सडक सञ्जालले लोप हुँदै भरियाको पेशा

हिमालय टाइम्स
Read Time = 4 mins

निरोज कोइराला/हिटा
भोजपुर । कुनै बेला भोजपुर नगरपालिकाको टक्सारमा रहेको एकमात्र विमानस्थलमा डोको बोकेर सामान ओसारपसारका लागि धेरै जमघट हुने गर्दथ्यो । तर, पैदल चालिस मिनेटको दूरीमा रहेको विमानस्थल पनि सदरमुकामबाट सडक सञ्जालमा जोडिएपछि त्यो पेशामा संलग्नहरू विस्थापित भएका छन् । विगतमा भारी बोकेर जीवनयापन गरेका भरियाहरूसमेत अहिले फरक पेशामा लागेका छन् ।

सदरमुकाम आसपासमात्र होइन, अहिले जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत भरिया पेशा गर्नेहरू विस्थापित भएका छन् । हिले भोजपुर नारमणि थुलुङ राजमार्गका साथै जिल्लाका ग्रामीण क्षेत्रहरूमा समेत सडक सञ्जाल पुगेपछि भरिया पेशा पनि लोप भएको भोजपुरका स्थानीय रमेश विश्वकर्माको भनाइ रहेको छ । ‘सडक सञ्जालका कारण सदरमुकाम आसपासमात्र होइन, ग्रामीण क्षेत्रहरूमा पनि सडक पुगेको छ, अब पहिलाको भरियामार्फत् सामानहरू ओहोरदोहोर गर्ने परिपाटी हटेको छ,’ विश्वकर्माले भन्नुभयो ।

सडकको पहुँचका कारण पहिलेजस्तो हप्तौं, महिनौं लगाएर सामान ढुवानी गर्नुपर्ने सास्ती हटेर गएको छ । जिल्लाका अधिकांश भेगमा कृषि तथा ग्रामीण सडक पुगेकाले सजिलै सामान ढुवानी गर्न सकिन्छ । विगतमा अक्करको भिर, सप्तकोशीको तिर, अरुण नदीको गड्तिर हुँदै चामल, नुन, तेल, चिउराजस्ता खाद्यान्न र लत्ताकपडाको भारी बोकेर गाउँबस्तीका साहुकहाँ पुर्‍याउने गरिन्थ्यो । भारी बोकेर पाएको ज्यालाले परिवार र बालबच्चाको जीवनयापन गर्दै आएका भरियाहरू अहिले सडक सञ्जालको पहुँचसँगै कतै देखिँदैनन् ।

समयको परिवर्तन र सडक विकासको फड्कोसँगै भरियाको दैनिकी पनि फेरिएको छ । जसका कारण पहिले भरिया पेशा गरेकाहरू पनि अहिले फरक पेशामा देखिन्छन् । कुनै बेला यातायातको माध्यम पैदल थियो । सामान ओसारपसार गर्ने भरपर्दो माध्यम भरिया हुन्थे । केही ठाउँमा खच्चड प्रयोग गरिन्थे । सबै भूगोलमा खच्चड सम्भव हुँदैनथ्यो । भारी बोक्ने मान्छेको निकै खोजी हुन्थ्यो । तर, त्यो पेशा नै अहिले विस्थापित भएको अरुण गाउँपालिकाका शंकर आचार्य बताउनुहुन्छ ।

भरियाको पेशा पाउन छाडेकाले अहिले खेती किसानी, बनिबुतो र केहीले व्यापार-व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । भारी बोक्ने सीपबाहेक अन्य नभएकाहरू भने भरिया पेशाको विस्थापनसँगै समस्यामा परेको स्थानीय अशोक खतिवडाको धारणा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?