हृयाण्डबलमा कास्कीको दोहोरो जित

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय हृयाण्डबल छनोट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ । पोखरा रंगशालाको हृयाण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो ।

महिलातर्फको हृयाण्डबल खेलमा कास्कीले बागलुङलाई दुईका विरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । यसैगरी पुरुषतर्फ कास्कीले बागलुङकै टोलीलाई ९–२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । विजयी खेलाडीको टोलीलाई एक समारोहबीच ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । केही दिनभित्रमै राष्ट्रिय खेलकुदका लागि प्रदेशको टोली घोषणा गरिने कास्की जिल्ला हृयाण्डबल संघका अध्यक्ष चित्रबहादुर थापाले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ भने चार जिल्लाको सहभागिता थियो ।

खो खोमा नवलपुर
गण्डकी प्रदेशस्तरीय खो खो छनोट प्रतियोगितामा पुरुषतर्फ नवलपुर प्रथम भएको छ । पोखरामा भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई तीन अंकको अन्तरले पछि पार्दै प्रथम भएको हो । प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउँदा कास्कीले भने १५ अंक प्राप्त गरेको थियो । प्रतियोगितामा चार जिल्लाको सहभागिता रहेको प्रशिक्षक विशाल गुरुङले बताउनुभयो । नवलपुर प्रतियोगितामा प्रथम भए पनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट गरिएको छ ।

छनोट हुने खेलाडीहरूमा नवलपुरबाट सागर परियार, मौसम महतो, सुमिर श्रेष्ठ, शंकर रिजाल, सुनिल थापा मगर, सुरेन्द्र महतो हुनुहुन्छ । गोरखाबाट देवबहादुर गुरुङ र रोशनी राना हुनुहुन्छ । कास्कीबाट विवस परियार, रोविन अधिकारी, शिवस टडाल, जोयल तामाङ रहनुभएको छ । वैकल्पिक खेलाडीमा गोरखाबाट स्वस्तिक बस्नेत र नरेश धामी टोलीमा पर्नुभएको छ । टिम व्यवस्थापकमा सुरज पोखरेल हुनुहुन्छ ।

महिलातर्फ भने कास्की र नवलपुरबीचको खेल बराबरीमा टुंगिएको छ । निर्धारित समय नौ/नौ मिनेटको खेलमा दुवैतर्फ १५/१५ स्कोरले खेल बराबरीमा पुगेपछि दुई/दुई मिनेटको खेल अतिरिक्त समयमा पनि दुवैतर्फ तीन/तीन स्कोर भएसँगै खेल बराबरीमा सकिएको हो ।

महिलातर्फ प्रतियोगितामा तीन जिल्लाबाट खेलाडीहरू सहभागी भएको प्रशिक्षक विशालजंग कुँवरले बताउनुभयो । प्रदेशका तर्फबाट छनोट हुनुभएका खेलाडीमा कास्की र नवलपुरबाट छ/छ छनोटमा परेको व्यवस्थापक सुरज पोखरेलले बताउनुभयो । राष्ट्रियमा छनोट हुनुभएका खेलाडीमा कास्कीका सृष्टि पौडेल, सुजना कुँवर, भिमसरा रोका, ममता अधिकारी, सजिता सुनार र अञ्जली भुजेल रहनुभएको छ । यसैगरी नवलपुरका महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियंका महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ टोलीमा पर्नुभएको छ । वैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरका सलिना सेढाइँ हुनुहुन्छ ।

जिम्न्याष्टिक
राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको जिम्न्याष्टिकका खेलाडी छनोट गरिएको छ । पोखरा रंगशालामा शनिबार सञ्चालन भएको छनोट प्रतियोगिताबाट प्रदेशको पुरुष तथा महिलाको अन्तिम टोली घोषणा गरिएको हो । छनोट हुन सफल खेलाडीमा पुरुषतर्फ रोशन पुन, विशाल पुन, प्रबल गुरुङ, विजय विश्वकर्मा, सरोज थापा र मियोन गुरुङ हुनुहुन्छ ।

यसैगरी महिलातर्फ सीताकुमारी खड्का, सुभी भासिम, गीता साउद, कृति खत्री, करुण लामा र दूधकला साउद हुनुहुन्छ । योगेन्द्र गुरुङ, रविन्द्र तजजिया, सोमबहादुर शाही र विजेन्द्र श्रेष्ठ रहनुभएको निर्णायक मण्डलले खेलाडी छनोट गरेको प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले जानकारी दिनुभयो ।

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले भदौ १६ देखि पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रदेशका ११ वटै जिल्लाबाट छनोट भएका खेलाडीका बीचमा प्रतिस्पर्धाका माध्यमबाट राष्ट्रियका लागि प्रदेशको टोली घोषणा गरिने परिषद्ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?