Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

वृद्ध अवस्था, शल्यक्रिया र परामर्श

हिमालय टाइम्स
Read Time = 8 mins
A A- A+

✍️ प्रा.डा. अर्जुनदेव भट्ट
विषय प्रारम्भ
वर्तमान समयमा संसारभरि नै ६५ वर्ष नाघेका जनसंख्याको चाप बढ्दैछ । नेपालमा पनि यो उमेर नाघेका जनताको प्रतिशत वृद्धि हुँदै जानु स्वाभाविक प्रक्रिया हो ।

६५ वर्ष नाघेकाहरूबीच मुटु, नशा, हड्डी, टाउको प्रजनन् अंग, मूत्रथैली, मिर्गाैला, आन्द्रा, आमाशय, आँखाजस्ता विभिन्न अंगमा शल्यक्रिया गर्नुपर्ने अवस्था प्रायः आउन सक्छ । यस्तो अवस्थामा शल्यक्रियाको विधिबाट उपचार गर्न वृद्ध शरीर कति सक्षम छ ? त्यो उमेरमा मात्र भर पर्दैन । यो उमेरमा प्रवेश गर्दा अरू रोगव्यथा केकेले शरीरमा कस्तो असर पारेको छ ? त्यो सबै अवस्थालाई समेत ध्यान दिनुपर्ने हुन्छ ।
रक्तचाप, मधुमेह, पिसाब चुहिने समस्या, बाथ, कब्जियत, मिर्गाैलाको कार्यक्षमतामा ह्रासजस्ता विभिन्न रोगहरूले वृद्ध शरीरको शल्यक्रिया वहन गर्नसक्ने क्षमतामा असर गर्न सक्छ । उमेरको तिथिमितिसँगै साथमा भएका अरू रोगव्यथाले थपेको शारीरिक कमजोरीलाई पूर्णरूपमा ध्यान दिनुपर्दछ । एउटै व्यक्तिमा दुई वा त्योभन्दा बढी रोगहरू विद्यमान छन् भने अझै धेरै मात्रामा शरीरको कमजोरी बढ्दछ ।

उमेर र विद्यमान रोगहरूले शारीरिक क्रिया र त्यसको सम्पूर्ण क्षमतालाई घटाउने भएकाले शल्यक्रियाको तयारी गर्दा त्यो तथ्यलाई दृष्टिगत गर्नुपर्दछ । शल्यक्रियाको समयमा पूरै बेहोस तुल्याउने वा अप्रेशन भइरहेको ठाउँ वा वरिपरिमात्र नदुख्ने गर्ने तरिका र औषधिमा ज्यादै उन्नति भएकाले पनि अगाडिको जस्तो शल्यक्रियादेखि ज्यादै डराउनुपर्ने अवस्था हाललाई छैन । वर्तमान समयमा निकै आधुनिक औजारबाट शल्यक्रिया गरिने भएकाले ठूलै र जटिल अप्रेशन पनि वृद्ध र विभिन्न रोगबाट पीडित व्यक्तिमा पनि सम्भव भएको छ ।

बिरामीको सहयोगको ठूलो खाँचो
शल्यक्रियाबाट उपचार गराउनु भनेको नै ठूलो जोखिम लिएर ठूलै स्वास्थ्यलाभ लिन खोज्नु हो । शल्यक्रिया जुनसुकै उमेरमा गरे पनि केही हदसम्म जोखिम मोल्नै पर्दछ । शल्यक्रियाको सफलतातिर अग्रसर हुन र खतरा न्यून गर्न बिरामी स्वयं, उसका नातेदार र सहयोगीले ठूलो योगदान पुर्‍याउनुपर्दछ ।

सर्वप्रथम शल्यक्रियाको खतरा न्यून गर्न र बाँकी जीवनलाई रोगमुक्त बनाउन बिरामी र उसका नातेदार वा सहयोगीहरूले नगरिनहुने अप्रेशनलाई जतिसक्दो बेलैमा गराएर ठूलो फाइदा लिन सक्दछन् । वृद्ध अवस्थामा ज्वरो आउने र जिउ दुख्नेजस्ता लक्षणहरू भइरहने हुँदा र जनमानसमा ‘अब डाँडामाथिको घाम भइसकियो, किन बेकारमा सद्दे ज्यानमाथि हतियार चलाउन लगाउनु ∕’ भन्नेजस्ता धारणा हुन्छन् । तर, रहँदाबस्दा रोगले निकै च्यापेपछि मात्र ‘अब त अप्रेशन नगराइभएन...’ भन्ने निर्णय लिने परम्परा भएको हुँदा यस्तो अवस्थामा शल्यक्रिया गर्दा उच्च जोखिमको सामना गर्नुपर्ने हुन्छ । यसले बिरामी र चिकित्सक दुवैलाई बढी अप्ठेरोमा पार्ने गर्दछ । अतः रोगको प्रारम्भिक अवस्थामै शल्यक्रिया गराएमा बिरामी र चिकित्सक दुवैलाई सहज हुन्छ । त्यसैले बिरामीका आफन्तहरूले पनि शल्यक्रिया नगराइनहुने बिरामीलाई शल्यक्रिया गर्नका निम्ति सल्लाह दिनुपर्दछ । यदि बेलैमा शल्यक्रिया गराउनेबारे विवेकपूर्ण निर्णय लिएमा रोगलाई नाजुक अवस्थातिर धकेल्नबाट बचाउन सकिन्छ ।

बिरामीका तर्फबाट सहयोग पुग्न सक्ने अर्को कुरा के छ भने वृद्ध रोगीले हाल यो यो औषधि यो यो रोगका निम्ति यस मितिदेखि सेवन गर्दै आएको छु भनेर चिकित्सकसमक्ष सविस्तार भनेमा अप्रेशनको तयारी गर्दा शल्यक्रियाको समयमा र त्यसपछि पनि कुन कुन औषधि दिने भन्ने निर्णय गर्न आधार तय हुन्छ । त्योबाहेक शल्यक्रिया जेको निम्ति गरिने हो, त्योभन्दा अरू जीर्ण रोगहरूको पनि उचित हेरचाह हुन्छ । खास गरेर उच्च रक्तचापमा प्रयोग गरिएका औषधिहरू शल्यक्रिया गरिने दिनमा पनि समयमै नछुटाइखानुपर्ने हुन्छ । मधुमेहको रोगीका लागि भने कैयौं दिनअघिदेखि नै औषधिमा हेरफेर गर्नुपर्नेसमेत हुन्छ ।

हाल धेरै बिरामीहरूले रगत पातलो पार्ने औषधि वर्षौंदेखि सेवन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्दा थप रक्तश्राव हुने डर हुन्छ र केही दिनअगावै यस्ता औषधिको सेवनमा निषेध लगाइन्छ । त्यसपछि पनि रगतको पातलोपनमा कति फरक आयो ? भनेर हेर्नुपर्दछ । त्यसैले यस्ता औषधि सेवन गरिरहेका मानसिक सन्तुलनका लागि औषधिउपचार गरिरहेको हुन सक्दछ । यसबारे पनि संकोच नमानी सबै कुरा भन्नुपर्दछ । निद्रा नलाग्ने, दिसामा कब्जियत हुने, कुनै औषधि सेवन गर्नुअघि शरीरमा रातो बिमिरा वा डाबर आउने, चिलाउने भएको भए यस्तो कुरा भन्नलाई बिर्सनुहुँदैन । कुनै औषधिले कब्जियतमा आफूलाई फाइदा गर्दैन, त्यो पनि समयमै भन्नुपर्दछ ।

अन्त्यमा शल्यक्रिया गराउने वृद्ध व्यक्ति, उसका सहयोगी र उपचारमा संलग्न विभिन्न व्यक्तिहरू र शल्यचिकित्सकबीच प्रष्टरूपमा रोग, अप्रेशनको खाका, त्यसबाट हुनसक्ने फाइदा–बेफाइदा र आशा राख्न सकिने सफलता इत्यादिबारे परामर्श हुनुुपर्दछ । ‘यो शल्यक्रिया पूर्ण सफल हुन्छ र यसबाट शरीरमा भएको सम्पूर्ण रोगको उन्मूलन हुन्छ’ भन्नेजस्ता पुरानो र सस्तो खालको सोचाइ राख्नुहुन्न । क्रमशः (वरिष्ठ युरोलोजिस्ट प्रा.डा. भट्टको बहुउपयोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?