म्याग्दीमा तात्यो चुनावी माहोल, उम्मेदवार छनोटमा रस्साकस्सी

हिमालय टाइम्स
Read Time = 10 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि म्याग्दीमा चुनावी माहोल तात्दै गएको छ । दलहरूले उम्मेदवार सिफारिस गर्नेदेखि विभिन्न किसिमका भेला तथा कार्यक्रमहरू गाउँगाउँमा नै गएर अयोजना गरिरहेका छन् । चुनावलाई लक्षित गरेर म्याग्दीमा चहलपहल बढेको छ । निर्वाचन आउन अब साढे दुई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको हो ।

जिल्लामा क्रियाशील सबै दल टोल, वडा, गाउँ र नगरपालिका क्षेत्रमा कमिटी गठन, पुनर्गठनमा लागेका छन् । चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेता कार्यकर्ताहरू मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । कांग्रेसले सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सकेर गत शुक्रबारदेखि ‘जनताको साथमा कांग्रेस’ नामक एकमहिने अभियान सञ्चालन गरेको छ ।

जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकर्ता भेला, संगठन सुदृढीकरण, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको तयारीसहित रणनीति निर्माणलगायत कार्यक्रम सकेर ‘जनताको साथमा कांग्रेस’ अभियानलाई तीव्रता दिइएको जिल्ला कार्य समितिका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन पार्टी पंक्तिलाई चुस्त रूपमा परिचालन गर्ने बताउनुभयो ।

निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न उहाँले निर्देशन दिनुभएको छ । वर्तमान सरकारले गरेका कामको प्रचारप्रसार, पार्टीको नीति, विचार, सिद्धान्त तथा कार्यक्रमका बारेमा सबै नागरिकलाई बुझाउन आवश्यक रहेकाले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

नेकपा एमालेले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाई सिफारिससमेत गरिसकेको छ । एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै ६ वटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन भइसकेको बताउनुभयो
नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरू देखिएका छन् । प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति केवी भण्डारी र पूर्व सह-सभापति नेत्रबहादुर महतले प्रतिनिधिसभा टिकटका लागि नाम टिपाउनुभएको छ । त्यस्तै, समानुपातिकतर्फ निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी, सचिव हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर, भीमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माले नाम टिपाउनुभएको कांग्रेस म्याग्दीले जनाएको छ ।

क्षेत्रीयस्तरको भेलामा व्यस्त एमाले
निर्वाचनलाई लक्षित गरेर एमालेले एकमहिने अभियानअन्तर्गत जिल्लाका वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको छ । एमालेले पार्टी अभियान र निर्वाचन लक्षित रणनीतिक योजनासहित पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई क्रियाशील बनाउन निर्देशनसमेत दिएको छ । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि राजनीतिक दलका नेताहरू गाउँ पसेपछि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर नेता कार्यकर्ता गाउँ पसेका छन् । त्यसैगरी, मंगोल नेशनल अर्गनाइजेसनले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ ।

राप्रपाले तोक्यो उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टीले त प्रतिनिधिसभामा पूर्व–सहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम नै सिफारिस गरिसकेको जनाएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क) मा माओवादीका विनोद केसी र क्षेत्र (ख) मा एमालेकी नरदेवी पुनः विजयी भएकी हुनुभएको थियो । यसपटकको निर्वाचनमा उम्मेदवारका आकांक्षी बढेका भए पनि मतदाता तथा कार्यकर्ताको मनोभावना, बुझेर उम्मेदवार चयन गर्ने नेताहरूको भनाइ छ ।

विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउने दलका नेताहरूले बताएका छन् । गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार पालिका प्रमुख, तीन वडा उपप्रमुख र १८ वडा, कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख, १७ वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र ६ वडा जितेका थिए ।

कस्ता उम्मेदवार चाहन्छन् म्याग्देली ?
यसपटकको निर्वाचनमा जनताका अपेक्षा पनि बुझेर उम्मेदवार छनोट गर्ने मनस्थितिमा दलहरू देखिन्छन् । स्वच्छ छविको व्यक्तिले निर्वाचनमा टिकट पाउनुपर्छ, नेताहरूको वरिपरि घुम्नेभन्दा पनि जनतामाझ लोकप्रिय उम्मेदवार हुनुपर्छ, विकासप्रेमी र सुशासन कायम गर्ने व्यक्ति, जनभावना बुझ्ने र गाउँ केन्द्रित हुने खालको उम्मेदवार पहिचान गरेर भोट दिने मनस्थितिमा म्याग्देली जनता रहेका छन् ।
मालिका गाउँपालिका–७ का दलबहादुर जुग्जाली स्वच्छ र इमानदार व्यक्तिलाई उम्मेदवार बनाउन राजनीति दललाई सुुझाव दिनुहुन्छ । भूगोल ठूलो भए पनि जनसंख्या थोरै भएका कारण पनि जनताले एक÷एक गरी राजनीतिक दलका नेता चिन्न र आफ्ना सुझावतर्फ उनीहरूले ध्यान दिन आवश्यक रेहको उहाँ भन्नुहुन्छ ।

बेनी नगरपालिका-२ का नारायण सापकोटा भिजन र मिसन भएका व्यक्तिलाई उम्मेदवार छनोट गर्न सुझाव दिनुहुन्छ । कार्यकर्ता बिकाउने कुरामा मात्र ध्यान दिए व्यवस्थाप्रति नै निराशा छाउने उहाँको भनाइ छ । युवालाई प्राथमिकतामा राख्नसमेत उहाँले आग्रह गर्नुभयो । म्याग्दीमा विशेष गरी सत्ता गठबन्धनमा तीन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृृत समाजवादी, एमाले र राप्रपाले निर्वाचनमा भाग लिने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?