पाल्पामा तात्यो चुनावी माहोल

एमालेलाई विरासत जोगाउन चुनौती, गठबन्धन चुनाव जित्ने रणनीतिमा

हिमालय टाइम्स
Read Time = 9 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तोकिएसँगै दलहरू उम्मेदवार चयन तथा जितहारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । प्रदेश र केन्द्रीय राजनीतिमा जिल्लाको पहिचान बनाएको पाल्पामा पनि सम्भावित उम्मेदवारको चर्चासँगै चुनावी जोडघटाउ सुरु भएको छ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेकोे यहाँ पाँचदलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि केही नयाँ अनुहारका उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् ।

२०७४ मा भएको निर्वाचनमा दुवै क्षेत्र जितेको नेकपा एमालेलाई गठबन्धनका कारण यसपटक भने विगतको विरासत जोगाउने चुनौती थपिएको छ । क्षेत्र नम्बर १ बाट एमालेका दलबहादुर राना र क्षेत्र नम्बर २ बाट एमालेकै सोमप्रसाद पाण्डेय प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । तर, अहिले भने परिस्थिति बदलिएको छ । त्यतिबेला एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा एमालेले दुवै सिटमा जित हासिल गरेको थियो । तर, अहिले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । समाजवादीमा एमालेका प्रभुत्व व्यक्तिहरू छन् । त्यतिमात्र होइन, समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादीसहितको गठबन्धनका कारण यसपटकको निर्वाचन एमालेका लागि ठूलो चुनौती बन्ने देखिएको छ । गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने भएपछि पाल्पामा यी दलबाट कसले उम्मेदवारी पाउँछ भन्नेमा सबैको चासो छ ।

क्षेत्र नम्बर १ मा गठबन्धनलाई सकस
क्षेत्र नम्बर १ यसअघि एमालेले जितेको क्षेत्र हो । यहाँ एमालेको बलियो क्षेत्र भएकाले पनि पाँचदलीय गठबन्धनलाई निर्वाचन जित्न सकस छ । एमालेबाट पूर्वमन्त्रीसमेत रहनुभएका दलबहादुर रानाले २०७४ को निर्वाचनमा ३२ हजार ५४९ मत ल्याएर नेपाली कांग्रेसका विजय घिमिरेलाई हराउनुभएको थियो । रानासँग पराजित हुनुभएका घिमिरेले २३ हजार ९९३ मत ल्याउनुभएको थियो । यहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७७१ मत पाएका थिए भने नेपाली कांग्रेसले २७ हजार १५०, माओवादीले एक हजार १६४ मत पाएका थिए । यो मतलाई विश्लेषण गर्दा पनि गठबन्धनलाई निर्वाचन जित्न हम्मेहम्मे छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित हुनुभएका राना फेरि पनि उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । उहाँसँगै एमालेबाट राधाकृष्ण कँडेल र नारायणप्रसाद आचार्यको पनि चर्चा छ । कँडेल २०७० को संविधानसभा निर्वाचनमा एमालेबाट विजयी हुनुभएको थियो । उहाँ अहिले एमालेको लुम्बिनी प्रदेश इञ्चार्जसमेत हुनुहुन्छ । यस्तै आचार्य सोही निर्वाचन क्षेत्रअन्तर्गत २०७४ मा प्रदेशसभा (ख) बाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको हो । उहाँ एमालेका पूर्वजिल्ला अध्यक्षसमेत हुनुहुन्छ । यसकारण पनि यहाँ एमालेलाई उम्मेदवार छनोटमा सकस देखिएको छ । यस्तै गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर गाहा, देवराज ढकाल, दानबहादुर पछाई र सन्दीप रानाको चर्चा छ । गाहा नेपाली कांग्रेसको पाल्पा जिल्ला उपसभापति हुनुहुन्छ भने ढकाल पार्टीको पूर्वजिल्ला उपसभापति हुनुहुन्छ । पछाई र राना महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

सबैको ध्यान क्षेत्र नम्बर २ मा
अहिले क्षेत्र नम्बर २ लाई विशेष चासोका साथ हेरिएको छ । यसअघि भएका पटक-पटकका निर्वाचनमा एमालेबाट सोमप्रसाद पाण्डेयले जित्दै आए पनि अहिले उहाँ नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । उहाँले सोही पार्टीबाट गठबन्धनका उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा उत्रने तयारीसमेत गर्नुभएको छ । तर, गठबन्धनले टुंगो भने लगाइसकेको छैन । गठबन्धनबाट नेपाली कांग्रेसका वीरबहादुर राना, हरिप्रसाद नेपाल, राजनप्रसाद पन्त, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको नाम चर्चामा छ । समाजवादीले भने सोमप्रसाद पाण्डेयलाई नै अघि सारेको छ । गठबन्धनबाट कुन दलले टिकट पाउँछन् अहिले नै भन्न सकिने अवस्था छैन । तर, स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने गठबन्धनबाट नेपाली कांग्रेसले पाउने देखिन्छ ।

माधव नेपाल सोमप्रसादका सम्धी भएकाले टिकट उहाँले पाउन सक्ने विश्लेषण पनि केहीले गरेका छन् । क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेमा बलियो जनमत हुनुभएका वीरबहादुर रानाले टिकट पाउने सम्भावना प्रवल छ । उहाँ पार्टीका निवर्तमान जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेशको सिँचाइमन्त्रीसमेत हुनुहुन्छ । राना पछिल्लो समय पाल्पामा बलियो उम्मेदवार मानिनुहुन्छ ।

यस क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेबाट सोमप्रसाद पाण्डेयले ३४ हजार ८९९ मत ल्याउँदै कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गर्नुभएको थियो । नेपालले २४ हजार ५५४ मत प्राप्त गर्नुभएको थियो । उता एमालेबाट युवा नेता ठाकुर गैरे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसिइओ सुशील ज्ञवालीको नाम चर्चामा छ । युवा नेता गैरे पछिल्लो समय कार्यकर्तामाझ लोकप्रिय हुनुहुन्छ । स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन गैरेको ठूलो हात छ । ज्ञवालीको भने केन्द्रमा राम्रै सम्बन्ध भए पनि जिल्लामा त्यस्तो छैन ।

यस्तो छ अंकगणित
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट एमालेले १० स्थानीय तहमध्ये ६ वटा पालिका हात पारेकोे थियो । क्षेत्र नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७७१ मत पाएका थिए भने नेपाली कांग्रेसले २७ हजार १५०, माओवादीले एक हजार १६४ मत पाएका थिए । यस्तै क्षेत्र नं. २ मा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ३० हजार ५३६, नेपाली कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र नेकपा एकीकृत समाजवादीले ४३३ मत प्राप्त गरेका थिए । संघको निर्वाचनमै आकांक्षीहरू धेरै देखिएकाले यहाँ प्रदेशसभाको निर्वाचनमा भने आकांक्षी खुलेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?