पुस्तक : बिसु केसीको ‘राजीनामा’

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ सुशीला घिमिरे

बिसु केसी नेपाली साहित्यमा बाक्लै सुनिने नाम हो । विशेषगरी कविताको क्षेत्रमा उहाँको रुचि रहेको देखिन्छ । विभिन्न साहित्यिक कार्यक्रममा उहाँ मीठा र भावपूर्ण रचना सुनाउने गर्नुहुन्छ । उहाँकै कविता कृति हो ‘राजीनामा’ । यो उहाँको गद्यकविताहरूको सङ्ग्रह हो । बिसुकुमार केसी कृत यस पुस्तकको प्रकाशन युनिक एजुकेशनल पब्लिसर्स प्रा.लि रहेको छ । यस पुस्तकको पहिलो संस्करण हो यो जो २०७७ सालमा प्रकाशित भएको छ र यो १००० प्रति छापिएको छ । सर्वाधिकार कृतिकारमै रहेको यस पुस्तकमा भूमिका खण्डमा ६ र पाठ्य खण्डमा ९८ गरी जम्मा १०४ पृष्ठ छन् । यस पुस्तकको मूल्य २०० रुपैयाँ छ ।

यसको ले-आउट अनिल न्यौपानेले गर्नुभएको छ । आवरण पृष्ठ आकर्षक छ । माथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक ‘राजीनामा’ र त्यहीँनेर साना सेता अक्षरमा कवितासङ्ग्रह भनिएको छ । तर, सेतो पृष्ठभूमिको सानो ठाउँमा कविताको नाम बिसुकुमार केसी साना काला अक्षरमा लेखिएको छ । बीचमा केही बुट्टाहरूको बीचमा कलम रहेको छ ।

कवि केसीको यस पुस्तकभित्रका कविताहरूको भावपक्षलाई विचार गर्दा राजनीति, नेपाली समाज, आफ्नै लेखन साधना, जीवनजगत्, मातृभूमि, गाउँघर, प्रकृति चित्रण, मायाप्रेम, परिवर्तीत समय, निराशा, चिन्ता, अशावादी सोच, व्यङ्ग्य, आदि कुराहरू पाइन्छन् । उहाँका कुनै-कुनै कविता दार्शनिक सोचका पाइन्छन् ।

पृष्ठ आवरणमा अरूका जसरी उहाँले केही लेख्नुभएको छैन । पातो सादा छ । माथि कलेजी र बीचमा फिक्का सुन्तला रङ अनि फेरि तल थोरै भागमा कलेजी रङले यस पृष्ठलाई आकर्षक बनाउन खोजिएको छ । यहीँ बारकोड र पुस्तकको मूल्य खुलाइएको छ र यहीँ प्रकाशक संस्थाको नाम लोगोसहित दिइएको छ । यस पृष्ठमा केही दिएको भए कृतिकारका बारेमा पाठकले यसभन्दा बढी कुरा थाहा पाउन सक्थे होलान् ।

पुस्तक डिएमआई साइजमा छापिएको छ । सेतो तौलदार कागजको प्रयोग भएको छ । पुस्तकको छपाइ स्तरीय छ । यति हुँदाहुँदै पुस्तकमा अशुद्धिहरू भने पाइन्छन् । पुस्तकको भूमिका खण्डमा कविको ‘बकपत्र’ शीर्षकको विचारबाहेक अरू कसैको विचार राखिएको छैन । त्यसपछि विषयसूची दिइएको छ । यस सङ्ग्रहमा जम्मा ५० वटा कविता छन् । कविको समग्र लेखनलाई हेर्दा छोटा शीर्षक राख्ने र छोटा कविता लेख्ने प्रवृत्ति उहाँमा पाइन्छ ।

एक शब्दका १५, दुई शब्दका १५, तीन शब्दको सात, चार शब्दका आठ, पाँच शब्दका चार र छ शब्दका एकवटा कविता पुस्तकमा रहेका छन् । यसैगरी कवि केसीका यहाँ समेटिएका कविता सामान्य रूपमा छोटाछोटा नै हुन् भन्न सकिन्छ । एक पृष्ठमा १५, दुई पृष्ठमा २३, तीन पृष्ठमा ११ र चार पृष्ठमा एकवटा कविताको फैलावट रहेको पाइन्छ । जसले गर्दा कविता छोटा र मध्यम आयतनका छन् भन्न सकिने भयो ।

कवि केसीको यस पुस्तकभित्र सङ्गृहित कविताहरूको भाव पक्षलाई विचार गर्दा राजनीति, नेपाली समाज, आफ्नै लेखन साधना, जीवन र जगत्, मातृभूमि, गाउँघर, प्रकृतिचित्रण, मायाप्रेम, परिवर्तीत समय, निराशा, चिन्ता, अशावादी सोच, व्यङ्ग्य, आदि कुरा पाइन्छन् । उहाँका कुनै-कुनै कविताहरू दार्शनिक सोचका पाइन्छन् । उहाँले एउटा ‘मेरो कपन थुम्की’ शीर्षकको कविता लेखेर आफ्नो ठाउँलाई स्मरण गर्नुभएको छ । यसमा उहाँले
शिरमा धुपी सिउरेकी
आँप र चाँपलाई अँगालो हालेर
काखैमा बस्ती काँधैमा बस्ती बोकेर
हिमालदेखि मैदानसम्मकी एउटै प्रतिमूर्ति
मेरी कपन थुम्की
भन्नुभएको छ ।
यसैगरी उहाँले ‘राजीनामा’ शीर्षकको कविता जो यस पुस्तकको कविता क्रममा ४६ नं. मा पर्छ त्यसलाई शीर्ष कविता बनाउनुभएको छ । यसमा उहाँ
मेरो मनोमानी खुशीराजीले म
‘म’ बाट राजीनामा दिँदैछु
यसो गर्दा दुख्न त मन दुख्छ
तर ‘म’ नै नभएपछि
खै कहाँ किन र के दुख्छ ?
भन्नुहुन्छ ।
पुस्तकको प्रकाशनका लागि कवि केसीलाई हार्दिक बधाई छ र सफलताको कामना पनि । भविष्यमा कवि केसीको लेखन यात्रा निरन्तर चलिरहोस् उहाँबाट यस्ता पुस्तकहरू नेपाली साहित्यले पाइरहोस् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?