फेरि वाम मोर्चा बनाउनुपर्नेमा नेताहरूको जोड

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । फेरि वामपन्थी एकता गर्नुपर्नेमा कम्युनिष्ट पार्टीका नेताहरूले जोड दिएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा सहभागी कम्युनिष्ट नेताहरूले वामपन्थी एकतामा जोड दिएका हुन् । वामपन्थी एकताबाट मात्रै समाजवादको यात्रा तय गर्न सकिने भन्दै एकताको विकल्प नरहेको उनीहरूको ठहर थियो । मुलुकलाई राजनीतिक संकटबाट रोक्न वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने नेताहरूको जोड थियो । विचार गोष्ठीमा सहभागी एमाले एमालेदेखि, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य साना कम्युनिष्ट पार्टीका नेताहरूले सकेसम्म आगामी चुनावअघि नै वाम मोर्चा बनाउनुपर्नेमा जोड दिएका हुन् । कम्युनिष्टहरूबीच मोर्चाबन्दी गरेर अघि नबढ्दा आगामी दिनमा मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुनसक्ने उनीहरूको ठहर थियो । विचार गोष्ठीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता घनश्याम भुसाल, नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोला लगायतले समाजवादको नेपाली मार्गभित्रबारे चर्चा गर्नुभएको थियो ।

तत्कालीन एमाले-माओवादी एकता टिक्न सकेन, फेरि कम्युनिष्ट पार्टीहरूबीच एकता गर्नुपर्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको यात्रा सुनिश्चित गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको स्मरण गर्नुभयो । तर, त्यो एकता विविध कारणले टिक्न नसकेको उहाँले बताउनुभयो । आफूले निरन्तरतामा क्रमभंगता गर्नकै लागि आग्रह–पूर्वाग्रह त्यागेर एकता गरेको भन्दै त्यसलाई सफल हुन नदिएको उहाँको भनाइ थियो । ‘समाजवादको ठोस भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रूपान्तरणको नयाँ आन्दोलन सृष्टि गर्ने उद्देश्य मेरो दिमागमा थियो । मैले एमालेका अध्यक्ष केपी ओलीजीसँग वाम गठबन्धन गरौँ, कम्युनिष्ट एकता गरौँ, देशमा वामपन्थी जनमत धेरै ठूलो छ भनेँ,’ उहाँले भन्नुभयो, ‘देशमा राजनीतिक स्थायित्व र समाजको महानयात्रातिर जान सकिन्छ भन्ने थियो । त्यो अरूले भनेको होइन, मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि भनेको हो । तर, सफल भएन । सफल हुन दिइएन ।’ फेरि पनि कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्ने अध्यक्ष दाहालको भनाइ थियो ।

चुनावलगत्तै सडक संघर्षमा जाने घोषणा
अध्यक्ष ‘प्रचण्ड’ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नुभएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न निर्वाचनलगत्तै सडक संघर्षमा जाने उहाँको भनाइ थियो । उहाँले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबीसमेत गर्नुभयो ।

‘हामी कहाँ जस्तो मिसिनरी छ । त्यो मिसिनले उत्पादन गर्ने वस्तु मेसिन अनुसारकै हुन्छ । मेसिन बेठिक राख्ने र त्यसबाट उत्पादित वस्तु राम्रो खोज्ने हो भने त्यो हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘समस्या मेसिनमा छ । अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त, विकृतिमुक्त समाज निर्माण गर्ने कुरा गर्नुभयो सम्भव छैन । निर्वाचन प्रणाली बदल्नैपर्छ । मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । अहिले चुनाव आइसक्यो । हेर्नुहोला-चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु ।’

मुलुकलाई राजनीतिक संकटबाट रोक्न वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुपर्छ : भुसाल
नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ । कम्युनिष्टहरूबीच मोर्चाबन्दी गरेर अघि नबढ्दा आगामी तीन-चार वर्षभित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने उहाँले जिकिर गर्नुभयो । त्यसो हुँदा कम्युनिष्टहरूले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको चेतावनी थियो । मुलुकलाई राजनीतिक संकटबाट रोक्न वामपन्थीहरूबीच एकता गरेर अघि बढनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘आगामी तीन-चार वर्षभित्र एउटा ठूलो उथलपुथल देख्छु । हामीसँग राजनीतिले ठूलो मूल्य लिँदैछ । यो चुनाव अगाडि नै हामीले वाममोर्चा बनाउन सक्नुपथ्र्यो,’ उहाँले भन्नुभयो, ‘मुलुकमा ठूलो राजनीतिक उथलपुथल देख्छु । राजनीतिप्रति, सत्ताप्रति वितृष्णा छ । राज्यप्रतिको घृणा चानेचुने कुरा छैन । दुई-चारवटा स्वतन्त्र आए मात्रै नभन्नुहोस् । यो कुरालाई कसैले नजर अन्दाज नगरौँ । मुलुकलाई राजनीतिक संकटबाट रोक्न वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुको विकल्प छैन ।’ नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्ड लगायतका नेताहरूले दुुनियाँसामु नेपालको बेइज्जत गरेको टिप्पणी गर्नुभयोे । उहाँले प्रचण्डलाई क्रमभंग गरेर भए पनि कम्युनिष्टहरूबीच एकता गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व मैले गरेको हो : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ । आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । ‘गणतन्त्र ल्याउन विभिन्न पार्टीमा बहस भएको थियो । कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी गणतन्त्रवादी भए तापनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्यो,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेका थियौँ ।’ अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरूले कहिल्यै पनि भुल्न नहुने बताउनुभयो । समाजवादको मार्ग तय गर्न जनतामा जागरण ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?