सद्गुरुको माटो जोगाऔं अभियानमा सरकारको ऐकवद्धता (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 8 mins

ललितपुर । नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले पाँच महिना अघि सुरु गर्नुभएको माटो जोगाऔं अभियानमा ऐकवद्धता जनाएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा सो ऐकवद्धता जनाइएको हो । सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले एकवद्धता जनाएका हुन् ।

नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोला नाला वरपर ३० हजार रुख रोप्ने घोषणा गर्नुभयो । मन्त्री यादवले सद्गुरुले एक सय दिन लगाएर तीस हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गर्नुभएकोले तीसै हजार रुख रोपिने बताउनुभयो ।

कार्यक्रममा सद्गुरुले वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई माटो बचाउ नीति पुस्तिका हस्तान्तरण गर्नुभयो । पुस्तिकाले व्यावहारिक एवम् वैज्ञानिक समाधान प्रदान गर्नुको साथै सरकारले माटोको प्रकार, अक्षांश स्थानहरू र दिइएको राष्ट्रको कृषि परम्परा अनुसार लिनसक्ने कदमको बारेमा जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा सम्बोधन गर्दै सद्गुरुले हामी जानेर वा नजानी यस विनाशको एक हिस्सा भएको र अबको बाटो भनेको सबैले समाधानको एक हिस्सा बन्नु पर्नेमा जोड दिनुभयो । माटोको विनासलाई सम्बोधन गर्न एकजुट हुन पनि सद्गुरुले सबैलाई आह्वान गर्नुभयो ।

लोकतान्त्रिक राष्ट्रहरूले जनताको जनादेश पूरा गर्ने गरेको उल्लेख गर्दै सद्गुरुले श्रोताहरूलाई माटो बचाउने दीर्घकालीन समाधानका बारेमा बोल्न आग्रह गर्नुभयो । ‘कुनै पनि परिपक्व राष्ट्रका नागरिकहरू उठेर आफ्नो देशको दिर्घकालिन हित माग्ने बेला आएको छ । यदि सरकारहरूले राष्ट्रको दिर्घकालिन हितमा लगानी गर्ने हो भने तपाईंको आवाज उठ्नु अति आवश्यक छ । तपाईंको जिम्मेवारी भोट मात्र होइन, तपाईंको जिम्मेवारी तपाईंको आवाज हो,’ सद्गुरुले भन्नुभयो ।

सामाजिक सञ्जालको अथाह शक्तिको चित्रण गर्दै उहाँले, ‘आज सौभाग्यवश प्रविधि र सामाजिक सञ्जालका कारण घरमै बसेर आवाज उठाउन सकिन्छ । घरमै बसेर, यदि तपाईं साँच्चै प्रतिबद्ध हुनुहुन्छ भने, तपाईंहरूमध्ये एकजनाले मात्रै सारा संसारमा पहुँच गर्न सक्नुहुन्छ।’

सेभ सोइल अर्थात् माटो जोगाऔं अभियान बेलायतबाट सन् २०२२, २१ मार्चमा सुरु गरिएको हो । यो अभियान अन्तर्गत सद्गुरुले एक सय दिन लगाएर ३० हजार किलोमिटर लामो एकल मोटरसाइकल यात्रा गर्नुभएको थियो । सो अवसरमा सद्गुरुले माटो विनाशबारे विश्वभरी जनचेतना जगाउने र माटो जोगाउन विश्वको ध्यानाकर्षण गराउनुभएको थियो । इसा फाउन्डेसनका अनुसार यो अभियानले विश्वभरीका झण्डै चार अर्ब मानिसको समर्थन पाएको छ भने ८० राष्ट्रहरुले माटो जोगाउ उचित कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

विश्व स्तरमा राजनीतिक, व्यावसायिक, सामाजिक, पर्यावरणीय क्षेत्रका व्यक्तित्व, तथा प्रसिद्ध कलाकारहरू, खेलकुदकर्मीहरू, तथा नागरिकहरूको समर्थन र प्रोत्साहन रहेको यस महाअभियानलाई नेपालमा समेत भव्य साथ र समर्थनहरू प्राप्त भइरहेको छ ।

अभियान अन्तर्गत नेपालका करिब एक सय शैक्षिक संस्थाहरूमा माटो जोगाउनुपर्ने जनचेतनामुलक कार्यक्रम गरियो । बसन्तपुर दरबार क्षेत्रमा नृत्य तथा साङ्गीतिक प्रस्तुति, विश्व वातावरण दिवसको अवसरमा ‘माटो जोगाऔं भन्ने साइकल र्यालि’ तथा ‘माटो र म’ संवाद कार्यक्रम सम्पन्न भए ।

माटो जोगाऔँ अभियानले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?