पार्टी परिवर्तन अस्थिरताको द्योतक

हिमालय टाइम्स
Read Time = 6 mins

बेला बेलामा एक पार्टीका कार्यकर्ताहरू आफ्नो पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने गर्छन् । पार्टीका नीति तथा सिद्धान्त नबुझी लागेको र पछि राम्ररी बुझेपछि आर्को राम्रो सिद्धान्त र नीति भएको पार्टीमा प्रवेश गरेको अर्थमा यसलाई लिन सकिएला तर तल्लो तहका कार्यकर्ता मात्र नभएर माथिल्लो तहका नेताहरूबाट पार्टी परिवर्तन गर्ने गरिएको पाइन्छ । यस तहका नेताहरूबाट हुने यस किसिमका पार्टी परिवर्तनका कार्यलाई भने त्यहाँ निश्चय कुनै न कुनै स्वार्थ छ भनेर बुझ्नुपर्ने हुन्छ । नत्र भने कसैले आफ्नो घर छोडेर अर्काको घर भित्रिने काम गर्दैन । यसरी पार्टी परिवर्तन गर्ने कार्य जहिल्यै पनि भइरहने प्रक्रिया हो तर यस्तो लहरमा तीव्रता भने निर्वाचनको नजिकको समयमा हुने गर्दछ ।

जब-जब निर्वाचन नजिकमा आउँछ तब-तब मानिसमा राजनीतिक उद्वेग बढेर जान्छ, यसले अस्थिरता निम्त्याउँछ र यस पार्टीमा बस्ता फाइदा होला वा अर्को पार्टीमा प्रवेश गर्दा यसभन्दा बढी लाभ लिन सकिएला भनेर जोडघटाउ वा हिसाबकिताब सुरु हुन्छ । जुन पार्टीमा रहँदा वा जाँदा बढी फाइदा हुन्छ त्यही पार्टीतर्फ रुचि सबैको हुने हो । तर, सिद्धान्तनिष्ट मानिस जस्तोसुकै परिस्थितिमा आफ्नै सिद्धान्त र पार्टीमै रहिरहन्छ अर्को पार्टीमा प्रवेश गर्दैन । हुन त यसो भनेर सिद्धातनिष्ट बन्दैमा निर्वाचनमा विजयी बन्न सकिँदैन । त्यसैले नेताहरूले आफ्नो पक्षमा मतदाताहरूको भिड बढाउनुलाई अन्यथा मानिँदैन । एउटा पार्टीको मानिसले अर्को पार्टीको उम्मेदवारलाई मत दिए पनि मत त जुनमा छाप लगाइन्छ उसैले नै पाउने हो ।

कुन पार्टीको मानिसले मत दियो भनेर हेरिँदैन । त्यसैले साम, दाम, दण्ड, भेद जे जसरी भए पनि मतदाता आकर्षित गर्ने हो । त्यही भएर केन्द्रीय तहका नेताहरू जता जान्छन् त्यतै भिड बढ्ने गरेको छ, पार्टी छोड्ने र अर्को नयाँ पार्टी प्रवेश गर्नेको लहर बढ्ने गरेको छ । यो निर्वाचनमुखी अभियान हो । सामाजिक सञ्जाल र अन्य मिडियाहरू प्रयोग गरेर विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताले प्रचार गरेका पनि हुनसक्छन् । पार्टीमा जम्मा हुने भिड जहिले जता सहज र जितको सम्भावना देखिन्छ त्यतै लाग्ने गर्छ । आफ्नो स्वार्थ पूरा हुनासाथ त्यस्तो भिडले फेरि त्यस पार्टीलाई आपूm जसरी आएको हो त्यसरी नै छोडेर जान सक्छ ।

त्यसैले निर्वाचन जित्नका लागि भिड उपयोगी हुन सक्ला तर पार्टीलाई सबल बनाउन भने यस्तो भिडबाट कुनै हालतमा सकिँदैन । पार्टी फराकिलो बनेका बेला त्यसमा ओत लाग्नेहरू धेरै हुन्छन् भने पार्टी साँघुरो भएका बेला त्यसबाट निस्किएर लाखापाखा लाग्नेहरू नै धेरै हुन्छन् । पार्टी जति नै संकटमा छ त्यति नै त्यसलाई बचाउन मरिहत्ते गरेर लाग्ने पो पार्टीको नेता वा कार्यकर्ता हो । स्वार्थप्रेरित चरित्र देखाएर मल्खुअनुसार ढल्कु हुनेबाट पार्टी सबल बन्न सक्दैन । हालका ठूला भनिएका पार्टीहरू पञ्चायत कालमा कत्रा थिए र हाल कसरी यति ठूला भए भन्ने कुराले यस दृष्टान्तलाई छर्लंग पार्छ ।

माथि नै भनियो हाल पार्टी परिवर्तनको लहर आइरहेको छ । एउटा पार्टी त्यागेर अर्कैमा पस्नेहरूको संख्या तोकेर सञ्चार सामग्रीमा प्रचार भएरहेको पाइन्छ तर ती निर्वाचनका लागि सहयोगी सिद्ध हुन सक्लान् पार्टी बनाउने काम भने तीबाट हुन सक्दैन । पार्टी कार्यकर्ता आफैँ बनेका हुन्छन् र तीबाट पार्टीलाई सहयोग पुग्ने गर्छ तर अरूबाट बनाइएकाले पार्टीलाई भर दिँदैनन् । फलानाले बनौँ भन्यो बनिदिएँ भन्छन् ती र केही सानो कुरा मन नपर्नेबित्तिकै फेरि छोडेर हिँड्छन् । आफूले बनाएको घर भए पो तिनलाई माया लाग्छ । अर्काका घरमा पाहुना लाग्नेहरूले त त्यहाँ मेजमानी खोज्ने हुन् र मेजमानी नपाउनासाथ ती छोडेर हिँड्ने गर्छन् । यस्ता कुरा राजनीति गर्ने र पार्टीको नेतृत्व सम्हाल्नेहरूले बुझेकै हुनुपर्छ नबुझे बुझ्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?