‘आंगिक क्याम्पसमा हुने चर्को राजनीति र निजी क्याम्पसले लिने चर्को शुल्कका कारण अभिभावकहरूले बढी चासो सामुदायिक क्याम्पसतर्फ छ’

हिमालय टाइम्स
Read Time = 11 mins

विसं. २०४७ मा त्रिवि को सम्बन्धनमा सञ्चालित सामुदायिक क्याम्पस हो, बानेश्वर बहुमुखी क्याम्पस । जहाँ हाल बिए, बिएसडब्लु, बिबिएस, बिएड, एमए (समाजशास्त्र), एमबिएस र एमएडका कार्यक्रमहरू सञ्चालित छन् । हालै यो क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर चिहृन (क्युएए) प्राप्त गरी राजधानीमा रहेका सामुदायिक क्याम्पसहरूमध्ये उत्कृष्ट क्याम्पसका रूपमा पर्न सफल भएको छ । यसै प्रसंगलाई समेटेर क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्कासँग हिटाकर्मी सन्दीप लुईंटेलले गर्नुभएको कुराकानी –

क्याम्पसले हालै क्युएए प्राप्त गरेको छ, क्युएए प्राप्त गरेपछि थप चुनौती पनि थपिएका छन्, अब क्याम्पसलाई कसरी अगाडि बढाउने सोच्नुभएको छ ?
क्याम्पसले क्युएए प्राप्त गरेको छ, त्यसले सर्वप्रथम विद्यार्थीको भविष्य सुनिश्चित गरेको छ । क्युएएको मुख्य उद्देश्य क्याम्पसलाई निरन्तर सुधार गरिरहनु हो । क्युएए प्राप्तपछि क्याम्पस शैक्षिक तथा आर्थिक सबलतातर्फ उन्मुख हुन्छ । त्रिविबाट समाज, विद्यार्थीले चाहेका नयाँ–नयाँ विषयहरू अध्ययन र अध्यापन गराउन ढोका खुल्छ । नयाँ विषयहरू ल्याएर निरन्तर गुणस्तरीय शिक्षाको अध्यापन गराउनु नै क्याम्पसको भावी योजना रहेको छ ।

एसइईको रिजल्ट आएको पनि केही समय भयो, धेरै विद्यार्थी आजसम्म पनि कहाँ पढ्ने अन्योलमा छन्, बानेश्वर क्याम्पसमा नै अध्ययन गर्न किन विद्यार्थीहरू आउनुपर्दछ ?
एसइईको रिजल्ट आएको करिब एक महिना व्यतित भइसकेको छ । यो अवधिमा बानेश्वर क्याम्पसको कक्षा ११ मा करिब १०० जना विद्यार्थी भर्ना भइसकेका छन । यो संख्या अन्य शैक्षिक संस्थाको तुलनामा बढी हो । हाम्रो कक्षा ११ मा तीन सयजनामात्र भर्ना क्षमता छ । जुन संख्या सजिलै पूरा हुन्छ । म एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई के भन्न चाहन्छु भने गाउँमा गुणस्तरीय शिक्षाको वातावरण राम्रो रहेको अवस्था छैन । शहरमा महँगा शुल्कका निजी शैक्षिक विद्यालयमा चर्को शुल्क लिएर राम्रो पढाइ हुन्छ भन्ने भ्रम फालेर बानेश्वर क्याम्पसमा न्यूनतम शुल्क, सुविधासम्पन्न भवन, गुणस्तरीय शिक्षा, राम्रो रिजल्ट भएको यस क्याम्पसमा ढुक्कसँगले भर्ना हुन आ≈वान गर्न चाहन्छु ।

हिजोदेखि आजसम्म पनि विद्यार्थीहरू सामुदायिक क्याम्पसमा आउन नचाहने वा अभिभावकले उत्प्रेरणा नदिने अवस्था छ, रिजल्टमा सामुदायिक क्याम्पसले रामै्र गरे पनि यो अवस्था हुनुको पछाडिका कारणहरू के छन् ?
शिक्षा क्षेत्रमा मेरो करिब २८ वर्षको अनुभव छ । मैले बानेश्वर क्याम्पसको बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीहरू के छन् भन्ने कुरा सूक्ष्म ढंगले अध्ययन गरेको छु । क्याम्पसमा खासगरी कमजोर पक्ष र चुनौतीलाई कसरी निराकरण गर्ने भन्ने मेरो शैक्षिक योजना रहेको थियो । क्याम्पस प्रमुखको मुख्य जिम्मेवारी भनेकै कुशल शैक्षिक व्यवस्थापन प्रदान गर्नु हो । हो हिजो सामुदायिक क्याम्पसमा विद्यार्थी हितमा विद्यार्थी राजनीति नभएको कारणले शैक्षिक वातावरण धमिलिएकोे कुरा हामी सबैले महसुस गरेको कुरा हो । त्यसकारणले विद्यार्थीहरूको पठनपाठनमा अवरोध हुने र शैक्षिक गुणस्तर खस्केको थियो । जसले अभिभावकहरूले आफ्ना सन्ततिलाई सामुदायिक क्याम्पसमा पढाउन प्रोत्साहित हुँदैनथे तर आज नेपालका विश्वविद्यालयहरू, आंगिक क्याम्पसमा चर्को राजनीति र निजी शैक्षिक संस्थामा चर्को शुल्क लिने गरेका आधारमा गुणस्तर दिन नसकेको कारणले आज विद्यार्थी र अभिभावकहरूको सोचमा परिवर्तन आएको छ । क्युएए प्राप्त गरेको बानेश्वर क्याम्पसजस्ता क्याम्पस न्यून शुल्कमा गुणस्तर सुनिश्चित भएको क्याम्पसमा पढ्न र पढाउनुपर्दछ भन्ने शैक्षिक जागरण बढेको छ ।

बानेश्वर क्याम्पसमा कोर्सबाहेक के-कस्ता अतिरिक्त क्रियाकलाप सञ्चालनमा छन् ?
क्याम्पसले क्युएए प्राप्तपछि शैक्षिक कोर्सको परिमार्जनसहित अध्यापन गर्ने गराउनेलगायत विद्यार्थीहरूको सीप र जाँगर बढाउने योजना राखेको छ । क्याम्पसको कार्ययोजनाअनुसार शारीरिक तथा बौद्धिक विकासमा सहयोग पु¥याउने खालका विविध अतिरिक्त क्रियाकलाप सञ्चालनमा आइरहेको छ ।

सामुदायिक क्याम्पस भन्नेबित्तिकै राजनीति बढी हावी रहेको भन्ने बुझाइ आमसर्वसाधारणको छ, के तपाईंको क्याम्पस राजनीतिक दबदबाबाट मुक्त छ वा यो भनाइ यहाँ पनि लागू हुन्छ ?
हो सामुदायिक क्याम्पसहरूमा निजी क्याम्पसहरूको तुलनामा केही हदसम्म राजनीति हुने कुरा सत्य हो तर केही वर्षअघिको र अहिलेको विद्यार्थी राजनीति गर्ने तरिकामा फरक छ । पहिलेका विद्यार्थी राजनीति गतिविधितर्फ बढी लाग्दा पठनपाठन ओझेलमा पर्ने, भविष्य अनिश्चिततातर्फ रहन्थ्यो । तर, अहिलेको विद्यार्थीले मुख्य काम पढ्ने, भविष्यलाई सुनिश्चिततातर्फ लग्ने र राजनीतिलाई चेतना विकासका रूपमा लिनुपर्दछ भन्ने मान्यता र सिद्धान्तलाई आत्मसात गरेका छन् । आजका विद्यार्थी संघ संगठनले पनि आफूलाई सोहीअनुसार रूपान्तरित गर्दै गएका छन् ।

सामुदायिक क्याम्पसहरूले पुरानै खालका विषयहरू अध्यापन गराइरहेका छन् ? समयको मागअनुसार तपाईंहरू कसरी अगाडि बढ्नुभएको छ ?
सामुदायिक क्याम्पसमध्ये जसले क्युएए प्राप्त गर्न सक्ने अवस्था छैन, त्यस्ता क्याम्पसमा पुरानै ढाँचाका विषयहरू चलाइरहन बाध्य छन् । त्यस कुरामा केही हदसम्म सत्यता छ किनकि क्युएएबिना नयाँ विषयहरू थप्न पाइँदैन । तर, बानेश्वर क्याम्पसले क्युएए प्राप्त गरिसकेको छ । निकट भविष्यमा नयाँ बजारको चाहनाअनुसार प्रमुख विषयहरूको आफैंले कोर्स डिजाइन गरी सञ्चालन हुने कुरामा प्रतिबद्धता गर्न चाहन्छु ।

दीर्घकालीन रणनीति र योजना निर्माण केही तयार गर्नुभएको छ ?
क्याम्पसले सन् २०१८-२०२२ को रणनीतिक योजनाले क्युएए प्राप्तलगायत क्याम्पसको रिफर्म गर्न सफल भयौं । क्याम्पसको दोस्रो रणनीतिक योजना २०२३-२०२६ तयार भएको छ । जसमा क्याम्पसलाई आफ्नै स्रोतमा निर्भर बनाई बजारको मागअनुसारका विषयहरू ल्याई त्यहीअनुसारका विषय अध्यापन गराएर निकट भविष्यमा क्याम्पसलाई डिन युनिभर्सिटी स्थापनातर्फ उन्मुख गर्ने योजना र रणनीति क्याम्पसले अघि सारेको छ ।

सामुदायिक क्याम्पसले भोग्नुपरेको समस्या के हो ?
सामुदायिक क्याम्पस समस्याबाट मुक्त छैन । सामुदायिक क्याम्पसले सम्पूर्ण व्यवस्थापन आफैं गर्नुपर्दछ । क्याम्पसको भौतिक विकास, प्राध्यापक तथा कर्मचारीको पारिश्रमिकको व्यवस्थापन, जनशक्ति सुधार तथा शैक्षिक गुणस्तरलगायतको व्यवस्थापन क्याम्पस स्वयंले गर्नुपर्ने बाध्यता छ । न्यूनतम शुल्कमा सबै प्रकारका विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यताले आर्थिक अवस्थामा सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्ने चुनौती भने रहिआएको छ ।

अन्त्यमा
विद्यार्थीहरूको भविष्य उसले पाउने गुणस्तरीय शिक्षाले मात्र सुनिश्चित गर्दछ । त्यसैले सर्वप्रथम विद्यार्थी स्वयंले अनुशासित र जिम्मेवारी ग्रहण गर्नुपर्दछ । प्राध्यापक इमानदार र समयअनुसार आफूलाई सुधार गर्नुपर्दछ । क्याम्पसमा सबै पक्ष जिम्मेवार र क्याम्पसलाई संस्थागत ढंगबाट चलाउने वातावरण तयार गर्नु हामी सबै सेयरहोल्डरहरूको नैतिक जिम्मेवारी र कर्तव्य हो भन्ने कुरा स्मरण गराउन चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?