‘अर्थतन्त्र सुधारोन्मुख तर जोखिम कायमै’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । गत असारमा रेमिट्यान्स बढेको र पर्यटक संंख्या पनि बढेकोले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको उहाँले बताउनुभयो । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारणसभा गभर्नर अधिकारीले उक्त कुरा बताउनुभएको हो ।

मंसिरयता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले पनि बाह्य क्षेत्रमा सहज हुँदै गएको उहाँको भनाइ छ । तथापि, जोखिम भने कम नभएको भन्दै उहाँले सजगता अपनाउनुपर्ने अवस्था रहेको गभर्नर अधिकारीले बताउनुएको छ । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रूपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले नेपालमा दबाब रहेको बताउनुभयो ।

साथै उहाँले तरलता समस्या पनि तत्काल समाधान नहुने बताउनुभएको छ । तरतलाका लागि बाह्य क्षेत्र मजबुत हुनुपर्ने, सरकारले खर्च बढाउनुपर्ने, निजी क्षेत्रले ऋण तिरिदिनुपर्ने र बैंकले पनि अनुशासनमा बस्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी, गभर्नर अधिकारीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा निजी क्षेत्रले गलत व्याख्या गरेको आरोप लगाउनुभयो । राष्ट्र बैंकले वित्तीय बजारलाई अनुशासित बनाउन तथा स्रोतसाधनको किफायती परिचालनका लागि मार्गदर्शन ल्याएको भन्दै उहाँले चालु पुँजी कर्जाको नाममा विकृति बढेकाले पनि नियन्त्रण आवश्यक रहेको बताउनुभयो । तर, मार्गदर्शनले ५० लाखभन्दा कम ऋण लिनेलाई असर नगर्ने उहाँको दाबी छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले भने आगामी पाँच वर्षमा अर्थतन्त्रमा सुधार आउने दाबी गर्नुुभयो । हाल देशभर सडक भइरहेको तर ती सडक पिच हुन नसकेकाले कनेक्टिभिटीमा समस्या रहेको उहाँको भनाइ छ । उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘अबको पाँच वर्षमा कायापलट त नहोला तर उन्नतिको सम्भावना धेरै देखिन्छ । सडक, ऊर्जा, स्वास्थमा राम्रै भइरहेको छ । आगामी पाँच वर्षमा हामीले धेरै गर्नसक्ने ठाउँ छ । अर्थतन्त्रको दिगो विकासका लागि कृषिको विकास चाहिन्छ । जसका लागि हामीले अहिले सिँचाइ आयोजना बनाइरहेका छौँ ।’

साथै उहाँले बैंकको लाइसेन्स खुला हुनुपर्ने पनि बताउनुभएको छ । नेपालको हरेक क्षेत्रमा सिन्डिकेटको अवस्था रहेको भन्दै बैंकिङ क्षेत्रमा पनि त्यसको प्रभाव रहेकोतर्फ उहाँको संकेत छ । उहाँले नेपालमा लाइसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै लाइसेन्स राजको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो । उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘लाइसेन्सले हरेक क्षेत्रमा एकाधिकार जन्मायो, कुनै क्षेत्रमा पनि एकाधिकार हुनुहुँदैन ।’

अर्थमन्त्री जनार्दन शर्माले भने सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकको बाटोमा जानबाट रोकिएको दाबी गर्नुभयो । अहिले अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको जिकिर गर्दैै चाडबाड सुरु भएसँगै रेमिट्यान्ससमेत बढेको बताउनुभयो । उहाँले सरकारले बजेट खर्च प्रभावकारी रूपमा गर्ने नीति अख्तियार गरेकाले तरलता अभाव नहुने दाबीसमेत गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिएको छ, चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइसकेका छौँ, बढ्दो विप्रेषण र बजेट खर्च प्रभावकारी हुँदा तरलताको समस्या रहँदैन ।’ उहाँले देशमा लगानीयोग्य वातावरण रहेको भन्दै कृषि, वन लगायतका क्षेत्रमा लगानी बढाउन र बजेटमा निर्यात प्रवद्र्धन गर्न लिएका नीतिको फाइदा लिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?