अनधिकृत संरचना भत्काउने काममा काठमाडौं महानगरको अग्रसरता कायमै

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोहरूलाई निर्देशन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगर प्रमुख बालेन साहको अगुवाइमा चलेको अनधिकृत संरचना भत्काउने अभियानअन्तर्गत आइतबारबाट कोटेश्वरमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउन थालिएको हो । कोटेश्वर चोक क्षेत्रमा नियम मिचेर संरचना बनाएर व्यवसाय गर्नेहरूलाई महानगरले खाली गराउन थालेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चोक क्षेत्रमा ओभरल्यापिङ गरेर बनाइएका संरचना हटाइएको बताउनुभयो ।

यसअघि पनि नयाँ बानेश्वर, सुनधारा, न्युरोडलगायत क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । यस्तै, महानगरले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले आइतबार सूचना जारी गर्दै इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो । मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो ।

काठमाडौं महानगरपालिका-२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडा कुँडा)को लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो । वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ (दूधडेरी)मा रहेका पसलहरू हटाउन निर्देशन दिएको हो । २४ घण्टा समय दिएर हामीले काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरू हटाउन निर्देशन दिएका उहाँले बताउनुभयो ।

यस्तै, महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ । महानगरले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोहीअनुसार ंंक्यासिनोहरूलाई पटक–पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५÷७६ देखि कर तिरेका छैनन् । महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपूर्ण होटल, क्यासिनो ¥याड, ¥याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, हायात होटल, माजोङ इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् । सात दिनभित्र कर नतिर महानगरपालिकाको राजस्व ऐन, ०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने जनाएको छ ।

केही समय गाली र आलोचना सहन तयार छु : बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आइतबार प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्यांकन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नुभयो भन्ने बढी अर्थपूर्ण हुने बताउनुभयो । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उहाँले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको धारणा राख्नुभयो ।

अवैध संरचना हटाउने कामका कामपा निरन्तर लागिरहेको स्मरण गर्दै प्रमुख साहले भन्नुभयो, ‘जुन प्रयोजनका लागि उपयोग गर्ने निर्माण भएको छ त्यहीँ रूपमा प्रयोग हुनुपर्छ, हामीले चाहेको यति मात्रै हो, कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ, फुटपाथ हटाएको सन्दर्भ वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नुपथ्र्यो, त्यहीँ ग¥यौँ, फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीका लागि हो, सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ, महानगरले पहिले फुटपाथका व्यापारीलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरूपमा असफल भयो ।’

फुटपाथ हटाएको प्रभाव बानेश्वर तथा असनलगायत क्षेत्रमा सकारात्मक रूपमा देखिन थालेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनको सवालमा आशा गरे जति काम हुन नसके पनि झण्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सफल भएको भन्दै प्रमुख साहले त्यसबाट वास्तविक समस्याको पहिचान गरी दिगो समाधानका उपाय खोज्न सकिने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?