निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन कार्यकर्तालाई ओलीको निर्देशन

‘वर्ष दिनमै गठबन्धनले देशलाई कंगाल बनायो, एमालेले जित्नैपर्छ’

हिमालय टाइम्स
Read Time = 5 mins

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिनुभयो । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित एमाले नेतृ भगवती चौधरीको प्रसंगलाई लक्षित गर्दै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताउनुभएको हो । यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्रमा ‘प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर’ हार घोषणा गराइएको नेता ओलीको आरोप थियो ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर, हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु । तपाईंहरू कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईंहरूले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभयो ।

यस्तै, उहाँले नेकपा एमाले गँड्यौलाजस्तो नभएको तर दुईवटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताउनुभएको हो । आगामी चुनावपछि नेकपा एमालेले बहुमतको सरकार बनाउनैपर्ने आवश्यकता रहेको पनि उहाँको जिकिर थियो । आफ्नो कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भन्नुभयो, ‘एमालेका नेता र कार्यकर्ता गँड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनैपर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यसकारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’ सर्पलाई लक्षित गर्दै उहाँले दुईवटा दाँत भएको जस्तो बनेर डस्न तयार हुनुपर्ने बताउनुभएको हो ।

ओलीले गठबन्धन सरकारले एक वर्षभित्रै देशलाई कंगाल बनाइसकेको आरोप लगाउनुभयो । उहाँले मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउने दाबी पनि गर्नुभयो । एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाउनुभयो ।

उहाँले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर बेहाल बनाएको दाबी गर्दै वर्तमान सरकारले जात-जातलाई भिडाएर आफ्नो दुनो सोझ्याउने प्रयास गरिरहेको बताउनुभयो । ‘मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यसकारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’, अध्यक्ष ओलीले भन्नुभयो । मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्न नहुने ओलीको भनाइ थियो । उहाँले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको पनि दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?