पहिलो शास्त्रीय बहरबद्ध गजल एल्बम सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । गजलकार घनेन्द्र ओझाका रचनाहरू र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गजल पहिलो शास्त्रीय बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ । १५७ औं मोतीजयन्तीको अवसरमा अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो । नेपाली गजल संगीतमा आउने क्रम क्रमशः बढिरहेको बताउँदै गजलकार करुण थापाले लामो समयदेखि गजललेखन, अभियान र समालोचनामा सक्रिय घनेन्द्रले बहरका मात्र गजलहरूको एल्बम तयार पारेर नेपाली गजलका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउनुभयो । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय सन्तोष श्रेष्ठको संगीत भर्ने कला प्रशंसनीय रहेको थापाको भनाइ थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल र पूर्वमुख्यसचिव एवं साहित्यकार डा. भोजराज घिमिरेले गजल एल्बमका बारेमा खुलेर चर्चा गर्नुभयो । प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले नेपाली गजल गायनको शैली, नेपाली गजल संगीतको शैली नेपालीकरण भइरहेको र सोहीअनुसार पछिल्लो समय नेपाली गजलमा संगीत भरिँदै आएको जिकिर गर्नुभयो । यस एल्बमका रचनामा संगीतकार श्रेष्ठले नेपाली शैलीकै अर्धशास्त्रीय शैलीमा सुन्दर संगीत भरेको डा. बरालको भनाइ थियो ।

नेपाली गजल संगीतका क्षेत्रमा बहरमा मात्र लेखिएका गजलहरूको एल्बम हालसम्म नपाइएको र शास्त्रीय बहरबद्ध गजलहरूलाई एल्बमकै रूपमा ल्याउनु राम्रो हुने ठानेर एल्बमका गजलहरूमा संगीत भर्नुभएको संगीतकार श्रेष्ठले बताउनुभयो ।

गजलकार रूपक अलंकारले संगीतमा आएपछिको गजलको स्वाद नै भिन्न हुनेरहेछ भन्दै घनेन्द्रका गजलले सन्तोषको संगीत मिसिएपछि बल्ल प्राण पाएको बताउनुभयो ।

एल्बममा नेपाली गायनका चार पुस्ता समेट्ने प्रयास सफल भएको घनेन्द्र ओझाले जानकारी गराउनुभयो । ‘हामीले शास्त्रीय बहरबद्ध गजलहरूको एल्बमको अभाव त देख्यौं नै, त्यससँगै एउटै एल्बममा, त्यो पनि गजलमा नेपाली गायनका चार पुस्ता जोड्ने सोच बनाएर यो काम गरेका हौं,’ उहाँले भन्नुभयो ।

एल्बममा पहिलो पुस्ताबाट ज्ञानु राणा, दोस्रो पुस्ताबाट आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीको स्वर समेटिएको छ ।

गजलकार राधा कँडेलको स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रमको सहजीकरण ज्ञानु विद्रोहीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?