनु भयो ।
उहाँले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गर्नुभयो । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने नर्णय आफूआवद्ध हुँदासम्म पार्टीबाट नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नायनराज दाईले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु ।’

महामन्त्री थापाले नियम र कानूनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?