अव्यवस्थित पार्किङले अस्तव्यस्त सिंहदरबार परिसर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सिंहदरबार देशको प्रमुख प्रशासनिक निकाय हो । देशको प्रमुख प्रशासनिक निकाय भएर पनि यहाँको पार्किङ अस्तव्यस्त छ । अव्यवस्थित पार्किङले यो क्षेत्र कुरूप बनेको छ । यसतर्फ सरोकारवालाले चासो देखाएका छैनन् । कर्मचारी र बाहिरबाट आउने व्यक्तिहरूले आफ्नो हिसाबमा पार्किङ गर्दा पैदलयात्रीले भने हैरानी व्यहोर्नु परेको छ । सिंहदरबारको पूर्वी ढोका र दक्षिण ढोकाबाट मान्छेहरू आउने र जाने गरेको देखिन्छ । यहाँका अधिकांश मन्त्रालयमा सवारी पार्किङ गर्नै समस्या छ । पार्किङ भए पनि त्यो सानो हुँदा कर्मचारीकै सवारीसाधनले भरिने गरेका छन् ।

सरकारी कार्यालयमा सेवा लिन आएकाहरूले सडकमै सवारीसाधन पार्किङ गरिदिँदा पैदल यात्री हिँड्ने सडकपेटी भने हराउँदै गएको छ । सबैभन्दा बढी सकस त दृष्टिविहीनहरूले भोगिरहेका छन् । सिंहदरबारभित्रका मन्त्रालयहरूमा विशेष कामले आउने आगान्तुकहरूले मन्त्रालय अगाडिका पेटीहरूमा जथाभावी गाडी पार्किङ गर्नुको विकल्प छैन । ट्राफिक प्रहरीले सिंहदरबारभित्र यस्ता अव्यस्थित पार्किङ गर्नेलाई अहिलेसम्म चिट नकाटेको जनाएको छ । अर्को तर्फ कारबाही गरिहाले पनि यहाँ आउने व्यक्ति उच्च तहको हुने र सम्बन्धित मनत्रालयबाट फोन आउने गरेको स्वयं ट्राफिक प्रहरीकै गुनासो छ । जसले गर्दा पनि दिनहुँ यो क्षेत्र अस्तव्यस्त बन्दै गइरहेको हो ।

केपी ओली सरकारले सिंहदरबार परिसरभित्रको सवारी पार्किङ व्यवस्थित गर्न चासो देखाएको थियो । तर, पनि अवस्थामा कुनै परिवर्तन आएको छैन । सरकारी कार्यालयमा सेवा लिन आउने/नागरिकले यस्तो सास्ती भोगेको निकै समय भइसक्यो । तर, न सरकारले यो समस्या देखेजस्तो गर्छ, न त सीमित क्षेत्रफलमा लगभग भवन मात्रै ठड्याइएका सम्बन्धित कार्यालयका अधिकारीहरूले यो समस्या तत्कालै समाधान गर्न सक्छन् । आफू चढेर आएको सवारीसाधन सडकपेटीमा पार्किङ गरिरहँदा धेरै सेवाग्राहीलाई आफूले ‘अपराध गरेको’ बोध पनि हुन्छ । तर, सरकारी कार्यालयभित्र पार्किङ गर्ने ठाउँ नहुँदा सेवाग्राहीहरू बाध्यतापूर्वक नै यस्तो ‘अपराध’ गर्न बाध्य भएको बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?