नागरिकता विधेयक : अब के गर्नुहुन्छ राष्ट्रपति भण्डारी ?

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । राष्ट्रिय सभाबाट पनि हेरफेर नभई पारित भएपछि नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाले दोस्रो पटक पनि कुनै परिमार्जन नगरी शुक्रवार पारित गरेको हो।

राष्ट्रिय सभाको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको फरक मतबीच बहुमतबाट नागरिकता विधेयक पारित गरेको छ।

संसदीय प्रक्रियाअनुसार राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा दिएपछि सभामुखले प्रमाणित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ।

प्रतिनिधिसभाको आगामी बैठक आइतवारका लागि तय गरिएको छ।

अब के हुन्छ ?

संविधानको धारा ११३ ले अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक ठानेमा राष्ट्रपतिले सन्देशसहित एकपटक संसद्‌मा फिर्ता पठाउन सक्ने अधिकार दिएको छ।

यसरी राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने तर सच्याउनैपर्ने बाध्यता नहुने उल्लेख छ।

संविधानअनुसार संसद्‌ले सच्याएर वा जस्ताको तस्तै पुनः पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले फेरि फर्काउन मिल्दैन।

तर राष्ट्रपतिनिकट एक स्रोतले राष्ट्रपतिले विधेयक १५ दिनसम्म पनि प्रमाणीकरण नगरी ‘निष्क्रिय बनाउन सकिने’ विकल्पबारे परामर्श गरिरहेको जानकारी दिएको छ।

ूसंविधानमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ भनेको छ। नगरे के हुन्छ भन्नेबारे त केही लेखेको छैन। त्यसैले उहाँसँग फेरि पनि दुईवटा विकल्प छन्, नाम उल्लेख नगर्ने स्रोतमा उक्त स्रोत भन्छ, ‘एउटा प्रमाणीकरण गर्ने भयो अर्को नगरीकन छोड्ने भयो।’

तर राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले राष्ट्रपतिले संविधानले दिएको भूमिकाअनुसार नै काम गर्ने दाबी गर्नुहुन्छ । विधेयक आइसकेपछि संविधानमा जे जस्तो व्यवस्था छ त्यसै अनुसार हुन्छ, ढकालले भन्नुभयो ।

यसअघि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी राजीनामा दिन सक्ने चर्चाहरू भए पनि राष्ट्रपति निकटस्थ व्यक्तिहरूले त्यसको खण्डन गरेका थिए।

राष्ट्रपतिले राजीनामा दिने विषय हल्ला मात्रै भएको सञ्चारविज्ञ ढकालको दाबी छ। ‘धेरै कुराहरू हल्लामै सीमित हुन्छन्। यो पनि एउटा हल्ला हो,’ उहाँले भन्नुभयो ।

संसद्‌बाट कुनै परिमार्जन नगरी पठाउन लागिएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्लिन् कि नगर्लिन् भन्ने बारेको जिज्ञासामा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले विधेयक आएपछि मात्रै राष्ट्रपतिले विचार गर्ने बताउनुभयो ।

‘आएपछि सम्माननीय राष्ट्रपतिज्यूले के गर्ने भन्ने विषयमा निर्णय लिनुहुन्छ। कसरी आउँछ त्यसका आधारमा उहाँले संविधानबमोजिम आफ्नो जिम्मेवारी वहन गर्नुहुन्छ, ’ अधिकारीले भन्नुभयो ।

  • स्रोत : बीबीसी

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?