आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आग्रह

Read Time = 2 mins

एजेन्सी/बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ । बाढीबाट १० लाख घर ध्वस्त भएको र त्यसबाट तीन करोड ३० लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । तिनीहरूको पुनःस्थापनाका लागि १६ करोड अमेरिकी डलर बराबरको सहयोग आवश्यक परेको पाकिस्तानले जनाएको छ ।

संयुक्त राष्ट्र संघले यसअघि नै पाकिस्तानलाई मानवीय सहयोग गर्न अपील गरिसकेको छ । बाढीबाट बलुचिस्तान, सिन्ध, गिलगिट र पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् । खैबर पख्तुन्ख्वा बाढीका कारण तहसनहस भएको छ । बाढीमा परी एक हजार २६५ जनाको मृत्यु भइसकेको छ ।

बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको अनुमान पाकिस्तानी अधिकारीले गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तत्काल राहत पुर्‍याउने क्रम जारी राखेको छ । पछिल्ला चार दिनमा टर्की, फ्रान्स, चीन, युएई, कतारलगायत देशबाट ३० वटा विमानले राहत सामग्री पुर्‍याएका छन् । अमेरिकाले भने एउटा सैन्य टोली नै पठाउने तयारी गरिरहेको छ ।

युएनको सहयोगको आहृवान
युएनका महासचिव एन्टोनियो गुटेरेसले विश्वलाई पाकिस्तानको सहयोगमा आउन आग्रह गर्नुभएको छ । उहाँले प्रकोपबाट प्रभावित दशौं लाखलाई मद्धत गर्न १६० मिलियन डलर आवश्यक पर्ने बताउनुभएको छ । उहाँले भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, ‘दक्षिण एसिया ‘जलवायु संकट हटस्पट’ हो । जहाँ जलवायु प्रभावबाट मानिसहरूको मृत्यु हुने सम्भावना १५ गुणा बढेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?