विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै सिद्धबाबा

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश विश्वकर्मा/हिटा
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै आएको छ । तत्कालीन तम्घास गाविस खानीगाउँ टुनीखोलामा रहेको सानो बचत घरबाट ०४३ सालमा शैक्षिक यात्रा सुरु गरेको यस विद्यालयले विद्यार्थीलाई अध्ययनसँगै सिकाइमा सक्रिय बनाउन नियमित पठनपाठनका अतिरिक्त विभिन्न कार्यक्रमहरू गर्दै आएको हो ।

शैक्षिक क्षेत्रमा जिल्ला तथा देशकै नमुना एवं अधिकतम विद्यार्थीहरू भएको प्रविधियुक्त सुविधासम्पन्न सामुदायिक विद्यालयका रूपमा रहेको यस विद्यालयले विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्न युग सुहाउँदो प्रविधिमैत्री शिक्षण पद्धति अंगाल्दै आएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरूलाई अध्ययनसँगै सकारात्मक हरेक कुरामा सक्रिय बनाउन विद्यालयले ‘ज्ञानीसँग हाम्रा नानी’ र ‘बुक टक’ लगायतका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको छ ।

त्यस्तै विद्यालयले विद्यार्थीको सिकाइप्रतिको परम्परागत मान्यतालाई चिर्न नियमित पठनपाठनका अतिरिक्त विगत पाँच वर्षदेखि ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्ञानी भन्नाले कुनै क्षेत्रमा विज्ञता हासिल गरी लामो अनुभव प्राप्त गरेका र नानी भन्नाले विद्यार्थीहरू भएका प्रधानाध्यापक श्रीसले उल्लेख गर्नुभयो ।

उहाँले यस कार्यक्रममार्फत् विभिन्न क्षेत्रका विशेषज्ञ ल्याएर विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान दिने प्रयास गरिएको बताउनुभयो । ‘विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न अहिले विभिन्न रचनात्मक र सिर्जनात्मक पद्धतिद्वारा पठनपाठन सञ्चालन गर्दै आएका छौं,’ उहाँले भन्नुभयो, ‘कक्षा कोठाबाहिर, शिक्षकबेगर र किताबबाहिर पनि विद्यार्थीहरूको सिकाइ क्षेत्र बृहत्तर हुन्छ ।’

यस विद्यालयमा प्ले ग्रुपदेखि १२ कक्षासम्म पढाइ हुने गर्दछ । विशेषगरी कक्षा पाँचदेखि १२ कक्षासम्मका विद्यार्थीहरू कार्यक्रममा समावेश भइरहेका छन् । साना बालबालिकाका लागि विशेषज्ञ यस कार्यक्रममा सहभागी गराउने प्रधानाध्यापक श्रीसले बताउनुभयो । सबै खालका व्यक्तिहरूलाई समावेश गरी विद्यार्थीहरूमाझ उनीहरूका अनुभव सुनाउने गरिएको विद्यालयले जनाएको छ ।

समय–समयमा विद्यालयले राजनीतिक एवं प्रशासनिक व्यक्ति, शिक्षाविद्, लेखक, साहित्यकार, इन्जिनियर, डाक्टर, कृषक सबैलाई आमन्त्रण गर्ने गरेको छ । उनीहरूले प्राप्त गरेको सम्पूर्ण विज्ञता, अनुभव र सफलता विद्यार्थीहरूमाझ प्रस्तुत गर्ने गरेको प्रधानाध्यापक श्रीसले बताउनुभयो ।

विद्यालयमा गरिने विभिन्न कार्यक्रमले विद्यार्थीको लक्ष्य हासिल गर्न सही प्रकारको दिशाबोध हुने उहाँले बताउनुभयो । विज्ञहरूका अनुभव सुन्दा विद्यार्थीलाई सही प्रकारको उत्प्रेरणा मिल्छ । जसले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान आर्जन र सिकाइलाई मजबुत बनाउन सहयोग पुग्ने श्रीसको भनाइ छ ।

कुशल व्यवहार र उचित ज्ञान-सीपको विकास गर्न पनि विद्यालयमा महत्वपूर्ण कार्यक्रम गरिँदै आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो । आफ्नो ठाउँ, माटो र परिवेशका बारेमा जानकारी लिँदा विद्यार्थीमा ज्ञानको भण्डार बढ्छ । विद्यालयले गर्ने हरेक कार्यक्रम विद्यार्थी केन्द्रित भएको हुँदा विद्यार्थीसँगै अभिभावक पनि उत्साहित भएका छन् । त्यस्तै यस विद्यालयले विगत केही वर्षअघिदेखि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आइएसए प्रोग्रामअन्तर्गत प्रोजेक्ट बेस लर्निङका माध्यमबाट शिक्षण सिकाइ कार्यलाई थप प्रभावकारी एवं व्यावहारिक बनाउने प्रयासमा लागेको छ । फलस्वरूप विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड २०२०-२३ समेत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक श्रीसले बताउनुभयो ।

जिल्लामा शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले साधारण र प्राविधिक गरी दुई धारको शिक्षा सञ्चालन गर्दै आएको छ । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ कक्षा नौदेखि १२ सम्म सञ्चालन गर्दै आएको श्रीसले बताउनुभयो । कक्षा ११/१२ मा शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषयको पठनपाठन हुने विद्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?