सिंहदरबारले स्थानीय तहमा अधिकार दिन चाहेनः पूर्व मुख्यमन्त्री पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

मकवानपुर । वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उहाँले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताउनुभएको हो । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ । हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोेगी ठूलो हुन्छ । तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । सिंहदरबार अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहेको छ । संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेको छैन । सरकारले कानून बनाउँदैन । कानून नबनाई काम गर्न पाउँदैनौँ । प्रदेश सरकार र स्थानीय सरकारले कानून बनायो भनेपनि संघीय सरकारले कानून नबनाई लागू पनि हुँदैन र संघीय सरकारले बनाएको कानूनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहैको छ त भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’

उहाँले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गर्नुभयो । संघीयता आउने बित्तिकै दिल्लिका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उहाँले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारले दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो ‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ ।’

उहाँले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनु भयो । उहाँले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताउनु भयो । पूर्व मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?