पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता

हिमालय टाइम्स
Read Time = 11 mins
A A- A+

-राजेन्द्र भट्ट

महेन्द्रनगर । ‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या। मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफ्या’। यो देउडा गीतको एक पंक्ति हो। जसमा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यको मौलिक भाकामा बखान गरिएको छ।

देउडाभन्दा हुरुक्क नहुने सुदुरपश्चिमेली विरलै होलान्। सुदूरपश्चिमवासीको महान पर्व गौराको मुख्य आकर्षण नै देउडा हुन्छ। यसको आगमनसँगै सुदूरपश्चिमका पहाड तराईमा देउडाका भाका गुञ्जिन थालेका छन्। उसो त अरु बखत पनि देउडा गाउने गरिन्छ।

पुस्तौंदेखि देउडा खेल्ने र त्यसमा रमाउने धार्मिक तथा साँस्कृतिक परम्पराले केही वर्षयता आफ्नो मौलिकता गुमाउँदै गएको भन्दै देउडाका सर्जक र अध्येतामा चिन्ता छाएको छ। पुस्तान्तरण हुँदै जाँदा र नयाँ पिढीमा पाश्चात्य मोहले मौलिक देउडा चेपुवामा पर्दै गएको अग्रजहरूको भनाइ छ।

संस्कृतिको व्यावसायीकरण

विगतमा मेलापात र पँधेरासँगै गाईवस्तु चरनमा गुञ्जिने देउडाका भाका विस्तारै सुस्ताउँदै गएका छन्। आधुनिकतासँगै प्रविधिको बढ्दो प्रयोगले देउडाको मौलिक पहिचान घट्दै गएको यसका अध्यताको बुझाइ छ। ‘अहिलेको पुस्ताले देउडालाई हल्का रूपमा लिँदै गएका छन्। युवाको आकर्षण पाश्चात्य संगीतप्रति बढी देखिन्छ।’ देउडा अध्यता तथा देउडिया मितबन्धु भन्नुहुन्छ- ‘यसमा पछिल्लो पुस्ताको पनि दोष छ। हामीले सही ढंगले नयाँपुस्तालाई हस्तान्तरण गर्न सकेनौं।’

देउडाको मौलिकतासँगै भाषा संरक्षण हुन नसक्दा यो पाश्चात्य सँस्कृतिको चेपुवामा पर्दै गएको बताउँदै उहाँले थप्नुभयो- ‘संस्कृतिलाई व्यावसायीकरण गर्न थालिएको छ। क्षणिक स्वार्थका निम्ति सांस्कृतिक धरोहरको सारतात्त्विक महत्त्वभन्दा देखावटी रूपमा लिने गरेको पाइन्छ। देउडामा अश्लिलता पनि देखिन थालेको छ। यो नराम्रो पक्ष हो।’

भाषा संरक्षण गर्न पाठ्यक्रम बनाउनु आवश्यक रहेको बताउनु हुँदै देउडा अध्यता तथा देउडिया मितबन्धु भन्नुहुन्छ- ‘भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील संघसंस्थासँगै राज्य पक्षले गम्भीर हुनु आवश्यक छ। प्रतिभालाई पहिचान गरी हौसला र कदर गर्नुपर्छ।’

सञ्चार र सामाजिक सञ्जालले देउडालाई डिजिटाइज गरेर संरक्षणमा टेवा पुर्‍याएको उहाँको जिकिर छ। ‘देउडा जगेर्नामा डिजिटल प्रविधिले टेवा पुर्‍याएको छ। सामाजिक सञ्जालले नयाँ सर्जक र प्रतिभालाई उजागर गरेको छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ। संस्कृतिलाई अश्लिल बनाएर प्रस्तुत गर्नु भएन।’

के हो देउडा ?

यसलाई देउडा अर्थात् डोट्याली लोकवार्ता भनिन्छ। यो सुखदुख पोख्ने माध्यम पनि हो। मूलतस् देउडा गौरा पर्वको प्रमुख आकर्षण मानिन्छ तर देउडा अरु बेला पनि त्यत्तिकै महत्वका साथ गाउने र खेलिने गरिन्छ। देउडामा चालचलन, रहनसहन, इतिहास, पहिचान आदि विषयवस्तु समेटिएका हुन्छन्। जसलाई गीति तथा नृत्यका माध्यमबाट पस्कने गरिन्छ। सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, वर्गीयलगायतका विभेद देउडाद्वारा प्रष्फुटन गर्ने गरिन्छ। पुस्तौदेखि समाजमा चेतना फैलाउने माध्यमका रूपमा रहेको देउडाले अह्म भूमिका निर्वाह गर्दै आएको देउडा अध्यता तथा देउडिया रमेश पन्त ‘मितबन्धु’ बताउनु हुन्छ।

देउडा गौरा पर्वसित जोडिएको साँस्कृतिक धरोहर भएको जिकिर गर्नुहुँदै देउडा अध्यता तथा देउडिया मितबन्धु भन्नुहुन्छ– ‘मुख्यतया देउडा भन्दाखेरि गौरा पर्वको सम्झना आउँछ तर देउडा जातजात्रा तथा अन्य अवसरमा पनि गाउने र खेल्ने गरिन्छ। यो धार्मिकसँगै साँस्कृतिक पर्वसँग जोडिएको डोट्याली लोकवार्ता तथा नृत्य लोकगीत पनि हो।’ देउडा एकल, युगल र सामूहिक रूपमा गाइन्छ। ढुस्को र धमारी देउडाका विधा हुन्।

देउडाका माध्यमबाट राम र कृष्ण गाथा, देवासुर संग्राम र विरगाथा मौलिक शैलीमा वर्णन गर्ने गरिन्छ। देउडामा ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक वर्णनसँगै आर्थिक, सामाजिक, जातीय विभेदका बारेमा समेत वर्णन गरिन्छ। ‘कसैका बासमती भात, कसैका कोद्या नाई, कसैकि हिराको हार, कसैकि पोत्या नाई‘।’ यी देउडाका पंक्तिले समाजमा व्याप्त आर्थिक विभेदको अवस्थालाई चित्रण गरेको छ।

देउडाका माध्यमबाट देशको राजनीतिक अवस्थामाथि पनि व्यङ्ग प्रहार गर्ने गरिन्छ। देउडिया रामदत्त जोशीका यी पंक्तिले त्यही दर्शाउँछ। ‘माओवादीले झरो बाल्यो, मह काट्यो गिरिजाले, एमालेले छोडी खायो, जनता होस् फिरिझा‘।’ देउडिया जोशी रचित यी हरफले माओवादी द्वन्द्वकाल हुँदै देशको क्रमिक राजनीतिक अवस्थाको सेरोफेरो औंल्याएको छ।

देउडामा महिलाका पीडा, विदेशिनुका पीडासँगै प्रेम-प्रणयका कुरा पनि आउने गर्छन्। ‘तति निकि कसरी भएइ रुवसकी खात, हिट्टी कन मेरासङ वाई खाउला दालभात‘।’ केटाले केटीको सुन्दरताको प्रशंसा गर्दै आफूसँगै जान देउडाका माध्यमबाट प्रस्ताव गरिएको यस्तै देउडा मौलिक भाकामा सुन्दा युवापुस्ता रमाउने गर्छन्। देउडाका माध्यमबाट हरेक कुरा रोचक र व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्ने गरिन्छ। सामाजिक विकृति विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यग्यं गरिन्छ। महिलाहरूले पनि आफ्ना सुख–दुस्ख देउडाका माध्यमबाट व्यक्त गर्छन्।

कहिले र कसरी मनाउँछन्, गौरा पर्व

भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व आरम्भ हुने गर्दछ। उसो त एकादशीका दिनदेखि नै व्रत बसेर गौरा पर्व सुरु भएको मानिन्छ। पहिलो दिन घर–घरमा महिलाहरूले तामाका भाडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउँछन्। यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ।

पौराणिक कालमा भगवान् शिवको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको मान्यता छ। यस पर्वमा शिव उत्पत्ति, पार्वती तपस्या, शिव पार्वती विवाहदेखि गणेश जन्मसम्मको वर्णन गरिन्छ।

महिलाहरूले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हूतमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ-मन्दिरमा भित्र्याएर पुजा-अर्चना गरी महिलाहरूले दुबधागो (घाटीमा लगाउने रातो पहेलो धागो) चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिलाहरू बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा पुजाआजा गर्छन्। साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको पण्डित देवराज जोशीले बताउनु हुन्छ।

सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यहरूको टाउको, शरीरमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्। महिलाले घर परिवारमा सुख, शान्ति र परिवारका सदस्यहरूको दीर्घायुका लागि व्रत बसी पुजाआजा गर्ने मान्यता छ। बिरुडालाई प्रसादका रूपमा बाँड्ने चलन पनि छ। बिरुडा भुटेर खाने गरिन्छ। गौरामा एकै छिन भए पनि देउडामा रमाउन घरबाहिर रहेका घरपरिवार सम्झिएर फर्किन्छन्। केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन समेत चलिआएको छ।

  • श्रोत :आइएनएस-स्वतन्त्र समाचार

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?