बन्द गरिएको फाइलबाट दुई वर्षपछि समातिए अपराधी

धनकुमारी हत्या प्रकरणमा रुपन्देही प्रहरीको सफलता

हिमालय टाइम्स
Read Time = 9 mins

चन्द्रकान्त खनाल/हिटा 
बुटवल । रुपन्देहीको सैनामैनामा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ । सैनामैना नगरपालिका-११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको सनाखत भएपछि दुई वर्षसम्म लुकेका आरोपी पक्राउ परेका हुन् । उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनले आफ्नी प्रेमिका ३४ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेको प्रहरीले इलाका प्रहरी सालझण्डीले जनाएको छ । धनकुमारी विवाहित महिला हो । उहाँका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ । गर्भपतन गर्न नमान्दा काशीरामले हत्या गरेको प्रहरीको दाबी छ । तर, हत्या भएको दुई वर्षसम्म पनि शवको सनाखत हुन नसक्दा हत्यारा पत्ता लाग्न सकेको थिएन ।

यसरी पत्ता लागेको थियो घटना
२०७७ माघ १० गते फायरलाइन जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको शव फेला पारेका थिए । शव देख्नेबित्तिकै उनीहरूले इलाका प्रहरी कार्यालय सालझण्डीमा खबर गरे । तत्काल घटनास्थल पुगेको प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट आठ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रूखको फेदमा बाँधी हत्या गरिएको अवस्थामा शव फेला पार्‍यो । अनुहारमा किरा परिसकेको अवस्थाको बेवारिसे महिलाको शवजाँच मुचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल पठायो ।

ती महिला को हुन् ? ठेगाना कहाँ हो ? केही पत्ता लागेन । प्रहरीले पत्ता लगाउने प्रयास गर्‍यो । तर, सनाखत नै हुन नसकेपछि ज्यान मुद्दाको फाइल थन्क्याएको थियो । इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रूपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी पुगेपछि पुराना घटनाका मुद्दाहरू हेर्न सुरु गर्नुभयो । त्यो मुद्दा पनि उहाँको नजरमा पर्‍यो ।

त्यसपछि उहाँले लुम्बिनी प्रदेशभरका जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराएका र हालसम्म फेला नपरेका व्यक्तिहरूको विवरण माग गर्नुभयो । हत्या गरेकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी फेला परेन । खोजतलासको लागि निवेदन नै फेला नपरेपछि प्रहरीले ती महिलाको हुलिया सार्वजनिक गर्‍यो । शवको फोटो, उनले लगाएको कपडा, घडी र माला लिई स्थलगत रूपमै खोज्न प्रहरीले सुरु गर्‍यो । तर, रुपन्देही जिल्लाभर केही पनि पत्ता लाग्न सकेन ।

कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमान्डमा प्रहरी टोली नै खटियो । त्यही क्रममा गत साउन महिनामा ती महिला गुल्मीको अर्खवाङ-२ की ३५ वर्षीया वसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्यो । त्यसपछि प्रहरी ती महिलाका बुबा ७० वर्षीय भक्तिराम अर्याललाई गुल्मीबाट झिकाएर शवको सनाखत गरायो । भक्तिराम अर्यालले हातमा भएको टाटु र घडीको आधारमा आफ्नी छोरी भएको पत्तो पाउनुभयो ।

उहाँले आफ्नी श्रीमतीलाई किनिदिएको घडी चिनोको रूपमा छोरीलाई दिएको, धनकुमारीले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरी भएको सनाखत गर्नुभएको हो । भक्तिरामका अनुसार धनकुमारी १५/१६ वर्षको उमेरमै आफैँ विवाह गरेर जानुभएको थियो । बिहे गरेर बुटवलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर कपिलवस्तु शिवराज-७ का काशीराम मुराउसँग भेट भएको थियो । उहाँ मिस्त्री काम गर्ने श्रीमान् भोला लोहारसँग दुई छोरीको साथमा बसिरहनुभएको थियो । काशीरामसँग प्रेममा परेपछि उहाँले आफ्नो परिवार छाडेर उनीसँगै बस्न थाल्नुभएको थियो । काशीरामको घर चन्द्रौटा भए पनि उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा कोठो लिएर धनकुमारीलाई राखेका थिए ।

काशीराम मुराउ तीन छोरी र एक छोराका बाबु हुन् । उनकी श्रीमती पनि घरमै थिइन् । प्रेममा परेका लोडर ड्राइभर काशीराम र धनकुमारीबीच त्यही क्रममा यौन सम्बन्धसमेत भएको खुलेको प्रहरीले बताएको छ । सोही क्रममा धनकुमारी गर्भवती हुनुभएको थियो । श्रीमान् र छोरीहरूलाई छाडेर काशीरामसँग बस्दै आएको धनकुमारीले घरमा बुबा भक्तिरामलाई फोन गरेर जानकारी पनि गराउनुभएको थियो । उनकै गर्भसमेत रहेको र चैतमा सुत्केरी हुने भएकाले घिउ-बेसारसमेत पठाइदिन भन्नुभएको थियो । तर, काशीरामले भने धनकुमारीलाई बारम्बार गर्भपतनका लागि दबाब दिँदै आएका थिए ।

यही कारण उनीहरूको बारम्बार झगडा हुन्थ्यो । उहाँले आफ्नी एक महिला साथीलाई काशीरामले गर्भ फाल्न दबाब दिएकोसमेत सुनाउनुभएको थियो । २०७७ साल पुसको अन्तिम हप्तातिर बुटवल जानुभएकी धनकुमारीलाई लिन काशीराम बुटवल फूलबारीसम्म पुगेका रहेछन् । उनले सालझण्डीसम्म बसमा ल्याएर त्यहाँ लोकल रक्सी र दालमोठ किनेका थिए । आफूलाई सालझण्डी बजारमा मानिसहरूले चिन्ने भएकाले नजिकैको जंगलमा जान र उतै रक्सी खाएर रमाइलो गर्न उनले धनकुमारीलाई प्रस्ताव गरे । दिउँसोको करिब ३ बजेतिर फायरलाइन जंगलमा लिएर गए र दुवैले रक्सी खाए । त्यही समयमा आफैँले लगाएको गलबन्दीले उहाँको घाँटी कसी हत्या गरेका थिए ।

शव नचिनियोस् भनेर धनकुमारीले लगाएको स्वेटरले मुखमा बेरी नजिकैको रूखमा बाँधेर रक्सीको बोतल र उनले लगाएका चप्पलहरू वाणगंगा नदीमा बगाइदिएका थिए । त्यसपछि उनी त्यहाँबाट फरार भए । हत्या गरेको केही समयपछि काशीरामले धनकुमारीका बुबालाई फोन गरी धनकुमारी हराएको र आफूले खोजी गरिरहेको बताएका थिए । आफूले प्रहरीलाई समेत खबर गरिसकेको उनले बताएका थिए । बाबुलाई खोजतलास गर्नु पर्दैन भनेका थिए ।

२०७९ सालको वैशाखमा पनि उनले धनकुमारीको बारेमा केही जानकारी पाउनुभयो कि भनेर भक्तिरामलाई सोधेका थिए । छोरीको हत्या भएको खुलेपछि भक्तिरामले यी सबै कुरा प्रहरीलाई बताइदिए । त्यही आधारमा प्रहरीले काशीरामलाई पक्राउ गरेको हो । काशीरामले हत्या स्वीकार गर्दै प्रहरीलाई घटनाबारे बताएका हुन् । भक्तिरामले किटानी जाहेरी दिएपछि काशीराम मुराउलाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासीनिले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?