पाकिस्तानसँग हङकङ ३८ रनमा अल आउट

हिमालय टाइम्स
Read Time = 3 mins

दुबई । युएईमा जारी टी-२० एसिया कपमा पाकिस्तानले हङकङलाई ३८ रनमा अल आउट गरेको छ । यस खेलमा हङकङलाई १५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान एसिया कपको सुपर ४ मा पुगेको छ ।

जितका लागि १९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा सबै विकेट गुमाएर ३८ रनमा समेटियो । हङकङका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सक्नुभएन । कप्तान निजाकत खानले १३ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाउनुभयो । यस्तै किन्चित शाहले १० बलमा १ चौकासहित ६ रनमा आयट हुँदा प्रमुख ब्याटर बाबर हयात शून्यमा पवेलियन फर्किनुभयो ।

पाकिस्तानको टी-२० अन्तर्राष्ट्रियमा यो सर्वाधिक ठूलो अन्तरको जितसमेत हो । यसअघि पाकिस्तानले टी-२० आईमा वेस्टइण्डिजविरुद्ध २०१८ मा १४३ रनको जित हात पारेको थियो । यता हङकङको यो टी–२० आईमा सबैभन्दा कम योगफल हो । यसअघि २०१४ को टी-२० विश्वकपमा नेपालसँग ६९ रनमा भएको अल आउट भएको थियो । पाकिस्तानका स्पिनर शादब खानले २.४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिनुभयो । मोहम्मद नवाजले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै तीव्र गतिका बलर नसिम शाहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रन जोड्नुभयो । यस्तै खुशदील साह १५ बलमा ५ छक्कासहित ३५ रनमा आउट हुनुभयो । हङकङका एहसान खानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिनुभयो ।

योसँगै टी-२० एसिया कप २०२२ को सुपर फोरमा पुग्ने चार टोलीको निर्धारण भएको छ । समूह ‘ए’ बाट भारतले दुवै खेलमा जितका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनायो । समूह ‘बी’ बाट अफगानिस्तान शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएका थिए । सुपर फोरमा यी चार टोलीबीच एकअर्कामा प्रतिस्पर्धा हुनेछ । हरेक टोलीले एकअर्काबीच खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?