रेसुंगा नगरपालिकाले क्याम्पसलाई एक करोड आर्थिक सहयोग गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले रेसुंगा बहुमुखी क्याम्पसलाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ । हालै आर्थिक संकटकाल घोषणा गरिएको रेसुंगा बहुमुखी क्याम्पसको आर्थिक दायित्व बढेको भन्दै आर्थिक सहयोग गरिने भएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

शनिबार रेसुंगा नगरपालिकाको आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै आर्थिक रुपले संकटकाल घोषणा गरिएको क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने नगरप्रमुख पन्थीले घोषणा गर्नुभएको हो । उहाँले गुल्मीको शैक्षिक धरोहरको रुपमा रहेको रेसुंगा क्याम्पसमा आर्थिक दायित्व बढेकोले एक करोड आर्थिक सहयोग गर्ने कायपालिकामा निर्णय गरिएको बताउनुभयो ।

‘गुल्मीको भाग्य र भविष्यसंग जोडिएको रेसुंगा क्याम्पस समुन्नतिको आधार हो ।,’ नगरप्रमुख पन्थीले भन्नुभयो, ‘नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ ।’ क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट सञ्चालन गर्नका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने प्रमुख पन्थीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सबै पालिकाका प्रमुखहरूलाई सहयोगका लागि आग्रह गरिएको उहाँको भनाइ छ । क्याम्पसको वास्तविक अवस्था सञ्चालक समितिले बाहिर ल्याएको भन्दै पन्थीले अब दीर्घकालीन समाधान सबै मिलेर गर्नुुपर्ने भन्दै सबैसँग सहयोगको अपिल गर्नुभयो । रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले अल्पकालीन समयका लागि आर्थिक संकटकालको घोषणा गर्ने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?